site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

एकातिर संसद्का प्रमुख दलका नेताहरू राजनीतिक पद्धतिमाथि सङ्कट उत्पन्न भएको भन्दै जनसाधारणलाई तर्साउँदै छन् भने अर्कातिर  जनप्रतिनिधिको आधारभूत दायित्वसमेत पूरा गर्दैनन् । सम्भवतः यही कारणले राजनीतिक हैसियतै नभएकाले समेत संसदीय लोकतन्त्रमाथि औँला उठाउने दुस्साहस गरेका हुन् ।

संसद्को बैठकमा शीर्ष नेताहरूको उपस्थिति तिनको अक्षमता र अनुत्तरदायी  प्रवृत्तिको उदाहरण हो । पहिलो त संसद्को बैठक यसै थोरै बसेको थियो । पछिल्लो अधिवेशन १८० दिन चलेकोमा प्रतिनिधि सभाको बैठक त्यसको करिब एक तिहाइ अर्थात् ६५ पटकमात्र बस्यो ।  

प्रधानमन्त्री पुष्पकमला दाहाल आधाभन्दा पनि कम अर्थात् जम्मा २५ वटा बैठकमा उपस्थित भएछन् । संसद्को सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवा त झन् एक चौथाइभन्दा पनि कम बैठकमा उपस्थित भएको देखिन्छ ।  

प्रमुख विपक्षी दलका नेता खड्गप्रसाद ओलीलगायत अरू दलका शीर्ष नेताहरूको उपस्थित केही बढी देखिए पनि सन्तोषजनक भने छैन । यसबाट पनि नेताहरूले नै संसद्को मर्यादा नराखेको र आफ्नो जवाफदेहीप्रति उदासीन रहने गरेको आरोप पुष्टि  भएको छ ।   

प्रधानमन्त्रीलगायत ठूला दलका शीर्ष नेताहरू नै संसदीय जिम्मेवारीप्रति गम्भीर नभएपछि मन्त्रीहरू र दलका अरू सांसदले पनि संसद्को उपेक्षा गर्ने नै भए । फलस्वरूप, संसद्लाई प्रभावहीन बढाउन नेताहरूको यस्ता क्रियाकलाप नै सहायक हुनपुगेको छ । 

प्रमुख नेताहरूको संसद्प्रतिको उदासीनताले गर्दा नै संविधान जारी भएको ८ वर्ष पुग्दासमेत त्यसको कार्यान्वयनका लागि अत्यावश्यक कानुनसम्म पनि बन्न सकेका छैनन् । यस्तै, कोरोना, मन्दीजस्ता कारणले जनजीवन आक्रान्त हुँदासमेत सांसदहरूले जनताका आवाज मुखरित गरेको सुनिएन ।

अहिले पुराना दलहरूप्रति जनतामा वितृष्णा बढेको एउटा कारण जनप्रतिनिधिले अपेक्षित दायित्व पूरा गर्न नसक्नु पनि हो । यसैले अहिले कुनै ‘विदूषक’ वा ‘ठग’ले पनि नेताहरूको विरोध गरेमा जनताले ताली बजाउने र समर्थन जनाउने गरेका हुन् ।  

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै जनतामा वितृष्णा उत्पन्न नहोस् भन्ने चाहने हो भने सबैभन्दा पहिले जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय संसद्लाई नै प्रभावकारी बनाउनुपर्छ । संसद्को भूमिका र प्रभावकारिता बढाउन भने दलका शीर्ष नेताहरू नै सक्रियरूपमा सहभागी हुनु जरुरी हुन्छ ।

परन्तु, संसद्का बैठकमा नियमितरूपमा उपस्थित हुन पनि नसक्ने नेताबाट कुशल नेतृत्वको अपेक्षा गर्न सकिँदैन । यसैले  सम्बन्धित संसदीय दलका सदस्यहरूले नेतालाई सक्रिय बनाउने कि पन्छाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनु पर्ने देखिन्छ । सांसदहरूले नेता हटाउन नसके चुनावमा सांसदहरूलाई नै हटाउन जनता पक्कै हिचकिचाउनेछैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro