site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आईसिटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्ताहरूलाई गरेका छन् ।

एसिया–प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्यासि) परिसं‌घको आज काठमाडौंमा सुरु ३७औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।

नेपाली अर्थतन्त्रले ठूला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर वृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताए । पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैङ्किग क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानिकर्ताहरूका लागि जोखिम कम हुँदै गएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

नेपालको जलविद्युत्‌लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बगलादेशको आर्थिक वृद्धिले जलविद्युत्‌को प्रचुर बजार सिर्जना भएको उल्लेख गर्दै अध्यक्ष ढकालले  जलविद्युत् परियोजनामा लगानीका अवसर छोप्नुपर्ने समय आएको बताए ।

यसैगरी विश्वस्तरीय होटेल र विमानस्थल लगायत पर्यटन पूर्वाधार बनिसकेकाले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । बढ्दो पर्यटन बजारका लागि केबलकार, रिपोर्ट, थिम पार्क, हिल स्टेसन र ठुला होटेललगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

नेपालले निर्यात बजार विस्तार गरिरहेको र विभिन्न मुलुकहरूसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण पनि गराए ।  

नेपालले दक्षिण एसिया, एसिया प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिर भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटी विस्तार गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रको विकासमा साझेदारीका लागि समेत आग्रह गरे ।

महासंघले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरूलाई सहयोग गर्न  तयार रहेको तर्फ पनि अध्यक्ष ढकालले विश्वस्त रहन आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्