कोसी प्रदेश मुख्यमन्त्रीमा कांग्रेसभित्र उत्पन्न विद्रोहको रापताप अझै सेलाएको छैन ।
सत्तारुढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन्, ‘‘यस्ता राजनीतिक कामले शेखर कोइराला र शेरबहादुर देउवा दुवैको साख गुमेको छ । त्यो सच्याउने ठाउँसम्म पुर्याउनुपर्छ ।’’
कोसी प्रदेशपछि गठबन्धन दलभित्र बढेको अविश्वासदेखि समाजवादी पार्टीले आकार लिन नसकेको र समाजवादीबाट एमाले पलायनलगायतका सवालमा पाण्डेसँग बाह्रखरीका रमेश वाग्ले र कुञ्जरमणि भट्टराईले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
–पार्टी गठनको दुई वर्ष र चुनावपछिको एक वर्षलाई हेर्दा पार्टीमा उत्साह र निराशा कत्तिको छ ?
पार्टी संगठन निर्माण गर्र्दै हिँडेकाले म निराश चाहिँ छैन । पार्टीमा जिम्मेवार तहका साथीहरु एमाले फर्किएका छैनन् । यता ‘बार्गेनिङ’ गरी केही प्राप्त नहुनेहरु उता फर्किएका हुन् । बाहिरबाट हेर्दा टाउको गन्दा यो पनि गयो उ पनि गयो भनी गणना भएको होला ।
मलाई त्यसले त्यति छोएको छैन । हामीले भएको शक्ति परिचालन गर्न सकेका छैनौं भन्ने लागेको छ । पार्टीको केन्द्रीय कमिटी ३०० भन्दामाथि छ । डेढ सय मात्रै मुस्किलले क्रियाशील छन् । अरु मौन बसेका छन् । उनीहरुको मनभित्र धेरै विश्वास जागिसकेको छैन । उनीहरुमा विश्वास जगाउन आवश्यक छ ।
दोस्रो– नेतृत्व तहमा पनि बेलाबखतमा हाम्रो अबको बाटोबारे अष्पटता छन् । त्यो अष्पष्टताले पनि समस्या बनाएका छन् ।
तेस्रो– एमालेबाट आएका ‘ललिपप’ले पनि केही केही मान्छेलाई प्रभाव पर्न खोज्या जस्तो देखिएको छ ।
यसले गर्दा अझै कठिन नै ढंगले पार्टी निर्माण गरिनुपर्छ । पार्टी निर्माण नै हुन सक्दैन भन्ने मलाई लाग्दैन । हामीलाई समय लाग्छ ।
–झन्डै आधा केन्द्रीय सदस्य नै पार्टी बन्नेमा आश्वस्त हुन सकेनन् । तल्लो तहका पनि एमाले फर्किने र ‘पोजिसन’ लिने काम चलिरहेकै छ । पार्टीको दोस्रो वरीयतामा रहेका सम्मानित नेता झलनाथ खनालका ‘डकुमेन्ट’ले पनि निराशा पैदा गरेको देखिन्छ । पार्टीमा आशा भन्दा पनि निराशा बढेको त होइन ?
