site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुगु घटना : सामूहिक हत्यापछि कतारमा रहेका श्रीमान्‌लाई पठाइएको थियो शवको फोटो

काठमाडौं । मुगुको छायानाथरारा नगरपालिका–६, मन्दुका एकै परिवारका चारजनाको शव दुई दिनअघि शंकास्पद अवस्थामा फेला पर्‍यो । वैदेशिक रोजगारीका निम्ति कतार पुगेका दीपक बोहराकी श्रीमती २८ वर्षीया श्रीदेवी, ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठमहिने छोरा रहरको शव फेला परेको हो ।

धारिलो हतियार प्रयोग गरेर उनीहरूको सामूहिक हत्या गरिएको प्रहरीले आशंका गरेको छ । गएको शुक्रबार प्रहरीले घरभित्र शव फेला पारेको थियो । त्यसको भोलिपल्ट अर्थात शनिबार मात्र शव उठाइएको थियो ।

नेपालगन्जबाट घटनास्थलमा लगिएको तालिमप्राप्त कुकुरसहितको अनुसन्धानपछि मात्र प्रहरीले शव परीक्षणका निम्ति अस्पतालमा पठाएको हो । उनीहरूका शव परीक्षण गर्न जिल्ला अस्पताल गमगढीमा पठाइएको छ । घटनास्थल सदरमुकामबाट करिब चार घण्टाको दूरीमा छ ।

शनिबार बिहान नेपालगन्जबाट पुगेको तालिमप्राप्त कुकुरको टोलीले कुनै ‘क्लु’ फेला पार्न सकेन । कुकुरबाहेक प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट छुट्टै अनुसन्धान टोली समेत मुगु पुगेको छ । तर, प्रहरीले कुनै बलियो क्लु फेला पार्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार घटनास्थल प्रहरीले सुरक्षित राखेको छ । तर, घटना कात्तिक ८ गते भएको र प्रहरीले ढिलो सूचना पाउँदा अनुसन्धानमा केही समस्या देखिएको उनले बताए ।

“उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या भएको जस्तो देखिन्छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप पुष्टि हुन्छ । हामीले केही व्यक्तिमाथि आशंका गरेका छौँ, तर अहिले नै नियन्त्रणमा लिइहाल्ने बलियो प्रमाण फेला पारेका छैनौँ । कुकुरले पनि संकेत गर्न सकेन,” डीएसपी थापाले भने ।

मुगु प्रहरी स्रोतका अनुसार लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने आशंका छ । श्रीदेवीले लगाएको सुनका गरगहना लुटेर लगेको खुलेको छ । श्रीदेवीले चलाउँदै आएको मोबाइल फोन समेत ‘हत्यारा’ले लिएको प्रहरीले दाबी गरेको छ ।

हत्यापछि श्रीमान् दीपकलाई पठाइएको थियो फोटो
श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते बडादसैँको टीका थाप्न छायानाथरारा–६, कोटिल्लास्थित माइतीघर पुगेकी थिइन् । उनीहरू दसैँको दिन टीका लगाएर त्यहीँ बसे । कात्तिक ८ गते आफ्नो घर फर्किएका थिए । सोही राति हत्या गरिएको प्रहरीको दाबी छ ।

कात्तिक १० गतेसम्म घरमा ताल्चा देखेपछि छिमेकीले त्यो फोडेका थिए । त्यसपछि श्रीदेवीसहित उनका तीन छोराछोरीका शव देखेका थिए । त्यसलगत्तै छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा बिहानको साढे ९ बजेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकै बेला श्रीदेवीको मोबाइलबाट कतारमा रहेका उनका श्रीमान् दीपकलाई छोराछोरीको शवसहितको फोटो म्यासेन्जरमा पठाएको खुलेको छ ।

दीपकलाई फोटो पठाउँदाको मोबाइलको ‘बीटीएस’ प्रहरीले अध्ययन गरिरहेको छ । हत्यालगत्तै लुटेर लगेको मोबाइलको टावर भने घटनास्थलनजिकै देखिएको प्रहरी स्रोतको भनाइ छ ।

ढोकामा नयाँ ताल्चा
श्रीदेवी र उनका छोराछोरीको हत्यापछि घरको मूलढोकामा ताल्चा लगाइएको थियो । उक्त ताल्चा श्रीदेवीको घरमा लगाउने गरिएको नभएर अर्कै रहेको खुलेको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार हत्यापछि नयाँ ताल्चा लगाइएको खुलेको हो ।

श्रीदेवीले चार्जमा राखेको मोबाइल फोन समेत हत्यापछि लगेको खुलेको छ । त्यसको चार्जर रगत लागेको अवस्थामा फेला परेको छ ।

श्रीदेवीको घरनजिकै अरू तीन घर छन् । प्रहरीले स्थानीयसित सोधपुछ जारी राखेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro