काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन् । बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले पार्टीभित्रै कुनै समस्या देखिए तत्काल समाधान गर्ने पनि बताए । आफूले पार्टीभित्र मेलमिलापको वातावरण बनाउने कोसिस गरिरहेको उनको भनाइ छ ।
“ठूला दललाई विस्थापित गर्नुपर्छ भन्ने कुरालाई मैले सकारात्मक रूपमा लिएको छु । काम गर्नुपर्यो, भन्नु राम्रो कुरा हो नि ! चुनौती आएको छैन । ठूला दलका ठूला नेताहरू त आलोचनाका पात्र हुँदै हुन् त । आलोचना गर्ने कुरालाई खराब मानेकै छैन त यहाँ । आलोचना गर्नसम्म गर्नुस् न । ठूला दलको विश्वास गुम्यो तपाईंले भन्नुभयो । तर, मलाई त विश्वास छ भन्ने लाग्छ त । यसरी नभन्नुस् न त,” उनले भने, “तपाईंले भनेको कुरा मैले मान्नुपर्छ भन्ने छैन, माफ गर्नुहोला । विद्यार्थीहरू विदेश पढ्न जान चाहन्छन्, रहर पुगेपछि फर्किहाल्नुहुन्छ नि । नेपाललाई माया गर्नुहुन्छ उहाँहरूले । पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन । तपाईंहरूले भनेको कुरा सत्य होइनन् नि । मेलमिलाप गर्न खोजिराखेको छु । कहीँ समस्या छ भने समाधान गर्छु मैले ।”
ठूला दल विस्थापित हुन्छन् भन्ने कुरा सत्य नभएको पनि उनले दोहोर्याए ।