सन् १९८८ को जुन । आजभन्दा ३५ वर्षअघि । ब्रिटिस काउन्सिलको आर्थिक सहयोगमा बेलायत, स्कटल्यान्डको एडिनबरा युनिभर्सिटीमा स्नाकोत्तर पढ्न जाने भएँ । यो मेरो भारतपछिको पहिलो विदेश भ्रमण थियो ।
पहिलापहिला विदेश आफ्नो पैसाले पढ्न जाने भनेको त कल्पना पनि गर्न सकिँदैनथ्यो । औँलामा गन्न सकिने मात्रै विदेश पढ्न जान्थे । अहिलेजस्तो विद्यार्थीको ताँती लाग्दैनथ्यो ।
उस बेला म पढ्नै भनेर काठमाडौंबाट दिल्ली हुँदै बेलायततिर लागेँ । दिल्लीबाट भारतीय जहाज जढेँ । त्यसअघि, चार घण्टा नै दिल्ली एयरपोर्टको ट्रान्जिटमा बस्नुपरेको थियो ।
दिल्ली हुँदै लन्डनको हिथ्रो विमानस्थलसम्मको यात्रा थियो । टिकट ब्रिटिस एयरवेजको थियो । करिब तीन घण्टापछि माइकिङ भयो । म तोकिएको गेटमा पुगेँ ।
पहिलोपल्ट विदेशको यात्रा, मनमा नानाभाँती कुरा खेलिरहेका थिए । प्लेनमा चढेको त मेरो सिट प्लेनको माथ्लो तलामा पो रहेछ ! ‘माथि जानुस्’ पो भन्छन् त, दुईतले प्लेन त मैले देखेको पनि थिइनँ ।
सायद जहाजको माथ्लो तला चुरोट पिउनेहरूका लागि रहेछ, कोही चुरोट पिइरहेका देखिए, जहाज उडेपछि । पहिले चुरोट पिउन दिइँदो रहेछ । सम्भवतः सन् १९९० देखि पूरै निषेध गरिएजस्तो लाग्छ ।
जहाजमा वाइन र चिकेन खाना ल्याए । खाइयो । शौचालय जाँदा भने एकछिन अलमलमा परेँ । र, पछि निवृत्त भएँ ।
करिब नौ घण्टापछि जहाज हिथ्रो विमानस्थलमा ओर्लियो । अध्यागमनमा चेक जाँचपछि लगेज लिन अरू गएको तिरै पछि लागेँ, किनभने ब्याग लिन कता जाने हो थाहा थिएन ।
दुवै ब्याग बोकेर सकीनसकी बाहिर हान्निएँ । अहिलेजस्तो गुडाउने सुटकेस थिएन मसँग । त्यहाँ ट्रली हुन्छ भन्ने पनि थाहा भएन । त्यसैले गोर्खाली पारामा दुवै ब्याग काँधमा हालेर बस भएको ठाउँमा पुगेँ ।
मलाई बस नम्बर र उत्रिने ठाउँ ब्रिटिस काउन्सिलले जानकारी गराएको थियो । सोहीअनुसार म बीचलन्डनको तोकिएको ठाउँमा ओर्लिएँ । अहिलेजस्तो हातेफोन थिएन फोन गर्न, अनि माथिमाथि लेखिएका होर्डिङ बोर्डहरू पढ्दै हिँडे ।
मैले बोकेका दुईथान ब्याग करिब २५ किलोका होला । जिउ पूरै गलिसकेको थियो । बल्ल एउटा घरको भित्तोमा ब्रिटिस काउन्सिल लेखेको देखेँ । अनि, त्यहीँ छिरेँ म ।
काँधमा दुई झोला बोकेर आएको मलाई एकछिन हेरिरहे त्यहाँका कर्मचारीले । मैले मेरो नाम भनेपछि हाँस्दै ‘बस्नुस्’ भनेर कुर्सी देखाए । एक महिलाले मलाई स्वागत गर्दै भनिन्, ‘तपाईंलाई बेलायतमा स्वागत छ, अनि के पिउनुहुन्छ, चिया कि कफी ?’
मौसम चिसोचिसो थियो, त्यसैले पनि ‘कफी प्लिज’ भनेँ । उनी कफी बनाउन थालिन् । अनि, फेरि सोधिन्, ‘हाउ मेनी क्युब सुगर ?’
