site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मागभन्दा आपूर्ति बढी हुँदा एकतिहाइ अकुपेन्सीमा होटेल सञ्चालनमा छन् : अध्यक्ष शाह
Tiktok banner adTiktok banner ad

काठमाडौं । होटेल संघ नेपालका पदाधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेटवार्ता गरेका छन् ।

उक्त अवसरमा संघका अध्यक्ष विनायक शाहले मुलुकमा पर्यटन आगमन वृद्धि भए पनि पछिल्लो समयमा धेरै ठूला होटेल संरचनाहरु सञ्चालनमा आउने क्रम बढेकोले मागभन्दा आपूर्ति बढी भई क्षमताको एकतिहाइ अकुपेन्सीमा होटेलहरु सञ्चालन भएको र घाटामा रहेको गुनासो गरेका छन् ।

अध्यक्ष शाहले विदेशी पर्यटकहरु नेपाल भ्रमणका लागि लालायित र सोधपुछ बढ्दै गएको अवस्थामा पूर्वाधारहरु जस्तै राजमार्गका सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाइका कारणले नेपाल आउने पर्यटकहरु अन्यत्रै जाने गरेको बताए ।

शाहले मुलुकको नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके मुलुक पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने हुँदा यसतर्फ राज्यले ध्यान दिन आग्रह गरे । उनले विकसित छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि मुलुकमा पर्यटन आगमनको चाप बढ्ने बताउँदै यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

अध्यक्ष शाहले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवालाई सशक्त र प्रभावकारी ढंगबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवद्र्धनमा सक्रिय रहन जोड दिए । शाहले पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक निजी साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन समेत बुझाएको हुँदा यसको कार्यान्वयनका लागि समेत आग्रह गरे । उनले मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गर्दै संशोधन हुन लागेको संघीय पर्यटन ऐनले यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

कोभिड, रुस–युक्रेन युद्ध र मध्यपूर्वी मुलुकमा भएका युद्धबाट धरासायी बन्दै गएको पर्यटन तथा होटेल उद्योगलाई राष्ट्रिय बजेट र मौद्रिक नीतिबाट सम्बोधन हुन नसकी बैंकलाई बुझाउनुपर्ने साँवा ब्याज समयमा बुझाउन नसकेको हुँदा साँवा ब्याज बुझाउने समयावधि थप गरिनुपर्नेमा अध्यक्ष शाहले जोड दिए ।

उक्त अवसरमा अध्यक्ष शाहले मुलुकको पर्यटनलाई बढावा दिने उद्देश्यले होटेल संघ नेपालले संघको स्थापना दिवसका अवसरमा आउँदो जनवरी १५ मा नेपाल आतिथ्यता दिवस मनाउन लागेको जानकारी गराउँदै यस कार्यक्रमबाट पनि राज्यले घोषणा गरेको पर्यटन दशकलाई मद्दत पुग्ने बताए ।

उक्त अवसरमा मन्त्री किरातीले पर्यटक आगमन सन्तोषजनक भएको र आउँदा दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह भएको बताउँदै मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई चलायमान बनाई पूर्वाधारहरु समयमै सम्पन्न गरी हवाई सञ्जाल समेत विस्तार गरिने बताए । यसबारेमा सम्बन्धित निकायमा पहल कदमी भइरहेको मन्त्री किरातीको भनाइ छ ।

उनले मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको हुँदा यस पर्यटनसँग सम्बन्धित जल्दाबल्दा सुझावहरुले महत्व राख्ने बताउँदै पर्यटन दशकका लागि समेत गृह कार्य सुरु भइसकेको बताए ।

सो अवसरमा होटेल संघ नेपालका निवर्तमान अध्यक्ष सृजना राणा, वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डे, उपाध्यक्ष दिनेश तुलाधर र महासचिव साजन शाक्यले आ–आफ्नो धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro