site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा जाली राहदानीमा आउने सबैभन्दा बढी इरानी, पहिला इजरायलको अहिले बेलायतको राहदानी दुरूपयोग

काठमाडौं । जाली राहदानी तथा भिसा प्रयोग गरी नेपालमा आउने विदेशीमा सबैभन्दा ठूलो संख्या इरानी नागरिक देखिएका छन् । जाली राहदानी तथा भिसामा नेपाल आएको आरोपमा पछिल्ला दिन नेपालमा पक्राउ परेका अधिकांश इरानीले बेलायतको राहदानी दुरुपयोग गरेको पाइएको छ । 

“जाली राहदानी प्रयोग गरी नेपाल आएका इरानीहरू यूरोप जान लागेको देखिन्छ,” अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बाह्रखरीसँग भने ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार, पछिल्ला ६ वर्षमा जाली राहदानी प्रयोग गरेको आरोपमा एक सयभन्दा बढी विदेशी पक्राउ परेका छन् ।  यसरी पक्राउ गरिएकालाई आवश्यक कारवाही गरी नेपालमा निश्चित वर्ष प्रवेश गर्न नपाउने गरी निस्कासन गरिन्छ ।

Dabur Nepal
NIC Asia

बितेको ६ वर्षमा जाली राहदानी तथा भिसा प्रयोग गरेको आरोपमा पक्राउ पर्नेमध्ये ५० जनाभन्दा बढी इरानका नागरिक छन् ।  एकै वर्ष सबैभन्दा बढी सन् २०१९ मा १९ जना इरानीलाई जाली राहदानी तथा भिसा प्रयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । 

केही साताअघि मात्र तीनजना इरानीलाई जाली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो । उनीहरू सबैले बेलायतका राहदानी दुरुपयोग गरेका थिए । “केही दिनअघि मात्र जाली राहदानीमा आएका इरानीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छौं,” महानिर्देशक तामाङले भने, “जाली राहदानीमा आएका केहीलाई बिहीबार डिपोर्ट गर्दैछौं ।”

अध्यागमन विभागका अनुसार, सन् २०१७ मा ८ जना इरानी जाली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ परेका थिए । सन् २०१८ मा जाली रादहानी प्रयोग गरी नेपाल आउने इरानीको संख्या १२ पुगेको थियो । 

यस्तै, सन् २०१९ मा १९ जना इरानका नागरिकलाई जाली राहदानी प्रयोग गरेको भेटिएपछि पक्राउ गरिएको थियो ।

सन् २०२० मा कोरोना महामारीका कारण धेरै देश लकडाउनमा थिए । यसैकारण अन्तर्राष्ट्रिय उडान र पर्यटकको आवत–जावत प्रायः शून्य थियो । त्यो वर्ष एक जना पनि राहदानी दुरुपयोग गरेको आरोपमा पक्राउ परेका थिएनन् ।

अध्यागमन विभागका अनुसार, सन् २०२१ मा ३ जना र २०२२ मा ७ जना इरानी जाली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ परेको देखिन्छ । सन् २०२३ सुरु भएयता हालसम्म तीन जना इरानी जाली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । 

सन् २०१४ सम्म जाली राहदानीमा नेपाल आउनेमध्ये धेरै इरानीले इजरायलको राहदानी दुरुपयोग गरेको भेटिन्थ्यो । तर, उनीहरूले बेलायती राहदानी दुरुपयोग गरेको पाइएको छ । 

सन् २०१४ को जनवरीदेखि सेप्टेम्बरसम्म ९ महिनाको अवधिमामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाली राहदानीका साथ १० जना इरानी नागरिक पक्राउ परेका थिए । पक्राउ पर्ने सबैले इजरायली रादहानी प्रयोग गरेको भेटिएको थियो ।

जाली राहदानीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ पर्ने इरानीहरू प्रायः सबै टर्कीको इस्तानबुल हुँदै आएको देखिन्छ ।  राहदानी दुरुपयोग गर्ने व्यक्तिलाई एक÷दुई हजार रुपैयाँ जरिवाना र एक महिना जेल सजायपश्चात् जहाँबाट आएको हो त्यही फर्काइने गरिएको छ ।

