site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आमा, अझै पनि काम गर्दै पो हो कि !

‘यहाँ एक उदाहरणीय गुरु हुनुहुन्छ । हामीले यहाँबाट शैक्षिक मात्र हैन, व्यावहारिक ज्ञान समेत प्राप्त गर्यौं ।’ 

‘यहाँको सही मार्गदर्शनले मैले नर्सिङ पेसामा सफलता प्राप्त गरेँ ।’
 
माथिका यी दुवै भनाइ मेरी आमा, वरिष्ठ नर्स तथा प्राचार्य स्व. शशीकला सुब्बाका विद्यार्थीहरूका हुन् ।

जन्मदै सीता नाम जुरेकी शशीकलाले हिन्दु महाकाव्य रामायणमा वर्णन गरिएको नेपालकी छोरी जानकीजस्तै अटल र निडर भई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि जीवनको अमूल्य पाँच दशक नर्सिङ पेसामा समर्पित गर्नुभएको थियो ।

Dabur Nepal
NIC Asia

नेपाल सरकारको द्वितीय श्रेणी तहबाट अवकाश लिनुभएकी उहाँले सरकारी तथा प्राइभेट नर्सिङ क्याम्पसहरूमा प्राचार्यको भूमिकामा क्रियाशील रही करिब ७० वर्षको उमेरमा पेसाबाट अवकाश लिनुभएको थियो ।  

बाबुआमा र सासूससुराविहीन एक्लो परिवारमा मायालु श्रीमान्को असामयिक निधनपछि पनि आफ्नो करियर सँगसँगै तीन–तीनजना सन्तान हुर्काउनु, पढाउनु, तिनलाई यथोचित पेसामा लगाउन र सबैको घरजम गराउन कति संघर्ष, कति पीडा, कति अभाव भयो होला ?

तर, आमाका अनुहारमा पीडा हैन, दृढता देखिन्थ्यो । संघर्षमा विजयीभावको आभा खुल्थ्यो र अभावको किञ्चित् आभास देखिन्नथ्यो ।

एक सशक्त, आत्मनिर्भर र आत्मविश्वासी महिलाको उदाहरण बनेर देखाउनका लागि नै रहेछ, उहाँले वि.सं. २००० सालमा यो धर्तीमा जन्म लिनुभएको । उहाँले जन्म लिएको ठमेलको पाण्डे परिवार समृद्ध मध्यमवर्गमा पर्दथ्यो ।

तत्कालीन राजा त्रिभुवनको पुरोहित यज्ञरत्नाकर पाण्डे र माता महालक्ष्मी पाण्डेकी जेठी छोरी हाम्री आमा शशीकला तीक्ष्ण बुद्धिकी हुनुहुन्थ्यो । पढाइमा अब्बल र आफूले अठोट गरेको कार्य पुर्याइछाड्ने दृढता उहाँमा थियो ।

परन्तु, उहाँको जीवनमा संघर्ष लेखिएको रहेछ । सानै उमेरमा उहाँ बुवाको छत्रछायाबाट विमुख हुनुभयो । बुवाको निधनपछि आमा (हाम्री हजुरआमा) महालक्ष्मीलाई तीन–तीन सन्तान हुर्काउन सकस भयो ।

यस घटनाले मेरी आमालाई सानैदेखि आत्मनिर्भर हुन सिकायो । परिवारलाई सहयोग गर्न रेडियो नेपालमा बालकलाकारको भूमिका निर्वाह गर्नुभयो । यसले थोरबहुत घरको चुल्हो बाल्नमा हजुरआमालाई सहयोग मिल्यो ।

त्यसबखत राजधानी काठमाडौंकै समाज पनि खुला दृष्टिकोण राख्नमा संकीर्ण थियो । छोरीमान्छेले स्कुल–कलेज गएको पनि कतिपयका लागि रमिता हुन्थ्यो । विद्यार्थीलाई चोकचोकमा बसेर नियाल्नुमा ती रमाउँथे सायद !

तर, रत्ति विचलित नभई फ्लोरेन्स नाइटिङ्गल ‘लेडी विथ द ल्याम्प’बाट प्रभावित आमाले प्याफलस्थित कान्ति ईश्वरी राज्यलक्ष्मी हाई स्कुलबाट १६ वर्षको उमेरमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो ।

final-1701487502.jpg

तत्पश्चात् छात्रवृत्तिमा भारतको इर्विन नर्सिङ कलेजबाट नर्सिङको प्रथम डिग्री हासिल गर्नुभयो । पढाइ सिध्याएर नेपाल फर्किएपछि उहाँ सरकारी सेवामा प्रवेश गर्नुभयो, स्टाफ नर्सको पदीय जिम्मेवारी सम्हाल्दै ।

भारतमा पढ्दै गर्दा त्यहीँ तालिम लिन आउनुभएका नेपाल प्रहरीका अधिकृत मानबहादुर सुब्बासँग उहाँको परिचय भयो । परिचय प्रेममा अंकुरित भयो । अनि, जात, धर्म केही मतलब नराखी विवाह बन्धनमा बाँधिनुभयो ।

बेलायत सरकारबाट रायबहादुर पदवी पाउनुभएका ताप्लेजुङ निवासी रणबहादुर सुब्बाका नाति मेरा बुवा मानबहादुर बक्सिङ, फुटबल र सिकारको सौखिन हुनुहुन्थ्यो ।

उस बेला जातीय तगारोभन्दा माथि उठेर वैवाहिक जीवनयापन गर्नु चुनौतीपूर्ण हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि आफूलाई मन परेको मान्छेसँग जीवन बिताउने निर्णय गर्नु कम कठिन थिएन । गाह्रै थियो ।

तथापि, प्रारम्भमा ब्राह्मणखलकले सहयोग नगरे पनि लिम्बू परिवार र साथीभाइको समर्थन–सहयोग रह्यो । समयको चक्रसँगै माइतीखलकले पनि उहाँहरूको वैवाहिक जीवनलाई स्वीकार गरे ।

म, भाइ सञ्जीव र बहिनी माल्भिकाले यिनै प्रेमिल दम्पतीका तीन सन्तानका रूपमा जन्म लियौँ ।

आफ्नी आमाको कथा सबैलाई प्रेरणादायी लाग्छ । यो स्वाभाविक हो । तर, उहाँ एक आमा मात्रै हुनु भएन । त्यस बेला नेपालको नर्सिङ पेसामा संलग्न थोरै महिलामध्ये उहाँ पर्नुहुन्थ्यो । उहाँले ३७ वर्ष अनवरत नर्सिङ सेवा गर्नुभयो भने १७ वर्षको समय विद्यार्थीलाई नर्सिङ शिक्षा प्रदान गर्नमा बिताउनुभयो ।

भारतको इर्विन नर्सिङ कलेजबाट डिग्री गरे पनि उहाँले पुनः छात्रवृत्तिमा कलकत्तास्थित अल इन्डिया इन्स्टिच्युट अफÞ पब्लिक हेल्थबाट सर्टिफिकेट कोर्स गर्नुभयो ।

अध्ययनलाई सधैँ प्राथमिकता राख्ने हाम्री आमाले ४५ वर्षको उमेरमा भारतको पीजीआई चण्डीगढबाट नर्सिङ विषयमा बीएस्सी गर्नुभयो ।

त्यसको केही समयपछि नै हाम्रो पिताजीको निधन भयो । यो पीडा भोग्नु त थियो नै । तर, पेसाकर्मप्रति आस्था र शैक्षिक लगनले ६५ वर्षको उमेरमा भिक्टोरिया विश्वविद्यालय, बंगलादेशबाट पब्लिक हेल्थ विषयमा मास्टर्स उपाधि हासिल गर्नुभयो ।

उहाँमा पेसाप्रति निष्ठा कस्तो थियो भन्ने तथ्य केही उदाहरणहरूले देखाउँछ ।

कान्ति अस्पतालमा कार्यरत रहँदा आफ्नो दूधे बालकलाई कार्यालयको कुनै कुनामा सुताएर रातिको डिउटीमा खटिनु उहाँको दैनिकी थियो । २०३० सालताका बुवा भैरहवा प्रहरी कार्यालयमा कार्यरत रहँदा त्यस बेलाको खराब बाटोमा बुटवल अस्पतालसम्म दैनिक ट्रक वा बसमा सफर गर्नु आमाको नियमित रुटिन हुन्थ्यो ।