मैले क्युबचाहिँ बुझिनँ, तर सुगर भनेकाले ‘दुई’ भनेँ । अनि, फेरि सोधिन्, ‘मिल्क ?’ मैले ‘एस’ भनेँ । उनले मलाई कफी दिइन् । म कफी पिउन थालेँ । उनी मलाई ब्रिफिङ गर्न थालिन् ।
‘आज लन्डनमै बस्ने र भोलि बिहानको ट्रेनबाट एडिनबरा, स्कटल्यान्ड जाने । आज म तपाईंलाई लन्डन घुमाउँछु । यहाँको मौसम अलिक फरक छ । कुन बेला पानी पर्छ थाहा हुँदैन । त्यसैले एउटा रेनकोट र छाताचाहिँ किन्नुस है ।’
उनका कुरा सुनेर मैले ‘हुन्छ’ भनेँ । मलाई खाममा हालेर चार सय पाउन्ड आगमन भत्ता भनेर दिइन् । म दंग परेँ । उप्रान्त हामी दुवै बाहिर निस्कियौँ । बाटोमा हिँड्दै गर्दा मलाई रेनकोट र छाता किन्ने पसलमा लगिन् । मैलै दुवै किनेँ ।
त्यसपछि म बस्ने बेड एन्ड ब्रेकफास्टमा लगिन् । मैले मेरा दुवै झोला बिसाएँ । फेरि बाहिर निस्किएँ । उनी मलाई पर्खिरहेकी थिइन् । त्यसपछि लन्डनको दुईतले रातो बस (डबल डेकर)मा चढाइन् ।
हामी माथिको तलामा उक्लियौँ । वरिपरि सबै देखिने खुला बसबाट सिटी टुर गराउन थालिन् । मनमनै सोच्न थालेँ– प्लेन पनि दुईतले चढियो । आज बस पनि दुईतले नै चढियो, गजबै भयो !
उनी मलाई स्थानीय ठाउँबारे जानकारी गराउँदै थिइन् । मैले सुनिरहेँ र मात्र यस...यस... भनिरहेँ । कम बोले, बस् दंग परिरहेँ ।
उनले मैले बाटो बिर्सिन्छु कि भनेर फेरि म बस्ने ठाउँमा पुर्याउन आइन् र ‘बेलुका नेपाली खाना खाने भए नेपाली होटेलतिर जानु’ भनिन् । उनले लोकेसन पनि बताइन् ।
मैले धन्यवाद दिएँ । उनी अर्को दिन नौ बजे आउने वाचा गर्दै फर्किइन् । मलाई बिहान ब्रेकफास्ट लिएर तयार बस्न भनेकी थिइन् ।
म आराम गर्न कोठाभित्र छिरेँ । बेलुकी भोकभोक लाग्यो । अनि, उनले भनेको ठाउँतिर नेपाली होटेल खोज्दै हिडेँ । नभन्दै करिब २० मिनेटको पैदलयात्रापछि होटेल ‘नटराज’मा नजर पर्यो ।
मनमनै सोचेँ– पक्कै पनि यो नेपाली, नभए पनि भारतीय साहुको होटेल होला । एकजना भाइलाई सोधेको उसले नेपाली होटेल भनेर नेपाली नै बोल्यो । अनि, भित्र छिरेँ र भात, दाल, तरकारी र कुखुराको मासु मगाएँ । पैसा टन्नै थियो खल्तीमा, चिन्तै थिएन !
होटेलमा सबै नेपाली थिए । काउन्टरमा बस्ने र अन्य सहयोगी पनि नेपाली । म पनि नेपाली बोल्न पाउँदा दङदास परेको थिएँ ।
केही बेरमा होटेलको साहुजी आउनुभयो मेरो छेउ र सोध्नुभयो, ‘कहाँबाट आउनुभयो बाबु ?’ मैले ‘नेपालबाट’ भनेँ ।
‘घर कहाँ हो ?’
‘धरान ।’
‘ए, ल राम्रै भयो, हामी एकै ठाउँका रहेछौँ ।’
मैले सोधेँ, ‘हजुरको घर पनि धरान हो ?’
उहाँले आफ्नो घर राजविराज भएको बताउनुभयो । फेरि मैले भनेँ, ‘ए, राजविराज त मेरो ससुराली हो ।’
उहाँले सोध्नुभयो, कुन ठाउँ भनेर । मैले ‘खरसाल टोल’ भन्दै ससुरा र जेठानहरूको नाम भनेँ । राम्रोसँग चिन्नुहुँदो रहेछ । अनि भन्नुभयो, ‘ए, तपाईं त ज्वाइँ पो हुनुभयो !’
अनि, हाँस्दै सोध्नुभयो, ‘बियर खानुहन्छ ?’
मलाई पनि के नपुगे के नपुगेजस्तो भइरहेको थियो, ‘खान्छु’ भनेँ । अनि, ‘ए बाबु, एक ग्लास बियर लेऊ त’ भन्नुभयो ।
कुरा गर्दै जाँदा थाहा भयो, त्यो होटेल त विनोद मानन्धर (करिष्मा मानन्धरका श्रीमान्)का बुवाले खोल्नुभएको रहेछ ।
बियर आयो । चुस्की लगाउँदै भात खान थालेँ । मैले आफू पढ्न आएको र भोलिपल्टै एडिनबरा जाने कुरा भनेँ ।
उहाँले फेरि आउन भन्नुहुँदै ‘यतै आउनुस्, यहाँ बस्ने सुविधा पनि छ । नेपालीलाई सस्तोमा पाँच पाउण्ड मात्रै’ भन्नुभयो ।
मैले ‘हुन्छ’ भनेँ । उहाँ ‘राम्रोसँग खानुस् है’ भनेर काउन्टरतिर लाग्नुभयो । खाना खाइसकेपछि काउन्टरमा आएँ, पैसा सोधेँ । ‘ज्वाइँलाई पनि केको पैसा !’ भन्दै उहाँ हाँस्नुभयो । पैसा लिन मान्नु भएन ।
उहाँ प्रायः नेपालीहरू आए भने एक छाकको पैसा लिनु हुन्न रहेछ । त्यो उहाँको बडप्पन नै लाग्यो । अनि, ‘धन्यवाद हजुरको आतिथ्यलाई, पछि फेरि आउँछु’ भनेर हिँडे ।
लन्डनको सडकमा हिँड्दा दंग पर्दै हिँडँे, सित्तैमा खान पाएकामा ।
०००
बिहान उठेर नित्यकर्म सकाएपछि ब्रेकफास्ट खाने हलमा पुगेँ । त्यहाँ अरू पनि खाइरहेका थिए । अमलेट, ब्रेड, आलु फ्राई, चिया छिटोछिटो खाएर कोठामा आएँ, नौ बज्नै लागेको थियो । ब्याग तयार गरेर बाहिर आएँ ।
नभन्दै मलाई लिन आउने जुलिएन गाडीमा आइपुगिन् । अभिवादन साटासाटपछि ब्यागहरू गाडीमा राखेर रेल्वे स्टेसनतिर गयौँ । मलाई ट्रेनमा चढाएर एउटा कार्ड दिइन् र भनिन्, ‘एडिनबरा पुगेपछि यो कार्ड ट्याक्सी ड्राइभरलाई देखाउनु, उसले तपाईं बस्ने घरमा पुर्याउँछ । मैले फोन गरिदिइसकेकी छु ।’
मैले ‘थ्यांक्यु फर एभरिथिङ’ भनेँ ।
ट्रेन गुड्न थाल्यो । झ्यालको सिटमा बसेको थिएँ । सँगै अगाडिको अर्को सिटमा एकजना महिला थिइन् । म हाँसे मात्र, केही बोलिनँ । उनी पनि हाँसिन्, बोलिनन् ।
ट्रेन लन्डन सहर छोडेर अघि बढिरहेको थियो । घरहरू कम र जंगल अनि कृषिबाली लगाएका फाँटहरू देखिन थाले । हठात् अगाडि बस्ने महिलाले सोधिन्, ‘बियर ?’
मनमनै सोचेँ– होइन, बेलायतमा सित्तै खान लेखेको छ कि क्या हो ! अनि, ‘ओके, थ्यांक्यु’ भनेँ ।
उनले दुईवटा क्यान बियर ल्याइन् । अनि, एउटा मलाई दिइन् । उनले हात अगाडि बढाएर ‘आई एम मेरी’ भनिन् ।
मैले पनि हात मिलाउँदै ‘आई एम राज’ भनेँ । त्यसपछि हामीबीच गफ हुन थाल्यो । ती महिला स्कटल्यान्डकै रहिछिन् । भनिन्, ‘छ घण्टाको यात्रा हो, एडिनबरासम्म ।’
मनमनै सोचेँ– अब भने हराइँदैन ।
मैले जुलिएनले दिएको कार्ड देखाएँ । हेरेर उनले भनिन्, ‘ओके, ट्याक्सी ड्राइभरले पुर्याइदिन्छ । डन्ट वरी ।’
म ढुक्क भएँ । अनि, बियरको चुस्की लगाउन थालेँ । करिब पाँच घण्टापछि बाटोमा ग्लास्गो सिटी आयो । मेरीले भनिन्, ‘यो औद्योगिक सहर हो । स्कच, ह्विस्कीहरू यहीँ बन्छ । त्यसपछि एडिनबरा आउँछ ।’
हामी गफ गर्दै अघि बढ्यौँ । ट्रेन एडिनबरामा पुगेर रोकियो । हामी दुवै ट्रेनबाट ओर्लियौँ ।
एउटा ट्याक्सी भएको ठाउँमा हामी गयौँ । मलाई दिइएको कार्ड देखाएँ । ड्राइभरले ‘ओके’ भन्यो । मेरीले मलाई अंकमाल गरिन् र आफ्नो फोन नम्बर दिइन् । र, ‘हामी फेरि भेट्छौँ’ भनेर बाई गर्दै गइन् ।
मैले पनि बाई गरेँ र ट्याक्सी चढेँ । ड्राइभर बीचबीचमा बोल्थ्यो, तर मैले केही बुझिनँ । फरक लबजमा अंग्रेजी बोलिरहेको थियो ऊ । मैले खाली यस...यस... मात्रै भनिरहेँ ।
ट्याक्सी म बस्ने लैन्डलेडीको घरमा पुगेर रोकियो । ड्राइभरलाई पैसा दिएर ओर्लिएँ । कलबेल बजाएँ ।
ढोकामा महिला देखा परिन् । उनले ‘आर यु राजेन्द्र ?’ भनेर सोधिन् ।
‘यस’ मेरो जवाफ रह्यो । अनि, उनले एउटा झोला बोकिन् र मलाई घरभित्र लगिन् । म बस्ने कोठा देखाइन् । अनि, फ्रिजबाट जुस निकालेर एक ग्लास मलाई दिइन् ।
जुस पिउँदै एकछिन गफ गर्यौँ हामीले । उनले घरका बारेमा सबै जानकारी गराइन् । ब्रेकफास्टको समय, बेलुकाको खाना खाने समय, अनि शुक्रबार र शनिबारचाहिँ बेलुकाको खाना बाहिर नै खानुपर्ने ।
‘अरू दुईजना पनि आउँदै छन्, एकजना चीनबाट, अर्का जापानबाट,’ उनले भनिन् । सोचेँ– केही साथी हुने भए ।
मेरो स्नातकोत्तरको पढाइ सुरु हुनुभन्दा एक महिनाअगाडि अंग्रेजी थप पढ्न र त्यहाँको रहनसहन, संस्कृतिका बारेमा जानकारी लिन गएको थिएँ । यसरी १८ महिनाको बेलायत बसाइका क्रममा अनेक रोचक घटनाको साक्षी भएँ ।
प्रसंग — १
एडिनबरा पुगेको भोलिपल्टै शुक्रबार परेको थियो । अनि, बेलुकाको खाना बाहिरै खानुपर्ने भयो । घरबेटी (न्यान्सी)ले बाटोमा भनिन्, ‘टेक अवे लेखेको हुन्छ, तिमीले खाना लिएर बाहिर कतै पार्क वा बेन्चमा बसेर खाए हुन्छ । नभए घरै ल्याएर खाए पनि हुन्छ ।’