यो हेराइमा भर पर्छ । बाहिरी जगतले हेर्दा निराशा बढी छ भन्ने लाग्न सक्छ । पार्टीभित्र जहिले पनि अनेक खालका विचारहरुको छलफल, मन्थन, पक्ष, विपक्ष हुनु स्वाभाविक हो । त्यसले त्यति फरक पर्दैन । हाम्रा सम्मानित नेताले राखेका सवाल पार्टीको सम्पत्ति हुन् ।
कतिपय सवाल यो परिस्थितिका लागि उचित छन् । त्यसलाई समातेर जान्छौं । जुन तत्काल काम लाग्दैन, थाति राख्छौँ । त्यसको सम्बोधन गर्ने गरी छिटै नै महाधिवेशन गर्दैछौं । माघ महिनामा महाधिवेशन गर्ने तय भइसकेको छ ।
मेची–महाकाली अभियानले गर्दा समय केही समय लागेको हो । माघ वा फागुनमा महाधिवेशन गर्छौं । नेतृत्वलाई नयाँ ढंगले विकास गर्छाैं । पार्टी निर्माण गर्ने, खदिलो, खिरिलो, सशक्त पार्टीको रुपमा लान सक्छौं भन्ने विश्वास छ । पार्टी निर्माण गर्ने उत्साह जगाउन जरुरी छ ।
त्यसका लागि कार्यक्रम ल्याउनुपर्छ । हामी युवाहरुलाई ४० प्रतिशत सुम्पिन्छौं, ५ प्रतिशत इन्जिनियर, बुद्धिजीवी, दलित, जनजातीलाई पनि यति प्रतिशत जिम्मेवारी दिएर लैजान्छौं भनेर अघि बढ्नुपर्छ । हाम्रो पनि प्रतिनिधित्व हुन्छ भन्ने आशा जगाउँछ । समाजवादीको परिचय हुने गरी अघि सानुपर्छ ।
–तपाईंहरुले हालै मेची–महाकाली जागरण अभियान चलाउनुभयो । त्यहाँ जनताबाट के पाउनुभयो ? तपाईंहरुले के दिनुभयो ?
हामी अभियान लिएर मेची–महाकाली गर्यौँ । काँकडभिट्टाबाट सुरु गरेर सुर्खेतमा अन्त्य गर्यौँ ।
मध्यपहाडी क्षेत्रमा पनि फेरि जागरण अभियान चलाउँछौं । हामी पुगेका ठाउँमा उत्साह ल्याएको छ । धेरै ठाउँमा ढिला गर्नुभयो पहिले नै गर्नुपर्थ्यो र यसले राष्ट्रिय पार्टी बन्न पनि सघाउँथ्यो भन्ने सुझाव पनि आएको छ ।
हामीले देखाउन होइन समाजवादी जागरण अभियानमा ठोस कुरा बोलेका छौं । कृषि क्रान्ति गर्छौं, किसानहरुले गरेको उत्पादनलाई राज्यले किनिदिने ‘सिस्टम’ बनाउँछौं । मल बिऊ, यन्त्रको बन्दोबस्त गर्छौं भन्ने सवाल पनि हामीले उठाएका छौँ । बेरोजगार युवालाई रोजगारी दिने ‘स्किम’ अघि सार्छौँ । देशभित्रका युवालाई रोजगार बनाउनुपर्छ ।
२७–२८ लाख नेपाली भारतमा काम गर्छन् । उनीहरुको स्किल छैन । ७–८ लाख भारतीय नेपालमा काम गर्छन् । इटा बनाउनेदेखि सुनको गहना बनाउने, कपडा सिलाउने, कपाल काट्ने, पलम्बर हरेक ठाउँमा भारतीयहरु छन् ।
ती सिप भएका ७–८ लाखले जति कमाउँछन्, ती २८ लाखले भन्दा ४ गुणा बढी कमाउँछन् । सीपयुक्त जनशक्ति तयार गर्न जरुरी छ । म वाग्मती सरकारको मुख्यमन्त्री हुँदा १० हजार युवालाई ३ महिने तालिम दिऔं भनेर पैसा छुट्टयाएको थिएँ ।
अझै पनि त्यसमा पैसा छुट्टिरहेको छ । हामीले यस्ता काम गर्न जरुरी छ । हाम्रो पार्टी सरकारमा रहेर यो काम गराउँछौं । नत्र हामी सरकार बाहिर आउँदा पनि हुन्थ्यो । जनताको पार्टी हो राष्ट्रको हितका निम्ति काम गर्छ भन्ने स्थापित गर्छौं ।
–समाजवादीबाट एमाले फर्कनेहरुको उत्साह देखिन्छ । एमालेबाट घनश्याम भुसालबाहेकका नेता आएको देखिएन । एमालेमा पेलिएर बसेकाहरुलाई आउने वातावरण बनाउन नसकिएको हो ?
हामीले आउँदो महाधिवेशनबाट हामीले दिने कार्यक्रमबाट त्यस्ता साथीहरुलाई आउने वातावरण बनाउँछौं । एमालेभित्र ठूलो पार्टी हो, यहीँ बस्नुपर्छ भन्ने ठूलो जमात छ । यसले केही गर्ला भनेर होइन । समानुपातिकमा पनि धेरै मत हुन्छ चिठ्ठा परे मलाई पनि पर्ला भनेर बस्ने जमात छ ।
राष्ट्रका लागि महत्वपूर्ण नारासहित कार्यक्रम लिएर बाहिर आयौं भने केही गर्छु भन्ने भावना राख्ने साथीहरु तान्न सक्छौँ भन्ने विश्वास छ । केही साथीहरुसँग कुरा पनि भइरहेको छ । तपाईंहरुको पार्टी अलिक बलियो बनाउनुुस् भन्ने साथी एमालेमा हुनुहुन्छ । बलियो बन्यो भने हामी पनि आउँछौं भन्न खोज्नुभएको जस्तो लाग्छ ।
–कहिले माओवादी कहिले जसपासँग एकता गर्ने गरी छुट्छुट्टै समझदारी बनेको जस्तो पनि देखिन्छ । त्यो समझदारी कुरामै सीमित रह्यो नि !
हामीले पार्टी एकता भनिरहेका छैनौंं । समाजवादी मोर्चा बनायौं । संविधान नै नमान्ने शक्तिलाई पनि यो मोर्चाभित्र सामेल गर्न सफल भयौं । संविधानमा पनि समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनिएको छ ।
त्यसमा कांग्रेस पनि सामेल छ । मोर्चाको माध्यमबाट भ्रष्टाचारका सवाल राम्रोसँग उठाएर लान सक्यौं, इमान्दारपूर्वक मोर्चाका पार्टी एकगठ भएर कम्युनिस्ट विचार अघि बढ्यो भने बृहत कम्युनिस्ट एकताको ठाउँमा पुग्न सक्छौं । हामी पार्टी एकता गर्ने कुरामा सोचेका छैनौं ।
–सरकारबाटै कार्यक्रम लागू काम गर्ने भन्नुभयो, सरकारको प्रभावकारिता स्थापित हुन सकेको छ ?
यसबारे हामी आन्तरिक छलफल पनि गर्दैछौं । सत्ता गठबन्धनमा पनि सरकारको प्रभावकारिताबारे छलफल गरिरहेका छौं । सरकारमा बसेका मन्त्री, मन्त्रालयले सेवा प्रवाहका क्षेत्रमा कस्तो डेलिभरी दिन सक्छ त ? कुन मन्त्रालयले के दिन सक्छ ?
सरकारमा बसेर सर्भिस डेलिभरीमा कमी भयो है भन्ने छलफल भइरहेको छ । चाँडोभन्दा चाँडो हामी ठोस कार्यक्रम घोषणा गरी अघि बढ्ने विषयमा छलफल भइरहेको छ ।
–सत्ता गठबन्धनले प्रदेशसम्मको समझदारी गरेर अघि बढेको थियो । कोसी प्रदेशमा फरक परिस्थिति बन्दा एमाले सरकारमा छ । यसले सत्ता गठबन्धनलाई केही असर गर्छ ?
नेपाली कांग्रेसका शीर्ष नेताहरु (शेखर कोइरालाससहित) सँग बस्दा सत्ता गठबन्धनलाई खासै फरक पार्र्दैन भन्ने कुरा भएको छ । तर, जे काम भयो कांग्रेसजस्तो डेमोक्रेटिक पार्टीभित्र त्यो ढंगले जाने कुरा ठिक थिएन । कांग्रेसभित्र असहिष्णुताको पराकाष्ठा पनि हो ।
शेरबहादुरजीको लबीले हामीसँग बहुमत छ जे गरे पनि हुन्छ गरे भन्ने आरोप पनि छ । अर्को पक्षले यो मौकामा विद्रोह गर्दा गरेको गर्यै हुन्छ भनी गरेको जस्तो देखिन्छ । यस्ता राजनीतिक कामले शेखर र शेरबहादुर देउवा दुवै जनाको साख गुमेको छ । त्यसलाई सच्याउने ठाउँसम्म पुर्याउनुपर्छ ।
–कोसी प्रदेश जिम्मेवारी बाँडफाँट गर्दा कांग्रेसको भागमा थियो । कांग्रेसको नेतृत्वमा जाँदा पनि बहुमत थिएन । माओवादीबाट जाँदा एमाले वा राप्रपाको भोट आउने अवस्था थियो र ? बहुमतको सुनिश्चितता नगरी नेतृृत्व परिवर्तनको कुराले यस्तो भएको हो ?
उद्धव थापाजीलाई मुख्यमन्त्री बनाउनुपर्छ भनी पहिलोपटक मैले प्रस्ताव गरेको थिएँ । ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री बनाउने मेरो प्रस्ताव सर्वसहमतिले पास भएको थियो । माओवादीको पनि रुचि थियो । तर, प्रधानमन्त्रीले सहजै सहमति जनाउनुभयो । विश्वासको मत प्राप्त भएन ।
अदालतको आदेशपछि फेरि पनि उद्धव थापाकै नाममा सहमति भयो । सबैभन्दा ठूलो दलले विश्वासको मत आर्जन गर्न नसकेपछि दोस्रो दललाई दिने कुरा भयो । त्यतिबेला शेरबहादुरजी, कृष्ण्प्रसाद सिटौलाजी हुनुहन्थ्यो ।
उहाँहरुले हाम्रै दललाई दिनुपर्छ भन्नुभएन । हामी छलफल गर्छौँ भन्नुभएको पनि होइन । दुई पटक दिइएकै हो । हामीले विश्वासको मत पाउन सकेनौं, माओवादीका इन्द्र आङ्बोलाई दिऔं भन्नुभयो ।
राप्रपाले सभामुख र केही समितिको सभापति दिए आङ्बोलाई मत दिने कुरा भएको भन्ने थियो । तर, यसबीचमा एमालेले पनि मौका पायो । यसले कांग्रेसभित्रै असहज बनाइरहेको छ, जस्तो लाग्छ । अब त्यहाँ कसरी अघि बढ्ने भन्ने कठिन अवस्थामा उहाँहरु हुनुहुन्छ । राजनीतिमा एउटा घटना टर्यो भनेर सोच्ने होइन होला नि ? पछिसम्मको कुरा हुन्छ ।
यो कुराले स्वयम् शेखरजीलाई गाह्रो भएको छ । उहाँको भूमिकाबाट उहाँको टिमका गगन थापाजीहरु पनि खुसी हुुनुहुन्न । कांग्रेसभित्र पनि गठबन्धनबाटै गर्ने भए विकल्प व्यक्ति प्रस्तुत गर्छौं, जसलाई राप्रपाले पनि समर्थन गर्छ नभनेका परिणामले संगठनले क्षति बेहोर्नुपर्यो । नेतृत्वमाथि पनि प्रश्न उठिरहेको छ ।
शीर्ष नेताको बैठकमा यो कुरा आएन । जुन दिन इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने प्रस्ताव आयो । प्रधानमन्त्रीले पनि लफडा होला भनी कांग्रेसकै व्यक्ति आइदिए हुन्थ्यो जस्तो गर्नुभएको थियो । इन्द्र आङ्बोलाई नै बोलाएर कुरा गर्दा राप्रपाले समर्थन दिन्छु भनेको छ भनेपछि अघि बढिएको हो ।
उहाँहरु (कांग्रेसभित्र) राम्रो छलफल भएको रहेनछ । स्वयम् शेखरजीले यो व्यक्ति हुनुपर्छ भनेर जोडदार रुपले भनेको जस्तो लागेन ।
–प्रसंग बदलौं, नेकपा निर्माणको बहस चलिरहेकै छ । दोस्रो तहका नेता ‘होमवर्क’मा नै देखिनुहुन्छ । साम्यवाद प्राप्त गर्ने बहसजस्तै हो कि नेकपा निर्माणको आधार छन् ?
एकपटक नेकपा बनेर शक्ति निर्माण भएको थियो । त्यसलाई हामीले ठीक ढंगले लैजान नसकेको हो । नेतृत्वले मिलाएर लैजान सकेन । नेकपा बनाउन आवश्यक छ भन्ने कुरा उठ्न थालेको छ । झगडालु दुई बच्चालाई एकै कोठामा राखी सर्प पठाएपछि दुवै मिलेका थिए रे । त्यस्तै अर्को सर्प जन्मन आवश्यक होला, नेपाली राजनीतिमा ।
त्यसपछि एकता प्रयास काम लाग्न सक्छ । त्यति छिटो एकता हुन्छ जस्तो लाग्दैन । एकता गर्नुपर्छ भन्ने सवाल शीर्ष नेताहरुबाट आउन थाल्नुपर्छ । एकताका कुरा त एमाले अध्यक्ष, माधवकुमार नेपालबाटै पनि आएको छैन । सबैले वाम एकता आवश्यक छ ।
यो राष्ट्रका लागि पनि आवश्यकता छ भन्ने कुरा बुझेर उभिनुभयो भने त्यो दिन धेरै टाढा छैन । तर मैले यतिखेर त्यो हुटहुटी देखेको छैन ।
–सबै दलमा नेतृत्व पुरानो छ । उसँग अनुभव छ । जोश–जाँगर चाहिँ छैन जस्तो देखिन्छ । यी दलहरुले आफ्नो आफ्नो दलको नेतृत्वको विकल्प खोज्ने अभ्यास थाले त्यो हुटहुटी जाग्न सक्छ ?
नेकपाबारे क्रमशः कुरा उठ्न थालेको छ । केही समयमा परिपक्व हुन पनि सक्छ । तर, अहिले नै हाम्रो पार्टीको महाधिवेशन भइहाले माधव नेपाललाई अध्यक्ष छाड्न मन छैन ।
केपी ओलीलाई १० वर्ष अध्यक्ष हुनुपर्छ भनेर बोलिदिने दोस्रो तहका नेता भनिरहेका छन् । पुष्पकमल दाहाल प्रचण्डले पनि छाड्ने अवस्था छैन । सबै पार्टीमा अरुलाई ‘लिडरसिप’ मान्ने अवस्था देखिँदैन ।
त्यसैले नेताहरुले प्रयत्न गरे भने विस्तारै अघि बढ्न सक्छ । अब सबै राजनीतिक दल एक ठाउँमा उभिएर राष्ट्रिय सहमति कायम गरौं भन्ने अवस्था बन्न सक्छ । परराष्ट्र मामिला, भ्रष्टाचारका मुद्दा, जनतालाई सेवा–सुविधा दिने मामिलामा हामी एक ठाउँमा जुटौं । जो सरकारमा आए पनि सहमति कार्यान्वयन गरौं भन्ने खालको राष्ट्रिय सहमति खोज्न जरुरी छ ।
जस्तो, संघीयतामा बहस भइरहेको छ । एकथरि मान्छे संघीयता खारेज गर भनेर सडकमा नारा लगाउन थालिसकेका छन् । संघीयताका बारेमा के गर्ने हो त ? कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, एमाले के बोल्ने ? केपी शर्मा ओलीजी आफैँ संघीयताको पक्षमा राम्रोसँग देखिनुहुन्न ।
प्रधानमन्त्री भएकै बेलामा प्रदेशलाई युनिट भन्नुभएको छ । त्यसो भएकाले यस्ता केही विषयमा राष्ट्रिय सहमति आवश्यक छ । त्यो विषयले विस्तारै एक ठाउँमा ल्याउन सक्छ ।