
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्ने गरी ठूलो आर्थिक चलखेल भएको बताएका हुन् । सरकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउने नमिल्ने भन्दै उनले बदमाशी पुष्टि हुने आधार सरकारसँग रहेको बताए ।
पुनले आफ्ना पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको भन्दै तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न कोही पनि दोषी नउम्कने गरी कारबाही गरिने जनाए ।
सरकारले सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई प्राथमिकतामा राखेको पुनले बताए ।