म बेलुकातिर बाहिर निस्किएँ । एउटा ‘टेक अवे’ लेखेको देखेँ । त्यहीँभित्र छिरेँ । भित्र धेरै खानेकुरा सजाएर राखिएको थियो । मैले ‘गुड इभिनिङ’ भनेँ । एउटा वयस्क मान्छे औधी मोटो थियो, उसले ‘गुड इभिनिङ भन्यो’, तर अर्कै लबजमा ।
मैले ‘क्यान आई ह्याभ फिस एन्ड चिफ्स टु टेक अवे प्लिज’ भनेँ । उसले चिफ्स बुझ्यो, तर मैले फिस भनेको बुझेन । अनि, ‘ह्वाट एन्ड चिफ्स ?’ भनेर सोध्यो । मैले फेरि दोहोर्याएँ । अहँ, उसले फेरि पनि बुझेन । अनि, फेरि सोध्यो ।
मलाई संकोच लाग्यो । बेलायत पढ्न आएको, मैले अंगे्रजी बोलेको ऊ बुझ्दैन । अनि, चारपल्टभन्दा पनि नबुझेपछि केही सीप नलागेर खाना राखेको सोकेसमा देखाएर ‘दिस एन्ड दिस’ भनेँ ।
बल्ल उसले बुझ्यो र भन्यो ‘ओ, फिस एन्ड चिफ्स !’ उसले अर्कै लबजमा लेघ्रो तान्यो । बल्ल ढुक्क भएँ, अब खान पाइने भयो भनेर ।
उसले मलाई दुवै खानेकुरा तताएर दियो । पैसा तिरेर बाहिर पार्कमा आएर बसेर खाएँ ।
अंग्रेजी कक्षाको पहिलो दिन मैले अंग्रेजी पढाउने महिला शिक्षकलाई यो घटना सुनाएँ । उनले भनिन्, ‘कुनै पनि शब्दमा एफ उच्चारण गर्दा माथिल्लो दाँतले तलको ओठ टोक्नुपर्छ ।’
हामी सरकारी स्कुल–कलेजमा पढेका, त्यो पनि ऊ जमानामा । अंग्रेजी पढाउने सर पनि त्यस्तै । अनि, हामीले यो फोनेटिक कहाँ सिक्नु ! अंगे्रजी पनि नेपाली पाराले बोलिन्थ्यो ।
हुन त प्रमाणपत्र तहदेखि नै अंग्रेजी माध्यममा परीक्षा दिइयो । २०३८ सालमा पुलिस इन्स्पेक्टरको परीक्षा दिँदा मैले मात्र अंग्रेजीमा लेखेको भन्थे, त्यो बेला । त्यै पनि अंग्रेजी सुधार्नुपरेको देखेँ ।
भोलिपल्टबाट ‘एफ’ शब्द आउनेबितिक्कै माथिको दाँतले तलको ओठ सकीनसकी टोक्न थालेँ, खुब गाह्रो भयो ।
प्रसंग — २
मंगलबारको दिन । अंग्रेजी कक्षा सकिँदा पानी परिरहेको थियो । जाडो पनि भइरहेको थियो । बियर खाने विचार गरेँ । बाटोमा हिँड्दा ‘पब’ (बेलायतीहरू बार भन्दैनन्) विभिन्न नामले लेखेको देखेको थिएँ । मैले त्यहीँ पुगेर यो थाहा पाएको हुँ ।
एउटा पबमा खुसुक्क छिरेँ । पबका सबै मान्छे आश्चर्य मानेर मलाई हेर्न थाले । एकछिन त म अलमल्लमा परेँ, किन सबै मलाई हेरिरहेका छन् ! त्यसै बेला कुनाको एउटा टेबलमा बसेका पाका पुरुष र महिलाले मलाई हातको इसाराले बोलाए ।
म त्यतै गएँ, अनि सोधे, ‘होयर आर यु फ्रम ?’
मैले ‘नेपाल’ भनेँ । अनि, लामो लेघ्रो तानेर पाका पुरुषले भने ‘ओ, नेपोल ! गोर्खाज !’ उनीहरू नेपाललाई नेपोल भन्दा रहेछन् । अनि, ‘गोर्खाज’ भनेपछि त सबैले चिन्ने रहेछन् ।
ती पाका पुरुष अवकाशप्राप्त सैनिक रहेछन् । उनले एडिनबरामा धेरै गोर्खाज रहेको भन्दै ‘नेपोलका बारेमा केही भन’ भने । उनले आफूले मेरा लागि बियर अफर गर्ने कुरा गरे ।
फेरि मलाई भने, ‘तिमी यहाँ झुक्किएर छिर्यौ, यो वृद्धहरूको पब हो । तिमी भर्खरका छौ, त्यही भएर सबैले तिमीलाई हेरेका हुन् । तर, अरू पनि आउन सक्छन् ।
म लाजले भुतुक्क भएँ । सोचेँ– के भो त, वृद्धहरूसँग गफ गर्दा अंगे्रजी पनि राम्रो हुन्छ, त्यसमाथि यहाँ पनि सित्तैमा बियर खान पाइने ! बियर अफर गर्छु भनिसकेको छ ।
मलाई बेलायत बसाइ राम्रै होलाजस्तो लाग्यो । ती पाका पुरुषले बियर ल्याए । मैले नेपालका बारेमा भन्दै गएँ । बियर चढ्दै गएपछि त गफ पनि हाँक्ने आँट आयो । अंग्रेजी पनि राम्रो बोल्न थालेजस्तो अनुभव भयो ।
तिनले सोद्धै गए, मैले भन्दै गएँ । यसरी रातको दश बज्यो । अनि, मैले ‘जान्छु’ भनेँ । तिनले फेरि पनि आउन निम्तो दिए र ‘बियर ख्वाउँछु’ भने । म पनि ‘हुन्छ’ भन्दै धन्यवाद दिएर हिँडेँ ।
बाहिर निस्केर यसो मास्तिर बोर्डमा हेरेको त ‘एल्डरली पब’ लेखेकै रहेछ । प्रायः एक्ला, अवकाशप्राप्त, छोराछोरीले छोडेर गएकाहरू आउने गर्दा रहेछन्, त्यहाँ ।
लाज त लाग्यो, तर केही थिएन, अंग्रेजी सिक्न पाइयो, बियर पनि सित्तैमा पिउन पाइयो ! म लुरुलुरु कोठातिर लागेँ ।
०००
प्रसंग — ३
एकपल्ट घरमा सँगै बसेको जापानिज साथी र म बजारतिर घुम्दै थियौँ । बाटोमा रहेको टेलिफोन बुथबाट नेपाल फोन गर्नुपर्यो भन्ने लाग्यो । त्यही साथीलाई ‘एकछिन पर्ख ल, म श्रीमतीलाई फोन गर्छु’ भनेँ । उसले ‘हुन्छ’ भन्यो अनि बाहिरै बस्यो ।
म बुथभित्र छिरेर सिक्का पैसा हाल्दै फोन गर्न थालेँ । करिब दश मिनेटपछि म बाहिर आएँ । अनि, त्यो जापानिज साथीले सोध्यो, ‘कति पैसाको फोन गर्यौ ?’ मैले भनेँ, ‘त्यस्तै दुई पाउन्डजति हालेँ होला ।’
अचानक उसले भन्यो, ‘मसँग एउटा आइडिया छ, सित्तैमा फोन गर्ने ।’
म छक्क परेँ, के आइडिया हो ! भनेर । सोधेँ, ‘कसरी सम्भव छ, सित्तैमा फोन गर्न ?’
उसले भन्यो, ‘मसँग जापानिज सिक्का छ, सिक्काको बीचमा प्वाल छ । त्यो प्वालमा मसिनो डोरी बाँध्ने अनि पैसा छिराएर कुरा गर्ने । कुरा सकिएपछि डोरी तानेर निकाल्ने ।’
म अकमक्क परेँ । बेलुका घर पुगेपछि उसले मलाई पचास यानको जापानिज सिक्का दियो, जसको बीचमा प्वाल परेको थियो । भोलिपल्ट ऊसँगै फोन बुथमा गएँ ।
उसले डोरी बाँधेको पैसा हाल्यो । नभन्दै फोन सम्पर्क भयो । तर, मलाई डरडर लाग्यो, अरूले देखे बरबादै होला भनेर । त्यतिखेर मेरी श्रीमती काठमाडाैंमा घर बनाउँदै थिइन्, पोखरेल टोल, मालीगाउँमा ।
फोन गर्दा नजिकै रहेका डा. सुबोध पोखरेलको घरमा गर्नुपर्दथ्यो । बोलाइदिन्थे र म कुराकानी गर्थेँ ।
जे होस्, जापानिज साथीको आइडिया पनि गजबै लाग्यो । बेलाबेला अपनाइयो पनि ।
प्रसंग — ४
एक साँझ शुक्रबारको दिन चिनियाँ र जापानी साथीसँग ‘वर्ल्ड बेल पब’ गइयो । पबमा बाहिर–भित्र सबैतिर मन्दिरमा झैँ झुन्ड्याउने घण्टी नै घण्टी झुन्ड्याइएको थियो । त्यही भएर ‘वरल्ड बेल पब’ नाम राखिएको रहेछ ।
बियर काउन्टरमा गएको, एकजनाले बियर मागेको सुनेँ । उसको माग्ने तरिका केही फरक थियो । उसले भन्यो, ‘क्यान आई ह्याभ वी पाइन्ट लागर प्लिज ।’
मैले बुझिनँ यो ‘वी’ भनेको के हो भन्ने । अनि, बियर हाल्नेलाई सोधेँ । उसले अर्थ्यायो ‘सानो ग्लासमा मागेको’ भनेर । ‘ठूलो ग्लासलाई के भन्ने ?,’ मैले फेरि सोधेँ ।
उसले ‘लार्ज पाइन्ट’ भन्यो । हामीले ‘लार्ज पाइन्ट’ नै माग्यौँ । पबको मान्छेले भन्यो, ‘हामीसँग अफर पनि छ । यदि, तपाईंले लार्ज पाइन्ट बाह्र ग्लास खानुभयो भने तपाईंले यो पबको नामअंकित टी–सर्ट, बो टाई र क्याप पाउनुहुनेछ ।’
जापानी साथी हाँस्यो, अनि भन्यो, ‘ट्राइ गराैँ राज ।’ नाम राजेन्द्र भए पनि सबैले मलाई राज भन्थे । म पनि के कम ! ‘नेपालमा पनि खाएकै हो, हेर्दै जाऊँ’ भनेँ ।
स्टेजमा नर्तकीको हाउभाउसहित नाच चलिरहेको थियो । फ्रुट मेसिन लेखिएकामा पैसा हालेर केही खेल्ने निधो गरेँ । यद्यपि, मलाई थाहा थिएन त्यो कसरी खेल्ने भनेर ।
एकजना नर्तकी म अलमलिएको देखेर आइन् र कसरी खेल्ने भनेर सिकाइन् । मैले दशदश पैसा हाल्दै खेल्न थालेँ । दुईजना साथी पनि पिउँदै मैले मेसिनमा खेलेको हेरिरहेका थिए ।
म मेसिनमा जित्दै अघि बढिरहेको थिएँ । अन्तिम खुड्किलो बाँकी थियो, बीस पाउन्ड जित्न । फेरि ती नर्तकी मनजिक आइन् र भनिन्, ‘तिमी राम्रो खेलिरहेका छौ, अल द बेस्ट ।’
मैले ‘धन्यवाद’ भन्दै मेसिनतिर ध्यान मोडेँ । मौका हेरेर बटम थिचेँ । मेसिनले आवाज दिएर छनछन पैसा झार्यो । सबैले मतिर हेरेर थपडी बजाए । मैले हात उठाएर धन्यवादको संकेत गरेँ ।
पैसा गनेको त बीस पाउन्ड झरेको रहेछ ! अनि त के थियो, सित्तैमा फेरि बियर खाने भइयो । दुवै साथी दङदास परे । ‘जति खाऊ, आज म तिर्छु’ भनेँ । हामी सबैले बियर खान थाल्यौँ । खाँदा खाँदै जापानी साथी र मेरो दश पाइन्ट भइसकेछ ।
पबमा अफरमा भाग लिनेको रेकर्ड राखिँदो रहेछ । म बियर लिन जाँदा उसले भन्यो, ‘अब दुई पाइन्ट खायौ भने बाह्र पाइन्ट पुग्छ ।’
हामी पनि शुक्रबारे मुडमा थियौँ । भोलिपल्ट मजाले सुत्ने भनेरै खाइरहेका थियौँ । चिनियाँ साथीले चाहिँ हामीले दश खाँदा पाँच मात्रै खाएको थियो । जब हामी दुईले बाह्र पाइन्ट सक्यौँ, बारम्यानले बेस्सरी घण्टी बजायो । अनि, हामीछेउ आएर उद्घोष गर्यो, ‘एक नेपाली र एक जापानीले बाह्र पाइन्ट बियर खाए ।’
अनि, म्यानेजर आए र हामीलाई ‘वर्ल्ड बेल पब’ लेखिएको क्याप लगाइदिए । उनैले टी–सर्ट र बो टाई पनि दिए । सबैले ताली बजाएर बधाई दिए । हामी त्यहाँबाट निस्कन लाग्दा सबैले ‘चिरियो’ भने ।
चिरियो भनेको के हो, हामीलाई थाहा थिएन । तर पनि ‘चिरियो चिरियो’ भनेर बाहिरियौँ ।
भोलिपल्ट घरबेटी न्यान्सीलाई सोधेको उनी बताउँदै थिइन्, ‘चिरियो’ भनेको ‘बाईबाई’ भनेर । त्यस्ता धेरै शब्दहरू फरक ठाउँमा फरक किसिमबाट बोल्दा रहेछन् ।
प्रसंग — ५
एक दिन अंग्रेजी पढाउने शिक्षिकाले भनिन्, ‘भोलि सबैले आफ्नो राष्ट्रको राष्ट्रिय पोसाक लगाएर आउने, आफ्नो देशको कला–संस्कृति झल्कने कुनै प्रस्तुति दिने ।’ दुईजना नेपाली थियौँ ।
भोलिपल्ट करिब पच्चीस देशका साथीहरूले आ–आफ्नो राष्ट्रिय पोसाक लगाएर आए । म पनि दौरासुरुवाल, ढाकाटोपी, कालो छालाको जुत्ता, कोट र कोटमा नेपालको झन्डा सिउरेर पुगेँ ।
अर्का नेपाली पनि थिए, ठाकुर थरका (नाम नभनौँ) । उनी पनि दौरासुरुवालमा ठाँटिएर आए । सबैले आ–आफ्नो प्रस्तुति दिन थाले । कसैले गीत, कसैले नृत्य, कसैले कविता पेस गरे ।
मेरो पालो आयो, मैले उदितनारायण झाले गाएको त्यस समयको चर्चित गीत ‘आम्मैले भन्थे धाराको पानी, सारै नै चिसो नखाऊ नानी...’ उफ्रीउफ्री गाएँ ।
सबैले मन पराए अनि हात मिलाउन आए । पहिलेदेखि नै म गीत गाउने भएकाले राम्रैसँग गाएँ । मित्र ठाकुरको पालो आउन लागेको थियो । उनले मलाई भने– मलाई त नेपाली गीत आउँदैन, बरु हिन्दी गाउँछु, ‘आरजु’ फिल्मको ‘ए नरगिसे मस्ताना...’ कसैले थाहा पाउँदैनन् ।
मैले ‘हुँदैन’ भनेँ । भनेँ, ‘बरु, म गीत गाउँछु, तिमी नाच ।’ यसो गर्न उनी राजी भए ।
साथीको पालो आयो । मैले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो...’ बोलको गीत गाएँ । उनले कम्मर मर्काइमर्काइ नाचे । सबैले जोसका साथ ताली बजाए । गीतको बोल ‘ऐयाया आकाका’ गाएर म उफ्रँदा अरू पनि उफ्रिन्थे । अरू पनि ‘ऐयाया आकाका’ भन्दै हौस्याउँथे ।
जे होस्, त्यो कार्यक्रममा खुबै रमाइलो भयो । वास्तवमा यो प्रसंग स्मरणीय प्रसंग बन्यो मेरो जीवनको ।
प्रसंग — ६
एक दिन बैंक अफ स्कटल्यान्डमा खाता खोल्न ब्रिटिस काउन्सिलकी एक महिलाले साथै लगिन् । बैंकमा खाता खोलियो । ब्रिटिस काउन्सिलले प्रत्येक महिना सुरुमा तीन सय र पछि बढाएर चार सय हालिदिन्थ्यो ।
घरबेटीलाई बसेखाएको एक सय पचास तिर्नुपर्ने हुन्थ्यो । अझै एक सय पचास त उब्रिन्थ्यो । त्यो पैसाले फाल्तु खर्च मजाले पुग्थ्यो । बैंकले एटीएम कार्ड पनि दियो ।
ती महिलाले बाहिर एटीएम मेसिनमा आएर कार्ड कसरी चलाउने भनेर सिकाइन् । मेसिनमा कार्ड हालेर पैसा निस्कने, गजबै रहेछ ! मैले यस्तो पहिलोपल्ट देखेको थिएँ ।
म तीनछक्क परेँ । अनि, खाता भएको बैंकको एटीएम मेसिन देख्यो कि त गएर दश पाउन्ड निकालिहाल्थेँ । एक्लै दंग पर्थेँ, मेसिनबाट पैसा निस्केको देखेर ।
आज त नेपालमै यस्ता मेसिन छ्यापछ्याप्ती छन् । जबकि, उस बेला म अचम्मित भएको थिएँ ।
(धरान, हाल – काठमाडौं)