काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा बढेको भ्रष्टाचार देखेर विदेशीसमेत अचम्मित हुन थालेको बताएका छन् ।
कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले विदेशीले भेटमा नेपालको भ्रष्टाचारको बारेमा सोध्ने गरेको आफूलाई के जवाफ दिने भन्ने द्विविधा हुने गरेको बताए ।
“आज भोलि हरेक विदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने ?,” कोइरालाले भने ।
कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै विदेशीका अगाडि शिर झुकाएर हिँड्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
आफू भ्रष्टाचारमुक्त समाज निर्माणमा कति पनि नडगमगाउने उनको भनाइ छ । भ्रष्टाचारको अन्त्य नभएसम्म जति भाषण गरे पनि देश विकास नहुने कोइरालाको तर्क छ ।