तिनताक महिलाहरूले साँझ–बिहान त्यसरी दैनिक आवतजावत गर्नु चानचुने कुरा थिएन । २०३५ सालतिर उहाँ सुदूरपश्चिमको महेन्द्रनगर अस्पतालमा कार्यरत रहनुहुँदा रातबिरात दूरदराज गाउँहरूमा बच्चा डेलिभरी (सुत्केरी) गराउन जान कुनै डर वा असहज मान्नु भएन ।

आमाले करियरसँगसँगै आफ्ना सन्तानलाई पनि सही समयमा सहयोग र मार्गनिर्देशन गर्नुभयो । यस पंक्तिकारलाई बुवा अवकाश भइसक्नुभएको अवस्थामा जागिर खानुपर्छ भन्ने लाग्यो । तथापि, मनमा इन्जिनियर हुने इच्छा जीवितै थियो ।

आमाले त्यसको भेउ पाएपछि आफ्नो गहना धितोमा राखेर पढ्न पठाउनुभयो । आफ्ना सन्तानहरू सरकारी स्कुलबाट निजी स्कुलमा पढ्न पठाउँदा लामो समय बिदा लिएर शैक्षिक मार्गनिर्देशन गर्नुभयो ।

बाँच र बाच्न देऊ भन्ने सिद्धान्त भएकी आमाले जिन्दगीको सूत्र तीनवटा विषयमा हुनुपर्छ भन्ने मान्यता राख्नुुहुन्थ्यो । दैनिक दुईपटक प्राणायाम र योग गर्ने उहाँले मानिसको एउटा ध्यान स्वास्थ्यमा, एउटा ध्यान आर्थिक स्वावलम्बनमा र अर्को ध्यान लगानीमा हुनुपर्छ भन्नुहुन्थ्यो ।

साथै, कमाइको केही हिस्सा बचत गर्ने, केही हिस्सा लगानी गर्ने र केही हिस्सा खर्च गर्ने, तर खर्च गर्नुभन्दा अघि बचतलाई महत्त्व दिने कुरा गर्नुहुन्थ्यो ।

बच्चालाई सही ढंगले हुर्काउन संस्कृतको श्लोक, ‘लालयेत् पञ्च वर्षाणि, ताडयेत् दश वर्षाणि । प्राप्ते सम्प्राप्ते षोडशे वर्षे पुत्रं मित्र समाचरेत’ भन्नुहुन्थ्यो । जसको अर्थ हुन्छ– सन्तानलाई पाँच वर्षसम्म लाडप्यार गर्नु, १० वर्षसम्म सम्झाइबुझाइ गर्नु, तर १६ वर्षको उमेरपछि बाबुआमाले सन्तानलाई मित्रवत् व्यवहार गर्नुपर्छ ।
 
बुहारीहरू मेरा मित्र हुन् भन्ने दृष्टिकोण राख्नुहुने आमा सोहीअनुरूप व्यवहार गर्नुहुन्थ्यो । पारिवारिक अन्तरसम्बन्ध राम्रो रहिरहोस् भन्ने हेतुले प्रत्येक शुक्रबार साँझ घरमा सँगै मःम खाने र शनिबार छोराछोरीको पूरा परिवार बसेर दिवा खाना खाने चलन चलाउनुभएको थियो ।

शनिबार बिहान कहिले जेठी बुहारीले पकाएको दूघको चिया र आलुपरोठा/पुरी तरकारी त कहिले कान्छी बुहारीले पकाएको डोसा उहाँको प्रिय भोजन हुन्थ्यो ।

कट्टर ब्राह्मण परिवारमा जन्मिए पनि अन्धरूढिवादी संस्कार नमान्ने, अध्यात्ममा रुचि राख्ने, दैनिक पूजा गर्ने भए पनि मन्दिर जाने र अन्य धार्मिक क्रियाकलापमा उहाँको खासै रुचि थिएन ।

सांस्कृतिक पर्वहरू जस्तै, माघे संक्रान्ति, क्वाँटी खाने दिन र तिहारको भाइटीकाको दिन हाम्रा मामा उद्धव पाण्डेलाई उहाँले गर्ने सत्कारमा उहाँको सक्रियता हेर्न लायक हुन्थ्यो ।

