site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

प्राकृतिक वा मानवीय विपत्तिमा बालबालिका, बूढापाका, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी सबैभन्दा बढी प्रभावित हुन्छन् । यसैले उद्धारलगायत मानवीय सहायताका क्रममा उनीहरूलाई प्राथमिकता दिने गरिन्छ । 

नेपालमा भने विपत्तिको यस मापदण्डलाई गम्भीरतापूर्वक पालना गरिएको देखिँदैन । अपेक्षाकृत कमजोर समूहमाथि उद्धार र सहायता वितरणका क्रममा समेत भेदभाव र उपेक्षा हुन्छ । उनीहरूका आवश्यकतालाई उचित प्राथमिकता दिइँदैन ।

गोरखा भूकम्पका बेलामा पनि प्राथमिकता पाउनुपर्ने यस वर्गको आवश्यकताको उपेक्षा गरिएको थियो । विडम्बना, जाजरकोट भूकम्पमा पनि यही नियति दोहोरिएको छ । विशेषगरी, बालबालिकाको शैक्षिक र मनोसामाजिक आवश्यकताको उपेक्षा भएको देखिन्छ ।   

भूकम्प प्रभावित क्षेत्रमा ४०० भन्दा बढी विद्यालय क्षतिग्रस्त भएको प्रारम्भिक सूचना छ । फलस्वरूप, ५० हजारभन्दा बढी बालबालिकाको पढाइ रोकिएको छ । उनीहरूमा परेको मानसिक आघातको त झन् सम्भवतः आकलनसमेत भएको छैन ।

व्यक्तिका आवासीय घरहरूसँगै विद्यालय भवन निर्माणको योजना नगर्ने हो भने विद्यालयको पुनर्निर्माण धेरै ढिलो हुने र बालबालिकाको पठनपाठनमा प्रतिकूल प्रभाव परिरहने रहेछ । यो गोरखा भूकम्पले सिकाएको पाठ हो ।

यस्तै, बालबालिकालाई सकेसम्म छिटै विद्यालय पठाउन र दौँतरीहरूसँग भेटघाट गराउन सके उनीहरूमा मानसिक आघात कम पर्छ । अर्थात्, विद्यालयहरू चाँडो सञ्चालन गरेर भूकम्पबाट बालबालिका पर्ने प्रभाव कम गर्न सकिन्छ । 

भूकम्पका कारण बालबालिकाको पढाइ रोकिँदा उनीहरूको जीवनमा व्यक्तिगत हानि त हुन्छ नै राष्ट्रकै पनि अपूरणीय क्षति हुन्छ । यसैले बालबालिकाको पठनपाठन रोकिन नदिन पहिलो प्राथमिकता दिइनुपर्छ ।

सबैभन्दा पहिले विद्यार्थीहरूको तथ्याङ्क लिनुका साथै तिनका आवश्कयताका सम्बन्धमा पनि विवरण सङ्कलन गर्नुपर्छ । स्थानीय तहले शिक्षकहरू परिचालन गरेर केही दिनमै यो विवरण सङ्कलन गर्न सक्छन् ।

विद्यालय सञ्चालनका लागि आवश्यक अस्थायी भौतिक संरचनाको प्रबन्ध मिलाउन पनि स्थानीय तहलाई खासै कठिनाइ हुनेछैन । शिक्षकशिक्षिका छँदैछन् । पुस्तक, पोसाक र अन्य शैक्षिक सामग्री सामाजिक संघसंस्थाले उपलब्ध गराउन सक्छन् ।

यसैले विद्यालय तत्काल सञ्चालन गराउन खाँचो प्राथमिकता र राजनीतिक इच्छाशक्तिको मात्रै देखिन्छ । बालबालिकाको एक वर्ष उनीहरूका लागि एक जुनी नै हो भन्ने मनन गरेर सरकारले भूकम्पपीडित बालबालिकाको पठनपाठन तत्काल सञ्चालन हुने व्यवस्था मिलाओस् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro