site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रसंघका महासचिवले भने– नेपालले ३० वर्षमा झन्डै एक तिहाइ बरफ गुमाएको छ

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले पछिल्लो ३० वर्षको अवधिमा झन्डै एक तिहाइ बरफ गुमाएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले आज आफ्नो आधिकारिक वेबसाइटमा सगरमाथा क्षेत्रमा खिचिएको गुटेरेसका भिडियो सन्देश सार्वजनिक गरेको छ । भिडियोमा उनले विश्वलाई सन्देश दिन आफू अहिले नेपालमा रहेको बताएका छन् ।

“नेपालले तीस वर्षको अवधिमा झन्डै एक तिहाइ बरफ गुमाएको छ,” भिडियो सन्देशमा महासचिव गुटेरेसले भनेका छन्, “नेपालको ग्लेसियर्स (हिमनदी) अघिल्लो दशकको तुलनामा गएको दशकमा ६५ प्रतिशत छिटो पग्लिएको छ ।” 

सगरमाथको फेदीबाट विश्वलाई दिएको सन्देशमा उनले जलवायु परिवर्तनले नेपालको हिमालहरूमा असर गरेको जनाएका छन् । यसलाई उनले दुःखद घटना बताएका छन् ।

पृथ्वीको तापक्रम बढ्दा हिमनदी र बरफ पग्लन थालेको उनले जनाएका छन् । बढ्दो तापक्रमकै कारण अन्टार्कटिका र ग्रिनल्याण्डले हरेक वर्ष अरबौँ टन बरफ गुमाइरहेको समेत उनले उल्लेख गरेका छन् ।

“ग्लेसियरहरू पग्लिनुको अर्थ तालहरू र नदीहरूमा बाढी आउनु, सम्पूर्ण समुदायलाई बगाउनु हो,” महासचिव गुटेरेसले भनेका छन् । 

जलवायु परिवर्तनका कारण समुन्द्रको सतह बढ्दा विश्वभरका तटीय समुदायहरू खतरामा परेको उनले जनाएका छन् ।  यस्तो संकटले गति लिइरहेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । 

बेलैमा समस्याको सम्बोधन नगरे जलवायु परिवर्तनले दोस्रो चरणमा पार्ने असर झन् डरलाग्दो हुने उनको भनाइ छ ।

“यो त्रासदीको दोस्रो चरण अझ डरलाग्दो हुन्छ– हिमनदीहरू पूर्ण रूपमा हराउने छन्,” महासचिव गुटेरेसले भनेका छन् ।

ग्लेसियरहरू बरफको जलाशय भएको जनाउँदै उनले यस्ता जलाशयले एक अर्बभन्दा बढी मानिसहरूलाई ताजा पानी उपलब्ध गरेको बताएका छन् । ग्लेसियरहरू हराउँदै जाँदा नदीहरू पनि हराउँदै जाने खतरा उनले औँल्याएका छन् । 

“भविष्यमा, सिन्धु, गंगा र ब्रह्मपुत्र जस्ता प्रमुख हिमालयन नदीहरूको बहावमा ठूलो मात्रामा कमी आउन सक्छ,” महासचिव गुटेरेसले भनेका छन् ।

जलवायु परिवर्तनको असर नरोकिए समुन्द्री सतहबाट सबैभन्दा कम उचाइमा रहेका देश र समुदायहरू हराउने खतरा रहेको समेत उनले औँल्याएका छन् । यसले भविष्यमा जमिन र पानीको लागि मानिसहरूबीच प्रतिस्पर्धा बढ्ने उनले जनाएका छन् ।

जलवायु परिवर्तनले विश्वव्यापी रूपमा बाढी, खडेरी र पहिरोका घटनाहरू पनि बढाएको उनले बताएका छन् । उनले अगाडि भनेका छन्, “म आज संसारको छतबाट कराउन यहाँ छुः पागलपन रोक्नुहोस् ।”

गुटेरेसले जीवाश्म इन्धन युगको अन्त्य गर्न विश्वलाई आह्वान पनि गरेका छन् । उनले जलवायु परिवर्तनको असर भोग्ने अग्रपंक्तिमा मानिसहरूलाई जोगाउन तत्काल कार्य अगाडि बढाउनुपर्ने बताएका छन् ।

“जलवायु परिवर्तनको सबैभन्दा खराब असरबाट बच्न विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्नुपर्छ,” उनले भनेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro