site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

काठमाडौंमा केही दिनदेखि अहिलेको संविधान खारेज गर्ने माग राखेर एउटा सानो समूहले विरोध प्रदर्शन गर्दैआएको छ । लगभग अराजक देखिएको भए पनि नेपाल प्रहरीले अहिलेसम्म नियन्त्रण गर्दै पनि आएको देखिन्छ ।

प्रदर्शनकारी समूह असंगठित भिडजस्तै देखिएको छ । यसैले प्रदर्शन कहिलेसम्म चल्छ भन्ने अनुमान लगाउन पनि मुस्किल देखिन्छ । यस्तो अन्योलको सबैभन्दा धेरै बोझ भने मूलतः नेपाल प्रहरीमाथि नै पर्छ ।

सायद, यही कारणले दिनहुँजसो प्रदर्शनकारी नियन्त्रण गर्न नेपाल प्रहरीले बल प्रयोग गर्दैआएको छ । भिडमा मिसिएका अराजक व्यक्तिहरूको हर्कतबाट हुनसक्ने अप्रिय घटना रोक्नैका लागि प्रहरीले नागरिकलाई नियन्त्रणमा लिने गरेको देखिन्छ ।

शान्ति सुरक्षा कायम राख्नु राज्यको पहिलो कर्तव्य हो । प्रहरी यसमा चुक्यो भने अकल्पनीय अनिष्ट आइपर्न सक्छ । अर्कातिर, नागरिकका मौलिक अधिकारको रक्षा गर्ने कर्तव्यमा पनि राज्यले सम्झौता गर्न सक्तैन ।

गणतन्त्रलगायत संविधानका प्रावधानहरू संशोधन गर्ने विधि र प्रक्रिया नेपालको संविधानमै उल्लेख गरिएको छ । यसैले धारा २७४ को उपधारा (१) बाहेक अरू धारा संशोधन गर्न सकिन्छ । यसको तात्पर्य ‘गणतन्त्र’को विरोध गर्ने अधिकार पनि  नागरिकलाई छ भन्ने नै हो ।

Global Ime bank

यसैले कुनै प्रदर्शनकारीलाई प्रहरीले मनासिब कारण नभई नियन्त्रणमा लिनु स‌विधानको मर्मविपरीत हुन्छ । साथै, अराजक भिडका कारण अरू नागरिकको स्वतन्त्रता तथा निजी र सार्वजनिक सम्पत्ति रक्षा गर्ने दायित्व त प्रहरीको मूल कर्तव्य नै हो । 

काठमाडौंमा हालै भइरहेका प्रदर्शन अहिलेसम्म खासै अप्रिय घटना नहुनुमा प्रदर्शनकारीको नभएर नेपाल प्रहरीको सजगता र संयम नै कारक देखिएको छ । लामो समयसम्म यसरी सजग र संयमित रहन भने सहज पक्कै हुँदैन । 

प्रदर्शनकारीसँग अमानवीय व्यवहार र अनावश्यक बल प्रयोग नगरी थकाउने रणनीति प्रहरीले अपनाएको हुनसक्छ । अहिलेसम्म त्यो रणनीति सफल नै देखिएको छ । अबका दिनमा पनि प्रहरीले संयम र सजगताको रणनीति नै अपनाउन उचित देखिन्छ ।

प्रदर्शनकारीले भने वचन र व्यवहार दुवैबाट प्रहरीलाई उत्तेजित बनाउन खोजेको भान परेको छ । यसैले पनि प्रहरी थप सजग हुनुपर्ने देखिन्छ । तर, अराजक भिडले कानुन हातमा लिँदा पनि प्रहरी तमासे भयो भने उच्छृङ्खल तत्त्वको मनोबल बढ्नेछ ।

यस्तै, प्रदर्शनकारीले धेरै दिन जनजीवन अस्तव्यस्त बनाए भने स्थानीय बासिन्दा पनि प्रतिकारमा उत्रन बाध्य हुनेछन् । माओवादीको काठमाडौं घेर्ने आन्दोलन राजधानीवासीको प्रतिरोधका कारण तुहिएको घटना धेरै पुरानो होइन ।

नेपाली जनताका निर्वाचित प्रतिनिधिले बनाएको संविधान ‘सडक’बाट फाल्न मामुली आन्दोलनबाट सम्भव देखिँदैन । प्रदर्शनकारीहरूले राजतन्त्र फर्काउनै चाहेका हुन् भने आगामी  संसदीय चुनावमा दुईतिहाइ बहुमत ल्याउने सक्नुपर्छ । 

बैंक एवं वित्तीय संस्थाका भाका नाघेका ऋणको साबाब्याज मिनाहा गराउनु नै आन्दोलनको मुख्य माग हो भने काठमाडौंको चिसोमा यसरी कहर काट्नु आन्दोलनकारीको मूर्खता देखिन्छ । यसरी मूर्ख बन्नुभन्दा घर फर्केर आआफ्नो कामधन्दामा लाग्नु उचित हुनेछ ।    
   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu