काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ । ठेक्का सम्झौता भएको लामो समय हुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले असन्तुष्टि व्यक्त गरेको हो ।
सोमबार ग्वार्को फ्लाइओभर निर्माणको स्थलगत अवलोकन गर्दै समितिले कामको गति ढिला भएको समेत जनाएको छ ।
समिति सभापति दीपकबहादुर सिंहले फ्लाइओभर निर्माण कार्य हेर्दा समयमा नै सम्पन्न हुने नदेखिएको बताए । उनले समयमा नै आयोजना सम्पन्न गर्न सिफ्ट बढाएर काम गर्नुपर्ने जिकिर गरे ।
सभापति सिंहले कोटेश्वर–सातदोबाटो–कलंकी सडकखण्ड भएर ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती बेहार्नुपरेको र घण्टौँ ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या देखिएकाले सरकार र सम्बन्धित ठेकेदारसँग छलफल गरेर आवश्यक निर्देशन दिने बताए ।
ललितपुरको बालकुमारीतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटरको र्याम्पसहित ग्वार्को फ्लाइओभर निर्माण भइरहेको छ ।
समितिले सोमबार नै कलंकी–बसुन्धरा सडक विस्तार आयोजनाको पनि स्थलगत निरीक्षण गरेको छ ।