site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गैंडा तस्करीमै जेल पुगेर छुटेकाले मारेका थिए चितवनमा दुईवटा गैंडा, सात जना पक्राउ

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र खाल्डो खनेर दुईवटा गैंडा मार्ने तस्कर समूह पक्राउ परेका छन् ।  निकुञ्जको सौराहा चपरचुली क्षेत्रभित्र खाल्डोको धरापमा पारी २ पोथी गैंडा मारेका थिए ।

दसैं र तिहारको मौका छोपेर तस्कर समूहले योजनाबद्धरुपमा खाल्डोको धराप थापेर गैंडा मारेका थिए ।  ३० कात्तिकमा सेनाको गस्ती टोलीले खाल्डोमा खाग झिकिएको अवस्था मृत गैंडा फेला पारेपछि घटना सार्वजनिक भएको थियो ।

घटनालगत्तै गैंडाको शिकारीको अनुसन्धानमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली चितवन पुगेको थियो ।  सोही टोली तथा चितवन निकुञ्ज, नेपाली सेनासहितको टोलीले तस्कर समूहलाई पक्राउ गर्न सफल भएको हो ।

हालसम्म सातजना नियन्त्रणमा लिएको सीआईबी उच्च स्रोतले जानकारी दिए । पक्राउ पर्नेमा मकवानपुर र रोल्पालगायतका व्यक्ति रहेको उनले जानकारी दिए । पक्राउ परेका मध्ये केही यसअघिसमेत गैंडा तस्करीमा जेल परेर छुटेकाहरु रहेको सीआईबीले जनाएको छ ।

उनीहरुको साथबाट दुईवटै गैंडाको खागसमेत फेला परेको प्रहरीले जनाएको छ ।  पक्राउ परेकाहरुलाई आज दिउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी निकुञ्ज र सीआईबीको छ । सीआईबीको टोली चितवनमै छ । गैंडा मार्न उनीहरुले चारवटा खाल्डो खनेका थिए । १० दिनको अन्तरमा दुईवटा गैंडा मरेको अनुसन्धानबाट खुलेको छ ।

सेनाको पोस्ट भन्दा तीन किलोमिटरमै धराप

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार निकुुञ्जको सुरक्षाका लागि खटिएको सेनाको चेकपोष्ट भन्दा करिब तीन किलोमिटरको दुरीमा गैंडा मृत फेला परेका हुन् । यसअघिसमेत गतवर्ष माघमा नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नारायणी किनारमा पनि करेन्ट लगाएर दुईवटा गैंडा मारिएका थिए । 

यसपटक खाडल खन्न लामो समयको तयारी गरेको देखिएको अनुसन्धानमा खुलेको छ ।

सीआईबी स्रोतले भन्यो, “चारवटा खाडल खन्न आवश्यक मान्छे, बन्दोबस्तीसहित तस्करले धेरै दिनको तयारी गरेको देखिन्छ । विगतमा तस्करले गोली हानेर गैंडा मार्थे । यो नौलो तरिका अपनाए ।”

सेनाको पोष्ट नजिकै खाल्डो खनेर गैंडा मार्नुलाई निकुञ्ले गम्भीर सुरक्षा कमजोरी मानेको छ ।  पानी खान जाने गैंडाको बाटो पत्ता लगाएर तस्कर समूहले खाल्डो खनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

दुर्लभ गैंडाको मृत्यु बर्सेनी विभिन्न कारणले हुने गरेको छ ।  राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार नेपालमा दुर्लभ एक सिंगे गैंडाको संख्या ७५२ छ । त्यसमध्ये करिब ६९४ गैंडाको बासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो । 

चितवन राष्ट्रिय निकुञ्जको अभिलेखले पछिल्लो समय गैंडाको विभिन्न कारणले मृत्यु भइरहेको देखाउँछ । निकुञ्जको तथ्यांकअनुसार २०७८ मा मात्रै ३७ गैंडा मृत भेटिएका थिए ।  त्यसमध्ये केही तस्करी समूहले मारेको र केही आफैँ मरेको निकुञ्जले जनाएको छ ।

त्यस्तै २०७९ मा पनि विभिन्न कारणले २२ वटा गैंडाको मृत्यु भएको थियो । यो वर्ष चोरी शिकारीबाट भने एउटा गैंडाको मात्रै मृत्यु भएको देखिन्छ । गैंडा तस्करहरुको समूहले विद्युतीय तार, खाल्डोमा पारी तथा गोली हानेर गैंडाको शिकार गर्ने गरेका छन् । पछिल्लो समय गैंडाको चोरी शिकारी बढ्न थालेको देखिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro