site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सम्झनाका तरेलीमा त्यो विराटनगरदेखि यो विराटनगरसम्म
Sarbottam CementSarbottam Cement

आफू जन्मेहुर्केको स्थान जो कोहीलाई मन पर्नु स्वाभाविक हो । विराटनगर मेरो जन्म र कर्म दुवै थलो । विगत १६ वर्षदेखि म निरन्तर काठमाडौंवासी हुन पुगेछु । यसबीच यदाकदा घाम झुल्केजसरी काठमाडौं–विराटनगर जाने–आउनेमा सीमित थियो ।

अनुचित शैलीमा महाअभियोगको भागीदार बन्नुपरेको घटना, प्रधानन्यायाधीशको कुर्सीबाट सेवानिवृत्त भएपछि २०७४ देखि २०७५ सम्म विराटनगरमा एक–दुईदिने कार्यक्रममा मुख्य अतिथिको भूमिकामा झुल्किने बराबर अवसर पाइरहेँ । कोरोनाको आगमनपश्चात् त्यसखाले विराटनगरको आवतजावत र बसाइ पूर्णतः बन्द रह्यो । त्यसपछि विराटनगरको मेरो घरको दैलोमा मात्र होइन, कम्पाउन्डबाहिरको मुख्य ढोकासम्ममा पनि ताला लाग्यो ।

पेसाविहीन, सेवानिवृत्त र घरेलु व्यवहारबाट एकप्रकारले उन्मुक्ति पाएपछि पुरानो थलोको सम्झनाले मलाई यसपटक तान्यो । यस वर्षको दसैँ आफन्तहरूबीच मनाउन म विराटनगरमा रहेँ । त्यसो त विराटनगरवासी इष्टमित्र र आफन्तहरूसँग काठमाडौंमा भेटघाट भयो कि मलाई सधैँ तिनको पछि लागेर यतैतिर आऊँ आऊँ नलागेको होइन ।

Prabhu Bank
Agni Group
NIC Asia

यसपटक लामो समयपछि विराटनगर आउँदा घरको बाटो मात्र होइन कि घर नै नचिनिने भएछ । २०७४–२०७५ सम्म आउँदा नउम्रेका कटहर, बडहर र निम समेतका स्वतः उम्रेका बिरुवाहरू झांगिएर घरलाई नै छेकेछन् ।

मैले ढुकुरको त्यत्रो बथान विराटनगरमा एकैपटक कहिल्यै देखेको थिइनँ, तर यसपटक त्यो ठूलो बथानका जत्था आफ्नै घर–आँगनमा देखेपछि छक्क परेँ । दिउँसो धोएका लुगा सुकाउन छतमा जाँदा एक बथान अनेक जातका स्थानीय चराहरू टिनको छानामुनि थिए । सायद दिउँसो चर्को घाममा आराम गरिरहेका थिए ।

Global Ime bank

मलाई देख्नेबित्तिकै खैलाबैला नै मच्चाएका थिए । सायद तिनलाई लाग्यो होला कि यो हाम्रो शान्तिपूर्वकको बसाइमा खलल पुर्याउने को हो ? मलाई मनमा लाग्यो, कम से कम म नबसे पनि तिनले मेरो घरमा राम्रै अखडा जमाएका रहेछन् । मध्यरातमा पनि घरीघरी चराका स्वर सुन्न पाइएको छ ।

विराटनगरको नामकरण परापूर्वकालमा विराट राजाको राज्य भएकै कारणबाट भएको हो भनिन्छ । मैले बुधनगरस्थित भेडियारीमा रहेको उनको दरबार, मन्दिर, पोखरी समेतको भग्नावशेष देख्ने अवसर २०२५ ताका मोरङ कलेजमा पढ्दाको अवस्थामा पाएकी थिएँ ।

त्यहाँको दरबारको भग्नावशेष उस बेला अग्लो स्थानमा उत्खनन नभएरै रहेको थियो । त्यसबखत एउटा मन्दिरको उत्खननसम्म भएको देखिएको हो । त्यहाँ भेटिएको पूजाका भाँडाहरू र प्राप्त सामान काठमाडौंतिर संरक्षण गर्न लगिएको भनी सुन्नमा आएको थियो ।

किच्चकपोखरी सम्भवतः किच्चकले नुहाउने पोखरी हुनुपर्छ, जुन तत्कालीन नै बनेका इँटाहरूबाट घेरिएको राम्रो पोखरी थियो । त्यहाँ उत्खनन हुन बाँकी नै थिए ।

तर, उत्खननमा फेला परेका सामानहरूको सुरक्षा नहुँदा जो कोहीले उठाएर लाने गरेको, प्राप्त इँटाहरू पनि स्थानीयले घरेलु प्रयोजनमा उपयोग गरेको गुनासो त्यसैबखत पनि सुनिएको थिए ।

विराट राजाको राजधानी विराटनगर निकै फैलिएको मान्नुपर्छ । यसको सीमा कहाँसम्म हो त्यसको यकिन त छैन, तर उहिले सुन्नमा के आएको थियो भने हाल विराटनगर, बरगाछीको आसपासमा गोग्राहा भन्ने ठाउँ थियो, त्यसलाई विराट राजाको गौपालनको स्थान हो भनिन्छ । विराट राजाको पालाको अनुमानित एउटा ५२ मनको ताल्चा हरैँचा भन्ने स्थानमा सडक बाटो खन्दा भेटिएको कुरा सानोमा हामीले सुनेका थियौँ ।

कौरव पक्षबाट प्रताडित पाण्डवहरू बाह्र वर्षसम्म गुप्तवास बस्ने क्रममा विराट राजाको दरबारमा नोकरचाकर भई छद्म भेषमा लुकीछिपी बसेका थिए । विराट राजाको साला पर्ने किच्चकले द्रौपदीलाई कुदृष्टिबाट हेरेको कारणबाट भीमले हत्या गरेको किंवदन्ती छ । त्यसरी किच्चकलाई वध गरेको स्थानको नाम ‘किच्चक–वध’ रहेको र उक्त स्थान मोरङ र झापाबीचमा पर्छ ।

ऐतिहासिक महत्त्व रहेको स्थान विराटनगरको विगत पचास–साठीअघिका अवस्था सम्झँदा आँखामा झलझली आउँछ, ती खरफुसले छाएका, बाँसको भाटामा माटोले लिपेका आममानिसका घरहरू । अथवा, हुनेखानेहरूले बनाएका काठका खम्बा, काठका फलेकका बार र टिनले वा खरले छाएका घरहरू ।

बीचबजारमा पनि त्यस्तै घरहरू वा पसलका निम्ति टिनका घुम्तीहरू थिए । पक्की घर र इँट र टिनले बनेका गोदामहरू र मुट्ठीभरि औँलामा गन्न सकिने परिवार थिए ।

विराटनगरमा मेरा पूर्वजहरू जो पहाड र सप्तरीबाट १९९० सालभन्दा अघि मोरङमा बसोबास गर्न आएका थिए । अझ उहाँहरूको भनाइअनुसार बाटो नै थिएन, विराटनगर बजारमा । बाटोको नाममा आली, कान्ला र डोभहरू थिए ।

उहाँहरू काशका घारी पन्छाउँदै हिँड्ने गर्नुहुन्थ्यो रे ! विराटनगरमा पहिलेका धेरै धनाढ्य र जिम्दार परिवारहरूले आँप र फलफूलका बगैँचाहरू प्रशस्त लगाएका थिए, जो अब छैनन् । जग्गाको भाउ अचाक्ली वृद्धि भएको छ, कित्ताकाट हुँदै बिक्री हुँदै मासिइसकेका छन् ।

पहिले विराटनगर जंगल हुँदा मानिसका घरकै आँगनबाट चितुवा र बाघले खसीबोका, गाईबाछाहरू बाँधेको डोरीसहित तानेर लान्थे ।

हाम्रै परिवारका पुरुष सदस्यहरू चितुवा र बाघ मार्न रातभरि बन्दुक लिएर रुखरुखमा चढेर रुँगेर बस्ने गरेको हामीले देखेका हौँ । उति बेला घना जंगल नजिकै थियो अथवा आवादी भएकै खेतनजिक पनि प्रशस्त झाडीहरू थिए ।

हामी सानोमा बयर खान जंगलमा जाँदा हामीले नै चितुवाको बच्चाहरू फेला पारेका थियौँ । वर्षामा घर–आँगनमै तर्न नसक्ने गरी बाढी आउँथ्यो । म आठ–दश वर्षको हुँदा एकपटकको दसैँमा यस्तो लामो झरी पर्‍यो कि मानिसहरू लुगाफाटो, सामान किन्न बजारमा जान पनि सकेनन् ।

झरीका कारण हाम्रो परिवारले घरबाहिर खसीबोकाको मार हान्न र काटकुट गर्न असम्भव देखेपछि त्यो वर्ष मारकाट नै भएन । आँगनभरि बाढीले रहु र बुहारी जातका ठूला माछाहरू बगाएर ल्याएको थियो । त्यसैलाई मारी आगोमा पोलेर सुकुटी बनाउने र आलोलाई तारेर खाने काम भएको हो, त्यो वर्ष ।

आज हेर्ने हो भने विराटनगर बजारले कुनै ठूलै विकसित सहरको रूप धारण गरेको पाइन्छ । ठूला फराकिला बाटाघाटा, गगनचुम्बी घर सर्वत्र छन् । १० वर्षपछि कोही नवआगन्तुक अब विराटनगर आयो भने उसले कायापलट भएको सहर ठान्ने छ ।

यसको सहरी विकासको चरम सीमा भनेको दुइटा कारण देखियो, पहिलो त जताततै, कुनाकाप्चामा पिच बाटो, सडक, ढल र नालाहरू बन्नु र एक नम्बर प्रदेशको राजधानी हुनु । दोस्रो, माओवादी द्वन्द्वकाल र मधेस आन्दोलनमा प्रताडित सम्भ्रान्त र मध्यमवर्गीय परिवारका मानिसहरू सुरक्षा खोज्दै विशेषतः राजविराज (सप्तरी), सिरहा, जनकपुरबाट विराटनगरमा बसाइँ सर्नु ।

जुन स्थानमा व्यापारिक केही चहलपहल छन्, त्यहाँ पनि विकास भएको छ । झोराहाट, विराटचोक अब राम्रै बजार बनेका छन् । छाप्रोमा बसेर खिर र पोलेको मकै बेच्ने कानेपोखरी पनि सहर बन्यो । दुइटा छाप्रोमा साना पसल भएको रमाइलो बजार अब विशेष प्रकृतिको बजार भएको छ ।

यसको अतिरिक्ति कानेपोखरीको जंगल पनि निकै बाक्लो देखियो । यसको श्रेय इन्धन प्रयोगमा ग्यास र बिजुलीको चुल्होको उपयोगलाई पनि जान्छ । मानिसमा जंगलका बारेमा चेतना पनि बढेको भन्ने कतिपयको भनाइ छ ।

त्यस्तै, गाउँपालिका र नगरपलिकाले परम्परागत सिमसार पोखरीहरूलाई पर्यटकीय विकासका निम्ति सदुपयोग गर्न वनभोज क्षेत्र तोकेको र उपयोग गरेको देखिन्छ ।

यस भेगमा मानिसहरू इँट–सिमेन्टको ढलानयुक्त पक्की घर बनाउन लालायित छन् । देहातका बीचबीचमा बनेका यस्ता घरहरू कुनै व्यापार, जागिर वा आयआर्जनको आम्दानीको जरियाबाट भन्दा पनि यसको श्रेय जान्छ, वैदेशिक रोजगार वा जग्गाको अचानक भाउ वृद्धिबाट भएका आयहरूलाई नै ।

झोराहाटको एक किलोमिटरभित्रको एक कट्ठा जग्गाको मूल्य पैँतिस लाख पर्ने गरेको रहेछ । त्यसो भएपछि दुई कट्ठा जग्गा बेच्दा घर त बन्ने नै भयो ।

विराटनगरमा मौसमको कुरा गर्ने हो भने संसारमा वृद्धि भएको उच्च तापक्रमको असर यहाँ पनि परेको छ । गर्मी अत्यधिक बढेको छ, त्यसमा केही उपाय नलागेर घरघरमा कुलर र एसीको प्रयोग प्रशस्त भएका छन् ।

मानिसको लाउनेखाने र बसउठको हैसियतमा पनि केही त वृद्धि भएको देखिन्छ, तर विज्ञहरूको गुनासो के रहेको छ भने मोरङमा भित्री देहातमा पनि बाटोघाटो प्रशस्त मात्रामा पक्की नै बनेका छन्, तर गाउँपालिकामा बाहिरका सामान आयात हुन्छन् । गाउँपालिकाभित्रबाट भने विराटनगर सहरमा वा बाहिर निर्यात भएको देखिँदैन ।

आयात–निर्यात बराबर भए पो मानिसको आय बढ्छ, रोजगारीको बाटो खुल्छ र क्रयशक्ति बढ्छ । तर, गाउँका बासिन्दाले किनेर मात्र खाने, आफ्नो तर्फबाट बिक्री गर्ने केही नभएपछि सन्तुलन कायम कसरी हुनसक्छ ?

जे होस्, विराटनगरमा २०८० सालको दसैँ मनाइयो । धेरै वर्षपछि आफन्तहरूबीच दसैँ मनाउँदा नातिनातिना पुस्तामा आएको परिवर्तन र विकासलाई देखेर खुसी नै लाग्यो । यो एउटा नयाँ युगमा नयाँ पिँढीको चहलपहलको सुरुआत मान्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय