काठमाडौं । भन्सार छलेर भित्र्याउन लागिएको सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६, बालाजुका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनीता श्रेष्ठ केसी छन् ।
सुनजस्तो देखिने धातु करिब १८६ ग्रामसहित गए राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलको सुनजस्तो देखिने धातुका सिक्री दुई र औँठी एकथान बरामद गरिएको थियो । सुनीताको साथबाट ९१ ग्राम तौलको सुनजस्तो देखिने धातुका सिक्री दुईथान बरामद गरिएको प्रहरीले जनाएको छ ।
आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।