
काठमाडौं । प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु भएको छ । वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको आज बिहान उद्घाटन गरेका हुन् ।
एमाले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा निस्किएको हो । उसले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ ।
एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ ।
एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजदेखि, ओलीले झुलाघाटबाट उद्घाटन गर्दै
पहिलो दिन(आज)को सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । यात्रालाई निरन्तरता दिँदै पुस २ गते काठमाडौं फर्कने बताइएको छ । पुस ५ गते यात्रा समापनसहित आफ्ना दृष्टिकोण सार्वजनिक गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए ।
यात्राका क्रममा लोकमार्गलाई फास्टट्रयाकका रुपमा अघि बढाउने सम्भावनाको खोजी गरिने उनले बताए । यात्रामा भविष्यमा व्यवसायिक विषयको खोजी र भ्रमको निवारण गरिने जानकारी दिए ।
पहाडका मानिस तराईं बसाई सर्ने प्रवृत्ति अन्त्य कसरी गर्न सकिन्छ भन्ने उपाय खोजिने उनको भनाइ छ ।