जाली राहदानीमा आउने इरानीहरू पहिला राजधानी तेहरानबाट छिमेकी राष्ट्र टर्कीको इस्तानबुल जाने गर्छन् । त्यसपछि उनीहरू जहाजबाट सिधै काठमाडौं आउने गरेका छन् । इरान र टर्कीको सीमा जोडिएको छ । टर्कीको आधा भू–भाग एसिया र आधा युरोपमा पर्छ । तर, उनीहरू हजारौं किलोमिटर हवाई यात्रा गरेर युरोप जान भन्दै नेपाल आउने गरेका छन् । 

अध्यागमन ऐन, २०४९ को दफा ५ मा जाली राहादनी प्रयोग गर्नेलाई कारवाहीको स्पष्ट व्यवस्था छ ।  कसैले जाली राहदानी तथा भिसा प्रयोग गरी नेपाल प्रवेश गरे निजलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा गरिएको छ । 

तर यस्ता व्यक्तिलाई नेपालमा ठूलो कारबाही हुने गरेको छैन । बरु जतिसक्दो छिटो जहाँबाट आएको हो त्यहीँ फर्काउने गरिएको छ ।  “पक्राउ परेकाहरूको सम्बन्धमा सरकारी वकिलको राय लिएर जिल्ला अदालतमा मुद्दा दायर गर्छौँ । त्यसपछि उनीहरूलाई डिपोर्ट (फिर्ता) गर्छौँ,” महानिर्देशक तामाङले बताए । 

स्रोतका अनुसार, पक्राउ परेकाले बयानमा दलालले उनीहरूलाई इरानमै जाली राहदानी उपलब्ध गराउने गर्छन् ।  चार हजारदेखि १० हजार अमेरिकी डलरमा एउटा राहदानी दलालले उपलब्ध गराउने गरेको पक्राउ परेका इरानीले अनुसन्धानका क्रममा खुलाएका छन् । 

इरानीहरूलाई केही देशमा जान प्रतिबन्ध छ । यसैकारण उनीहरू प्रवेश गर्न सजिलो हुने नेपाल जस्तो देश हुँदै गन्तव्यतर्फ जाने गर्छन् । नेपालले सजिलै ‘अन–अराइभल भिसा’ दिने गरेका कारण पनि जाली राहदानीबाहकका लागि नेपाल आकर्षक ट्रान्जिट बन्ने गरेको छ । जाली राहदानीबाहकलाई सामान्य कारबाही मात्र हुने हुँदा पनि उनीहरूलाई नेपाललाई रोज्ने गरेका छन् ।

राहदानी सक्कली हो वा जाली पत्ता लगाउन उच्चस्तरको उपकरण नहुँदा पनि जाली राहदानीबाहकले नेपाललाई ट्रान्जिट बनाउँदै आएका छन् । “राहदानी धेरै प्रकारका प्रयोगमा छन् । हामीकहाँ जाली कागजात पत्ता लगाउन गाह्रो छ । यसका लागि मेसिन पनि अत्याधुनिक र उच्चस्तरको चाहिन्छ,” महानिर्देशक तामाङले भने ।

सन् २०१५ सम्म नेपालमा जाली राहदानीमा आउने विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँ, पाकिस्तानी र बंगलादेशीको हुने गर्थ्यो । सन् २०१५ देखि २०१६ को बीचमा जाली राहदानी प्रयोग गर्ने ८० जना विदेशी पक्राउ परेका थिए, जसमा १८ जना चिनियाँ नागरिक थिए । 

कुनै विदेशी जाली राहदानी तथा भिसाबाट नेपालबाट उड्न पाए उनीहरू लक्षित देशमा सहजै पुग्ने गर्छन् । त्यहाँ पुगेपछि उनीहरू शरणार्थी बन्ने लक्ष्यका साथ गएका हुन् भने त्यहाँको विमानस्थल पुग्ने बित्तिकै राहदानी च्यातेर फाल्ने गर्छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro