site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीद्वारा श्रममन्त्रीसँग भेटवार्ता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरेको छ ।

अध्यक्षमा निर्वाचित भएसँगै शर्माले उच्चस्तरीय भेटवार्तादेखि गैरआवासीय नेपालीको एजेण्डा सम्बोधनका लागि सरकारी निकायमा ध्यानाकर्षण सुरु गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही क्रममा मन्त्री भण्डारीलाई एक ज्ञापनपत्र बुझाउँदै शर्माले मध्यपूर्वलगायत श्रमिकका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा शर्माले नेपालीहरू रोजगारीमा जाने देशहरूमा देखिएको राजनीतिक अन्यौलताले गर्दा भविष्यमा आउन सक्ने समस्यालाई सम्बोधन गर्न समिति गठन गर्न अनुरोध गरेका छन् ।

यसैगरी लामो समयदेखि वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको र विभिन्न अध्ययन अनुसार अबका १० वर्ष यही वैदेशिक रोजगारीमा जाने क्रमले नै निरन्तरता पाउने देखिएको ज्ञापनपत्रमा उल्लेख छ ।

"वैदेशिक रोजगारमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहजताको लागि अनलाइनबाट श्रम स्वीकृति सहज बनाउनुपर्ने देखिएको छ," ज्ञापनपत्रमा भनिएको छ, "सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने बिमा गर्नुपर्ने अनिवार्य व्यवस्थालाई एकद्धार नीतिबाट एक किसिमको नीति बनाउँदा श्रमिकहरूलाई सहज हुन्छ ।"

यस्तै, सामाजिक सुरक्षा कोषमा आकर्षण बढाउनको लागि समय अनुकूल नीतिहरूमा परिमार्जन तथा सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा एकजना गैरआवासीय नेपाली संघबाट प्रतिनिधित्वको लागि अनुरोध मन्त्रीसमक्ष गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्