काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनमा देशैभरबाट नौ जना महिलालाई उमेदवारका रुपमा अघि सारेको छ । कांग्रेसले पहिलो चरणको निर्वाचनमा दुई र दोस्रो चरणको निर्वाचनमा सात महिलालाई प्रतिनिधि सभा सदस्यका लागि उमेदवार बनाएको हो ।
पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने निर्वाचनमा खोटाङ–१ बाट सरस्वती वजिमय र बाग्लुङ–१ बाट चम्पादेवी खड्का कांग्रेसकातर्फबाट कम्युनिष्ट गठबन्धनका उमेदवारसँग प्रतिनिधिसभा सदस्य पदमा प्रतिष्पर्धा गर्दैछन् ।
कांग्रेसले दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि तेह्रथुम–१ बाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, काठमाडौं–३ बाट अम्बिका बस्नेत, मकवानपुर–२ बाट महालक्ष्मी उपाध्याय ‘डिना’लाई उमेदवारका रुपमा अघि सारेको छ । यस्तै दाङ–१ बाट सुशिला चौधरी, कैलाली–१ बाट ईश्वरी न्यौपाने र कैलाली–५ बाट आरजु राणा देउवालाई प्रतिनिधिसभामा उमेदवार बनाएको छ ।
सरस्वती वजिमय
खोटाङ–१
खोटाङमा मंसिर १० गते पहिलो चरण अन्तरगत प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस नेतृ वजिमय कम्युनिष्ट गठबन्धनका विशाल भट्टराईसँग प्रतिष्पर्धामा उत्रिएकी छन् ।
स्थानीय तह निर्वाचनको परिणाम अनुसार खोटाङमा कांग्रेसको अवस्था दयनीय छ । त्यहाँ कम्युनिष्ट गठबन्धनसँग चुनाव जित्न हम्मेहम्मे पर्ने देखिएको छ । खोटाङमा कम्युनिष्ट गठबन्धन कांग्रेसभन्दा झण्डै दोब्बर मतले अगाडि देखिएको छ । स्थानीय तह निर्वाचनमा जिल्लाभरीबाट उठेका वडा अध्यक्ष पदका उमेदवारले प्राप्त गरेको मत अनुसार कांग्रेसले २२ हजार १७७ मत पाएको थियो । एमाले–माओवादीका वडा अध्यक्षहरुले पाएको मत अनुसार कम्युनिष्ट गठबन्धनसँग खोटाङमा ४१ हजार ४५६ मत छ ।
चम्पादेवी खड्का
बाग्लुङ–१
बाग्लुङमा पनि पहिलो चरणमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । बाग्लुङमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । कांग्रेस नेतृ चम्पादेवी खड्का प्रतिनिधिसभा सदस्यका लागि बाग्लुङ–१ कम्युनिष्ट गठबन्धनका डा. सूर्य पाठकसँग प्रतिष्पर्धामा छन् । बाग्लुङ नगरपालिका, बरेड, जैमुनी र काठेखोला गाउँपालिका मिलाएर बाग्लुङको निर्वाचन क्षेत्र नम्बर १ बनाइएको छ ।
बाग्लुङमा एक्लाएक्लै चुनाव लड्दा बलियो देखिएको कांग्रेस कम्युनिष्ट गठबन्धनका कारण कमजोर देखिएको छ । स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार कम्युनिष्ट गठबन्धन कांग्रेसभन्दा छ हजार बढी मतले अगाडि देखिएको छ । कम्युनिष्ट गठबन्धन २८ हजार आठ सय मतले बलियो अवस्थामा रहँदा कांग्रेससँग २२ हजार १७७ मतदाता देखिएका छन् ।
सीता गुरुङ
तेह्रथुम
प्रदेश नम्बर १ अन्तरगत पर्ने तेह्रथुममा दोस्रो चरण अन्तरगत मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा कांग्रेसले प्रतिनिधिसभा सदस्यमा सीता गुरुङलाई उठाएको छ । उनी विरुद्ध कम्युनिष्ट गठबन्धनले भवानी खापुङलाई अघि सारेको छ ।
स्थानीय तह निर्वाचन मत परिणाम अनुसार एमालेभन्दा पछाडि देखिएको कांग्रेस माओवादीसँगको गठबन्धनले झनै कमजोर देखिएको छ । तेह्रथुममा कांग्रेसभन्दा कम्युनिष्ट गठबन्धन आठ हजार बढी मतले अगाडि छ । उक्त मतपरिणामले कांग्रेससँग तेह्रथुममा १५ हजार २०४ र कम्युनिष्ट गठबन्धनसँग २३ हजार २५९ मत देखाएको छ ।
किरण यादव
महोत्तरी–२
कांग्रेस नेतृ किरण यादव महोत्तरी–२ बाट चुनावी प्रतिष्पर्धामा छन् । सोही क्षेत्रबाट कम्युनिष्ट गठबन्धनका कासिम नदाफ र राष्ट्रिय जनता पार्टीका शरतसिँह भण्डारी संघीय समाजवादी फोरमको समर्थनमा प्रतिनिधिसभा सदस्य पदको उमेदवारका रुपमा उठेका छन् ।
लोहरपट्टी र बलवा नगरपालिका तथा महोत्तरी गाउँपालिकासँगै भंगाहा नगरपालिका–१, २, ६, ७, ८, औराही नगरपालिका–७, ८, ९, एकडारा गाउँपालिका–६ र पिपरा गाउँपालिका–६ मिलाएर महोत्तरीको २ नम्बर निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार महोत्तरी–२ मा कांग्रेस नेतृ यादव र राजपा–फोरम गठबन्धनका भण्डारीबीच प्रतिष्पर्धा हुने देखिएको छ । त्यहाँ कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग १४ हजार ८२७ मत देखिएको छ । त्यस्तै राजपा–फोरम गठबन्धनसँग १८ हजार ५३१ मत छ भने कम्युनिष्ट गठबन्धनसँग झण्डै ११ हजार मत देखिएको छ ।
महालक्ष्मी उपाध्याय ‘डिना’
मकवानपुर–२
कांग्रेसले मकवानपुर–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको तालमेलमा महालक्ष्मी उपाध्याय ‘डिना’ लाई प्रतिनिधिसभा सदस्यको उमेदवारका रुपमा अघि सारेको छ । उनले कम्युनिष्ट गठबन्धनका विरोध खतिवडासँग प्रतिष्पर्धा गर्नु पर्नेछ ।
मकवानपुर–२ मा भीमफेदी, इन्द्रसरोवर, कैलाश, मनहरी, राक्सीराङ र थाहा गाउँपालिका तथा हटौडा उपमहानगरपालिकाका १, ३, ११, ११, १९ र मकवानपुर गढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडा पर्दछन् ।
स्थानीय तह निर्वाचनको परिणाम हेदा उक्त क्षेत्रमा कांग्रेस १८ हजार मतले कम्युनिष्ट गठबन्धनभन्दा पछाडि देखिएको छ । मकवानपुर–२ मा राप्रपासँग तालमेल गरेको कांग्रेसको ३० हजार ७२ मत छ भने क्मयुनिष्ठ गठबन्धनको ४८ हजार ५४५ मत देखिएको छ ।
अम्बिका बस्नेत
काठमाडौं–३
काठमाडौं क्षेत्र नं ३ अन्तर्गत महानगरको वडा नं ६, गोकर्णेश्वर नगरपालिका तथा कागेश्वरी–मनहरा नगरपालिकाका वडा नं १,२ र ३ पर्दछन् । क्षेत्र नं ३ बाट ०७० को चुनावमा एमाले उमेदवार रामेश्वर फुयाँल १३ हजार १०४ मत ल्याउँदै विजयी हुँदा कांग्रेसका चक्रबहादुर ठकुरी १२ हजार २४६ मत ल्याउँदा पराजित भएका थिए ।
यता २०६४ को चुनावमा चक्रबहादुर ठकुरीले १२ हजार ९६६ मत ल्याएर ९ हजार ५४९ ल्याएका रामेश्वर फुँयाललाई पराजित गरेका थिए । माओवादी यो क्षेत्रमा दुबै निर्वाचनमा तेस्रो स्थानमा रहेको थियो ।
स्थानीय निर्वाचनको कुरा गर्दा महानगरको वडा नं ६, गोकर्णेश्वर नगरपालिका र त्यसका वडा १, ३, ५, ६, ८ र ९ तथा कागेश्वरी मनहराको वडा नं २ कांग्रेसले जित हासिल गरेको छ । गोकर्णेश्वरको ४ र ६ मा एमाले तथा २ मा राप्रापा विजयीले वडा जितेको थियो भने कागेश्वरीको १ र ३ मा एमाले विजयी भएको थियो ।
यो क्षेत्र अन्तर्गतका वडाको तथ्यांकलाई केलाउँदा १४ हजार ३८४ मतसहित कांग्रेस पहिलो, १२ हजार ७०७ मतसहित एमाले, ४ हजार ४५१ माओवादीको मत तथा १ हजार ४४१ राप्रपाको मत रहेको छ ।
एकल मतका आधारमा यो क्षेत्रमा कांग्रेस बलियो देखिएको छ । तर, एमाले र माओवादीको गठबन्धन बन्दा कांग्रेसले राप्रपासँग तालमेल गरेमा कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
सुशिला चौधरी
दाङ–१
राप्ती, राजपुर र लमही नगरपालिका, गडवा गाउँपालिका र द्दोराही उप–महानगरपालिकाका १, २, ३ र ५ नम्बर वडा मिलाएर दाङको निर्वाचन क्षेत्र नम्बर १ बनाइएको छ । यो क्षेत्रबाट कांग्रेसले नेतृ सुशिला चौधरीलाई प्रतिनिधिसभा निर्वाचनमा अघि सारेको छ । उनका विरुद्ध कम्युनिष्ट गठबन्धनले थारु समुदायकै मेटमणी चौधरीलाई उमेदवार बनाएको छ ।
स्थानीय तह निर्वाचनको परिणाम अनुसार दाङ–१ मा कम्युनिष्ट गठबन्धनका सामु कांग्रेसको अवस्था नाजुक छ । त्यहाँ ११ हजार हाराहारी मतले गठबन्धन कांग्रेसभन्दा अगाडि देखिएको छ । दाङ–१ मा कम्युनिष्ट गठबन्धनसँग ३२ हजार चार सय मत देखिएको छ ।
कांग्रेससँग अहिले झण्डै २२ हजार मत छन् । जसमा झण्डै साढे तीन हजार मत तत्कालिन नेपाल लोकतान्त्रिक फोरमको रहेको छ । लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भइसकेकाले ती मतहरु कांग्रेसमा जोडिएको छ ।
ईश्वरी न्यौपाने
कैलाली–१
कैलालीमा पनि मंसिर २१ गते दोस्रो चरण अन्तरगत प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । कैलालीका टिकापुर नगरपालिका, जोशीपुर गाउँपालिकासँगै जानकी गाउँपालिकाका १, ३, ४, ६, ७ र भजनी गाउँपालिकाका ६ र ८ नम्बर वडा गाभेर निर्वाचन क्षेत्र नम्बर १ बनाइएको छ ।
उक्त क्षेत्रबाट कांग्रेस नेतृ ईश्वरी न्यौपाने प्रतिनिधिसभा सदस्यका लागि कम्युनिष्ट गठबन्धनकी मदनकुमारी शाह ‘गरिमा’ सँग प्रतिष्पर्धामा छन् । स्थानीय तह निर्वाचनको मत परिरणाम अनुसार क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनभन्दा कांग्रेस बलियो स्थितिमा छ । लोकतान्त्रिक फोरमले स्थानीय तहमा पाएको ११ हजार ७८२ मतसहित कांग्रेसको पक्षमा २३ हजार ४९३ मत रहेको छ । उता कम्युनिष्ट गठबन्धनसँग २० हजार ६३३ मत देखिएको छ ।
स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उमेदवारले पाएको मतका आधारमा हेर्दा कांग्रेसले ११ हजार ७११, एमालेले नौ हजार ८५३, माओवादीले १० हजार ७८० र तत्कालिन लोकतान्त्रिक फोरम ११ हजार ७८२ मत ल्याएको थियो ।
डा. आरजु राणा देउवा
कैलाली–५
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आशन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि कैलाली–५ मा कम्युनिष्ट गठबन्धनका उमेदवार नारदमुनी रानासँग प्रतिष्पर्धा गरिरहेकी छन् । अहिले ५ नम्बर क्षेत्रमा परिणत भएको तत्कालिन क्षेत्र नम्बर ६ बाट सभापति देउवाले दोस्रो संविधान सभा निर्वाचन जितेका थिए । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको वडानम्बर ६ र ९ समेटेर अहिले क्षेत्र नम्बर ५ बनाइएको छ ।
स्थानीय तह निर्वाचनको परिणाम अनुसार कैलाली–५ मा कम्युनिष्ट गठबन्धन कांग्रेसभन्दा छ हजार बढी मतले अगाडि छ । स्थानीय तह निर्वाचनमा पाएको मत अनुसार कैलाली–५ मा पर्ने धनगढी उपमहानगरपालिकामा कम्युनिष्ट गठबन्धनले २३ हजार ५७१ मत ल्याएको छ भने कांग्रेसले १६ हजार ४३८ मत पाएको छ । कांग्रेसमा विलय भएको नेपाल लोकतान्त्रिक फोरमले धनगढीमा १३ सय ८३ मत प्राप्त गरेको थियो । जसअुनसार उपमहानगरपालिकामा मात्रै कम्युनिष्ट गठबन्धन कांग्रेसभन्दा पाँच हजार ७२६ मतले अग्रस्थानमा रहेको छ ।
क्षेत्र नम्बर ५ मा पर्ने कैलारी गाउँपालिकाका ६ र ९ नम्बर वडामा कम्युनष्टि गठबन्धनको १७ सय २३ र कांग्रेस (तत्कालिन लोकतान्त्रिक फोरमसहित) को १३ सय ६५ मत छ । दोस्रो तहको स्थानीय तह निर्वाचनको परिणाम हेर्दा कांग्रेस सभापति देउवा पत्नी आरजु सामु आगामी निर्वाचन सहज देखिँदैन ।
स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदमा उठेका स्वतन्त्र उमेदवार गोपाल हमालले पाएको मत कैलाली–५ मा निर्णयक हुन सक्छ ।
उनले ११ हजार ५२७ मत प्राप्त गरेका थिए । कांग्रेसले धनगढीको मेयरमा नृप वडलाई टिकट दिएपछि कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ताहरु खुलेरै हमालको पक्षमा प्रचारमा हिँडेका थिए । व्यापारी पृष्ठभूमीका हमालले केही महिना अघि विवेकशिल साझा पार्टीमा प्रवेश गरेपछि उनलाई स्वतन्त्र उमेदवारको हैसियतमा मतदान गरेका अधिकांश मतदाताहरु रुष्ट भएका छन् । अव उनले पाएको मत आफुले पाउने कांग्रेस र कम्यनिष्ट गठबन्धनले दावी गरिरहेका छन् ।