
काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–७ का २५ वर्षीय रमेश श्रेष्ठ छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्रामको ‘मार्केट प्लेस’मा सस्तोमा आइफोनलगायत मोबाइल बिक्रीको झुटो विज्ञापन राखी आश्वासन दिलाएर रकम असुलेको प्रहरीले जनाएको छ ।
उनले ‘डेलिभरीको सामान आइपुगेको, विभिन्न चार्ज तिर्नुपर्ने’ भन्दै रकम असुलेर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनले विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा आठ लाख चार हजार ९८५ रुपैयाँ पठाउन लगाएर लिएको प्रहरीले जनाएको छ ।
उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।