
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक पुनः सर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बैठक सार्ने तयारी गरेका छन् । पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार पार्टीको अघिल्लो केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति देउवाले महासमिति बैठक सार्नुपर्ने धारणा राखेका थिए ।
स्पष्टरुपमा छलफल नभए पनि देउवाले त्यसको तयारी गरिसकेको ती पदाधिकारीले बाह्रखरीलाई जानकारी दिए । सभापति देउवाले मध्य पुसको जाडोलाई कारण देखाउँदै बैठक सार्नुपर्ने धारणा राखेको उनले बताए ।
“पुसमा जाडो हुन्छ । गाह्रो हुन्छ । बैठक सार्नुपर्छ भनेर उहाँले भन्नुभयो,” ती पदाधिकारीले भने, “महामन्त्रीहरूले प्रतिवाद गरेपछि अहिले यो विषय छोडौं भन्नुभयो । यसबाट हामीले के बुझ्नुपर्छ भने उहाँले बैठक सार्ने माहोल तयार गर्दै हुुनुहुन्छ । बैठक सर्छ ।”
महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन लेखिरहेका छन् । महामन्त्रीद्वयको प्रतिवेदन लेखन कार्य सम्पन्न भए पनि उपसभापति खड्काले प्रतिवेदन लेखिसकेका छैनन् ।
यसको अर्थ सभापति देउवा र उनको समूहले महासमिति बैठक धकेल्न खोजिरहेको बुझाइमा इतरसमूह देखिएको छ । तर कति समय सार्ने भन्ने तय भइसकेको छैन । “सायद २, ३ महिना पर थकेलिन्छ होला । हामी भने सार्न नहुने पक्षमा छौं,” ती पदाधिकारीले भने ।
सभापति देउवाले मंसिर २९ का लागि कार्यसम्पादन समिति बैठक बोलाउने तयारी गरेका छन् । उक्त बैठकबाट महासमिति बैठक सार्ने देउवाको तयारी छ । “२९ गते बस्ने बैठकले मिति सार्न सक्छ । तर, महामन्त्रीद्वयले प्रस्ताव नलैजाने तयारी गरेका छन्, हेरौं के हुन्छ,” उनले भने ।
देउवा निकट एक नेताले पनि महासमिति बैठक सार्ने तयारी भइसकेको जानकारी दिए । “दुई महिना सार्ने कुरा छ । मंसिर २६ पछि हामी आधिकारीक रुपमा जानकारी दिन्छौं,” ती नेताले भने ।
कांग्रेसले नीति अधिवेशनको रुपमा महासमिति बैठकलाई लिएको छ । पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । उक्त मितिलाई सारेर कांग्रेसले पुस १६ देखि १९ सम्मलाई महासमिति बैठक गर्ने निर्णय कांग्रेसले गरेको थियो ।
महासमिति बैठकका लागि देशभर महासमिति सदस्य चयनका लागि निर्वाचन भइरहेको छ । अझै केही निर्वाचन क्षेत्रमा निर्वाचन गर्न बाँकी रहेको छ ।