site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्वार्काे चोकको फ्लाइओभरको काम यसै आर्थिक वर्षभित्र सकिने, दुई चरणमा काम हुँदै

काठमाडौं । ललितपुरको ग्वार्काे चोकमा निर्माण भइरहेको ‘फ्लाइओभर’को काम यसै आर्थिक वर्षभित्र सक्ने बताइएको छ ।

गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यका अनुसार सम्झौता भएको समयभन्दा केही थप गरेर सक्ने गरी अहिले दुई चरणमा काम भइरहेको छ ।

प्राविधिक कारणले काम अवरूद्ध हुँदा त्यसको असर पर्न गएको निर्देशक शाक्यले बताए ।

सोमबार पूर्वाधार विकास समितिका सदस्यहरूले स्थलगत अवलोकन गर्ने क्रममा तोकिएको समयमा चार महिना थप गरी सक्ने योजनाअनुसार काम भइरहेको उनले बताए ।

फ्लाइओभर निर्माणमा १७ करोड ६ लाख ८८ हजार रुपैयाँ खर्च हुने उनले बताए ।

“यसको ठेक्का सम्झौता २०७८ फागुन १२ गते भएको हो । दुई वर्षको अवधिमा सक्नेगरी सम्झौता भएअनुसार आगामी फागुनमा सक्नुपर्ने हो । तर, त्यो समयमा सकिँदैन । समय थप गर्नुपर्छ,” उनले भने, “हामीले यसै आर्थिक वर्षभित्र आयोजनाको काम सम्पन्न गछौँ । अहिलेसम्म बेसको काम सम्पन्न भएको अवस्था छ । प्रमुख काम सकिएको छ ।”

अहिलेको डिजाइनअनुसार ‘पाइल कास्टिङ’ गर्न आवश्यक मेसिन औजार नेपालमा उपलब्ध नभएकोे र विदेशबाट समेत सहजै उपलब्ध हुन कठिनाइ भएकोले निर्माण कार्यको प्रगतिमा असर परेको उनले बताए ।

यसले गर्दा केही समय थप लाग्ने उनको भनाइ छ । पुल निर्माणका लागि आवश्यक पर्ने दुई हजार ३७६ प्यानलमध्ये एक हजार २६१ प्यानल ढलान भइसकेको पनि बताइएको छ ।

यसको निर्माणको जिम्मा आशिष–समानान्तर रेलिगेर जेभीले पाएको छ । यो नेपाल सरकारको खर्चमा निर्माण भइरहेको पहिलो फ्लाइओभर हो । यसलाई नमुनाको रूपमा पनि लिइएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्