काठमाडौं । औषधि उत्पादक कम्पनीहरूको दुई वर्षको प्रयासपछि २०७९ साउनमा औषधि व्यवस्था विभागले ६५० एमजीको सिटामोल उत्पादन अनुमति दियो ।
अनुमति पाएसँगै तीनवटा कम्पनीले उत्पादन प्रक्रिया अघि बढाए । तर, एक वर्ष बितिसक्दा बजारमा भने आएको छैन ।
यता विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भने ६५० एमजीका सिटामोल नेपालका लागि आवश्यक नभएको भन्दै बजार अनुमति नदिने दाबी गरिरहेका छन् ।
“विश्वका कमै देशमा मात्रै चल्ने ६५० एमजी सिटामोल नेपालका लागि आवश्यक छैन,” उनको भनाइ छ ।
“५०० एमजी सिटामोलको बजार मूल्य नबढिरहेको अवस्थामा ६५० उत्पादन गर्दा मूल्य बढाउन पाइन्छ की भनेर लाइसेन्स दिन धेरै जोडबल गरियो, तर मैले यसको औचित्य नभएको भनेर रोकेँ, म महानिर्देशकबाट हटे लगत्तै औषधि सल्लाहकार समितिसहितको बैठकबाट अनुमति दिइएछ, मेरो कार्यकालमा यो बजारमा आउँदैन,” उनले बाह्रखरीसँग भने ।
अहिले चलिरहेको ५०० एमजी सिटामोल आफैँमा हाइ डोज भएको र ६५० एमजी मूल्य छल्नलाई मात्रै उत्पादन गर्न लागिएको उनको भनाइ छ ।
विभागले औषधि सल्लाहकार समितिको सिफारिसमा उत्पादन अनुमति दिएका नेसनल हेल्थ केयर, मारुती फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्सलाई ६५० एमजी सिटामोल उत्पादनको अनुमति दिइसकेको छ ।
६५० एमजीको प्रयोगबारे के भन्छन् चिकित्सक ?
स्वास्थ्यका हिसाबले सिटामोलका सबैखाले डोज उपलब्ध हुनु आवश्यक रहेको विज्ञहरुको धारणा छ । औषधि सल्लाहकार समितिको सदस्यसमेत रहेको एसोसिएसनका पूर्वअध्यक्ष डा. लोचन कार्की बिरामीको तौल र शारीरिक अवस्थालाई हेरेर सिटामोलको डोज निर्धारण गरिने बताउँछन् ।
केही व्यक्तिको तौलअनुसार ५०० एमजीको एक चक्की पनि कम हुने र दुई चक्की दिँदा बढी हुने अवस्था पनि आउने गरेको उनी सुनाउँछन् ।
“यस्तो अवस्थामा हामीले ५०० एमजीको डेढ चक्की खान सिफारिस गरिरहेका हुन्छौँ । ६५० एमजीको चक्की उपलब्ध भएमा यस्तो ग्याप नरहला भन्ने हाम्रो अपेक्षा हो” डा. कार्कीले भने ।
“जहाँसम्म शूल्कको विषय छ, कच्चा पदार्थदेखि उत्पादनसम्मको अवस्था र अन्तर्राष्ट्रिय बजारलाई समेत हेरेर सरकारले मूल्य निर्धारण, नियमन र नियन्त्रण गर्नुपर्यो । मूल्य कम भएर कालोबजारी हुनुभन्दा समसामयिक मूल्य राखेर सहज उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो,” उनले थपे ।
६५० एमजीको सिटामोलबारे अध्ययन हुनुपथ्र्यो
नेपाल औषधि लिमिटेडका पूर्वमहाप्रबन्धक मोहम्मद सफिउल्लाह ६५० एमजीको सिटामोल उत्पादन गर्ने सरकारको निर्णयलाई ‘आउट अफ सिलिङ’ (क्षमताभन्दा माथि) को रूपमा व्याख्या गर्छन् ।
“नेपालमा ६५० एमजीको सिटामोलबारे पर्याप्त अध्ययन नै भएको छैन र लिमिटेडले गरेका सर्भेहरूले पनि सिटामोलको आवश्यकता देखाएको छैन,” सफिउल्लाह भन्छन् ।
अधिकांश मुलुकमा ६५० एमजीको सिटामोल प्रयोगमा नभएकाले जनस्वास्थ्यका दृष्टिकोणले आवश्यक नरहेको बताए । उत्पादन अनुमति दिनुअघि पर्याप्त अध्ययन अनुसन्धान हुनुपर्ने उनको बुझाइ छ ।
“मूल्यको विषय आफ्नो ठाउँमा होला तर यी सबै तथ्यलाई हेर्दा अहिलेको हकमा ६५० एमजीको सिटामोल उत्पादन गर्नु आवश्यक देखिँदैन,” उनको भनाइ छ ।