जातिवादमा पटक्कै विश्वास नगर्ने उहाँले सन्तानहरूले आफ्नो इच्छाले गरेको वैवाहिक निर्णयलाई सहर्ष स्वीकार गर्नुभयो । घरमा आफूले पनि छोइछिटो गर्नु भएन र छोरीबुहारीहरूलाई पनि गर्न दिनु भएन ।

छोरीबुहारीहरू घरमा बस्ने होइन, काम गरेर खानुपर्छ भनेर हमेसा जागिर खान प्रोत्साहित गर्नुभयो । उमेरले साथ दिँदासम्म खानपिनमा कुनै परहेज थिएन ।

उहाँले पकाउने बंगुर र रायो सागको तरकारी, कालो दाल अनि खल्पी नातागोताबीच सारै प्रसिद्ध थियो । उहाँको प्रिय पेयपदार्थ बियर र रातो वाइन थियो । उमेरले साथ दिन छोडेपछि केही समय स्वयम् पाक्य शाकाहारी खाना खानुभयो ।

अरू आमासरह उहाँमा पनि केही कमी–कमजोरी नभएका होइनन् । चिनेका मान्छेहरू उहाँलाई ‘कडा स्वभावकी छे’ भन्ने गर्थे । व्यक्तिगत सम्मान उहाँका लागि महत्त्वपूर्ण हुन्थ्यो, जसले गर्दा कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति पनि उत्पन्न हुन्थ्यो ।

सबै सन्तानहरूलाई समान व्यवहार गरे पनि छोरीप्रति उहाँको झुकाव अलि बढी देखिन्थ्यो । सायद एकल आमाले छोरीलाई हेर्ने तरिका यस्तै हुन्छ । आर्थिक रूपमा सबल भए तापनि जीवनको उत्तराद्र्धमा मानसिक रूपमा एक्लै पर्छु कि भन्ने चिन्ता उहाँमा देखिन्थ्यो ।

3-1701487477.jpg

जतिसुकै डर निवारण गर्ने प्रयास गरे पनि आफूसँग बस्ने जेठो छोराले समेत कुनै दिन आफ्नै घर बनाउँछ र भविष्यमा एक्लै भइन्छ भन्ने अदृश्य डर उहाँको मनमा कताकता रहेको आभास हुन्थ्यो ।

आमा स्व. शशीकला सुब्बाले करिब आठ दशकको जीवनकालमा धेरै व्यक्तिहरूलाई प्रभावित पार्नुभयो । छोरीको हैसियतले होस् वा श्रीमतीको,  आमाको हैसियतले होस् वा नर्सिङ पेसाकर्मीको हैसियतले अथवा शिक्षकको हैसियतले होस्, आफ्नो कर्तव्य पूरा गर्न उहाँ कहिल्यै चुक्नु भएन ।

आफूभन्दा पछिका (जुनियर) नर्सहरूलाई हौसला दिन, रोजगारीको अवसर दिन, आफ्ना विद्यार्थीहरूलाई स्वावलम्बन हुन, व्यापारमा मिहिनेत गर्नेलाई सहयोग गर्न र सबैलाई स्वस्थ रहनुपर्छ भन्ने ज्ञान बाँड्न आमा कहिल्यै पछि पर्नु भएन ।

अन्त्यमा, २०८० असोज २२ गते मेडिकल जाँच गर्न अस्पताल ल्याउँदासम्म सक्षम र सरसाउँदी मेरी आमा अचानक कोमामा जानुभयो र असोज २६ गते पृथ्वीबाट बिदा लिनुभयो । 

मलाई कताकता लाग्छ, उहाँ जहाँ हुनुहुन्छ, त्यहाँ पनि मिहिनेत नै गर्दै हुनुहुन्छ होला । काम नै गर्दै हुनुहोला । अनि, आफ्नो आत्मसम्मानका लागि संघर्षरत नै हुनुहुन्छ होला ।

मलाई थाहा छैन पुनर्जन्म हुन्छ कि हुँदैन, तर उहाँले मानवचोला लिनुभयो भने मैले फेरि उहाँकै कोखमा जन्मन पाऊँ । 

अलबिदा मुमा ! 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro