site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'दुर्गा प्रसाईं विदेशी स्वार्थको गोटी बन्दै छन्'

काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का महासचिव देव गुरुङले दुर्गा प्रसाईं जानेर वा नजानेर विदेशी स्वार्थको गोटी बनिरहेको टिप्पणी गरेका छन् । शुक्रबार बाह्रखरीसँगको कुराकानीमा महासचिव गुरुङले प्रसाईंको आन्दोलनले देशमा द्वन्द्व ल्याएर विदेशीलाई मैदान बनाउने बताए ।

यद्यपि, प्रसाईंसहितले उठाएका आर्थिक समस्याका विषय सम्बोधनका लागि सरकार लागिरहेको उनको भनाइ छ । तर, संविधानले गरेका व्यवस्थाविपरीत जानुले प्रसाईं आफ्नो नियन्त्रणमा नरहेको संकेत गर्ने उनले बताए ।

“दुर्गा प्रसाईंजीले उठाएका आर्थिक समस्याका विषयहरू सम्बोधन गर्नुपर्ने प्रकृतिका छन् । त्यस्ता मुद्दा सम्बोधनका लागि सरकार लागिरहेको पनि छ,” गुरुङले भने, “प्रधानमन्त्री आर्थिक सुधारका विषयमा पछिल्लो समय नियमितजस्तो छलफलमै जुटिरहनुभएको छ । देशमा समस्या आएपछि सम्बोधन गर्नुपर्छ । सरकार लागिरहेको पनि छ, खालि परिणाम आइसकेको छैन ।”

त्यसबाहेक प्रसाईंले उठाएका विषय द्वन्द्व सिर्जनाका लागि मात्र भएको उनको बुझाइ छ ।

“एउटा व्यवसायीले आफूलाई र व्यवसायलाई परेको समस्या उठाउनु स्वाभाविक हुन्छ, त्यस्ता समस्या सम्बोधन गर्नु राज्यको दायित्व पनि हुन्छ,” महासचिव गुरुङले भने, “तर, संविधान मान्दिनँ भन्ने, गणतन्त्र मान्दिनँ भन्ने, संघीयता उल्टाउँछु भन्ने वा धार्मिक स्वतन्त्रतालाई धर्म सापेक्ष बनाएर एउटा मात्र धर्मको राज्य हुनुपर्छ भन्ने कुरा स्वाभाविक हुँदैन ।”

उनले यस्तो मुद्दा देशभित्रको एउटा व्यवसायीले बोक्ने र बाँकीले साथ दिने भन्ने कुरा पनि स्वाभाविक नहुने बताए ।

“उहाँले शान्तिपूर्णरूपमा आफ्नो व्यवसायमा परेका समस्याहरू राख्न सक्नुहुन्छ । राख्दा सम्बोधन भएन भने आन्दोलन गर्न पनि सक्नुहुन्छ,” गुरुङले भने, “उहाँले कतिपटक सरकारलाई आफ्ना समस्या राख्नुभएको छ ? कतिपटक आफ्ना माग लिखितरूपमा बुझाएर माग सम्बोधनका लागि औपचारिक दबाब सिर्जना गर्नुभएको छ ?” त्यसो नगरी यति लाख मान्छे ल्याउँछु भन्नु, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संघीयतासहित धार्मिक स्वतन्त्रता उल्टाउँछु भन्नुले आफ्नै खुट्टामा आन्दोलन नगरिरहेको संकेत गर्ने गुरुङ बताउँछन् ।

नेपालको राष्ट्रियता र सार्वभौमिकताको रक्षा द्वन्द्व र युद्धबाट नभई शान्तिपूर्णरूपमा मात्र रक्षा हुन सक्ने बताए ।

“नेपालको सार्वभौमिकताको रक्षा शान्तिपूर्ण बाटोबाट मात्र सम्भव छ । युद्ध र द्वन्द्वबाट नेपालको राष्ट्रियता र सार्वभौमिकताको रक्षा हुन सक्दैन,” गुरुङले भने, “प्रसाईंजी जानी जानी त्यसो गरिरहनुभएको छ त म भन्दिनँ । तर, उहाँ नजानेरै विदेशी स्वार्थको गोटी बन्दै हुनुहुन्छ ।”

एक ध्रुवीय विश्वले हरेक देशलाई द्वन्द्वमा राखेर नियन्त्रण गर्ने गरेको भन्दै उनले त्यस्तै स्वार्थको गोटी बन्नेहरूले देशमा द्वन्द्व र युद्धको धरातल बनाउन सघाउने बताए । 

“राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापबाट राष्ट्रिय पुँजी बढाउँदै स्वावलम्बी अर्थतन्त्र बाउने एउटा ध्रुव छ भने अर्को ग्लोबलाइजेसनमार्फत विश्वलाई नै एउटा शक्तिको प्रभावमा राख्ने र हरेक देशलाई आन्तरिकरूपमा कमजोर बनाएर शासन गर्ने दुई ध्रुवीय रूपमा विश्व अघि बढिरहेको छ,” महासचिव गुरुङले बाह्रखरीसँग भने, “विश्वलाई नै शासन गर्न चाहने शक्तिहरूले हरेक देशलाई कमजोर पार्न विभिन्न समूहमार्फत द्वन्द्व गराउँछन् । नेपालमा त्यस्ता समूह नभएको अवस्थामा प्रसाईंबाट ट्रायल सुरु भएको छ ।”

संविधानविपरीतबाहेकका माग सम्बोधन गरेर सरकारले अन्य विषयमा आवश्यक धारणा र कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro