site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक
Sarbottam CementSarbottam Cement

काठमाडौ । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई मंगलबार ऐतिहासिक पदक दिलाएकी छन् ।

चीनको हाङझाउमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कास्यपदक जित्दै इतिहास रचेकी हुन् । पलेशाले एसियाली पारा खेलकुदमा जितेको कास्य उनको मात्र नभइ नेपालकै निम्ति पहिलो पदक हो ।

नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझाउमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यसै (चौथो) संस्करणदेखि मात्र समावेश गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हाङझाउस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वार्टरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा भने पलेशा कजाखस्तानकी कामिल्या दास्मोलोभासँग १६–१० ले चुकिन् ।

सेमिफाइनलमा पराजित भए पनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो कास्यपदक भिडन्तमा पलेशाले बाई पाएपछि पदक निश्चित भएको पलेशाका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

Global Ime bank

पलेशाको स्पर्धामा नेपालसहित चीन, कजाखस्तान र इरान गरी चार राष्ट्रका पाँच खेलाडी सहभागी थिए । रिपेचेज चरणको दोस्रो कास्यपदक भिडन्त चीनका लिटिङ र युजी लीबीच भएको थियो । त्यसमा युजी लीले ८–१ अंकले बाजी मारिन् । युजी ली तिनै खेलाडी हुन्, जसले टोकियो पारा ओलम्पिक–२०२२ को कास्यपदक भिडन्तमा पलेशालाई पराजित गरेकी थिइन् । फाइनलमा इरानकी रोजा इब्राहिमीले कजाखस्तानकी कमिल्यालाई ३४–१५ ले पाखा लगाउँदै स्वर्ण चुमिन् ।

केही महिनाअघि मात्र पलेशा अध्ययनका लागि चीनको सांघाई गएकी थिइन् । उनी त्यत्तैबाट एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाउ पुगेकी हुन् ।

पलेशाले सन् २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कास्य विजेता २० वर्षीया पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक–२०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

त्यति बेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०–० र सर्बियाकी मारिजा मिसेभलाई २३–१५ ले हराउँदै चीनकी युजी लीसँग कास्यपदक भिडन्त पक्का गरेकी थिइन् । सो भिडन्तमा पलेशा १२–९ ले चुकेपछि पाँचौँ भएकी थिइन् । पलेशाले २०१८ मा काठमाडौंमा भएको दोस्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

जावलाखेलस्थित डीएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौँ भएकी थिइन् ।

काठमाडौं महानगरपालिका–२८, बागबजार निवासी पलेशाले २०१७ मा लन्डनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् । २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ भएकी पलेशाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।qfdg-1698158685.jpg

पदक जितेकामा खुसी लागे पनि अझ धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने आफूलाई लागेको उनले बताइन् । “पदक जितेकोमा खुसी छु । तर, योभन्दा अझै धेरै गर्न सक्थेँ । स्वर्ण नै जित्छु जस्तो लागेको थियो । मैले वेस्ट इफोर्ट पनि दिएकी हुँ,” उनले भनिन्, “यहाँ (सांघाई)मा आएको पनि धेरै भा’को छैन । नयाँ ठाउँ भएकाले ट्रेनिङमा पनि अलि सजिलो भएन । स्पाइरिङ पार्टनर पनि पाउन गाह्रो भयो ।”

ऐतिहासिक दिनमा जितेको ऐतिहासिक पदक राष्ट्रका निम्ति समर्पण गर्न चाहेको उनले उल्लेख गरिन् । दुई महिनाअघि सांघाई पुगेकी पलेशाले भनिन्, “खेल हो, कहिलेकाहीँ यस्तै हुन्छ । ऐतिहासिक विजयदशमीको दिन पदक जित्दा एकदमै खुसी छु । मैले पाएको पदक राष्ट्रका लागि समर्पण गर्न चाहन्छु ।”

टिम प्रशिक्षक लामाले सँगै तयारी प्रशिक्षण गराउन पाएको भए पलेशाले अझ राम्रो गर्न सक्ने बताए । “सँगै तयारी प्रशिक्षण गराउन पाएको भए अझ राम्रो नतिजा आउथ्यो होला । म पनि अलि अगाडि आएर पलेशालाई सांघाईमै प्रशिक्षण दिन पाएको भए योभन्दा राम्रो हुन्थ्यो कि भन्ने हो,” अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक लामाले भने, “पलेशा पदकको आशा गरिएकी खेलाडी पनि हुन् । आफ्नो चेलीले राष्ट्रलाई ऐतिहासिक पदक दिलाएकोमा ज्यादै खुसी छु । अब सम्बन्धित निकायले पेरिस पारालिम्पिकको तयारीका लागि समयमा नै ध्यान दिनुपर्छ । त्यसो हुने हो भने पारा ओलम्पिकमा पनि पदक टाडाको विषय हो जस्तो लाग्दैन ।”

नेपाली पारा तेक्वान्दोमा सफल प्रशिक्षक मानिने लामा एक्लैले २०१८ देखि पलेशालाई प्रशिक्षण दिइरहेका छन् ।

एसियाली पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् । तेक्वान्दोबाट सहभागी पलेशा एक्ली खेलाडी हुन् । अक्टोबर ८ तारिखमा हाङझाउमै सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक एक रजत र एक कास्यपदक जितेको थियो । एसियाड इतिहासमै पहिलोपटक नेपालका लागि एरिका गुरुङले कराँतेमा रजत र महिला कबड्डी टिमले कास्यपदक जितेको थियो ।

जुडो
जुडोमा नेपालबाट सहभागी एक्लो खेलाडी मनोज भट्टको पराजयसँगै चुनौती समाप्त भएको छ । एक्सएसएल जिम्न्याजिममा भएको पुरुष ७३ केजीमुनि जे वानको राउन्ड अफ १६ र रिपेचेजमा मनोज पराजित भएसँगै नेपालको चुनौती समाप्त भएको हो ।

एक्सएल जिम्न्याजियममा भएको राउन्ड अफ १६ मा इन्डोनेसियाका अहनाफ रफ्लीले मनोजलाई पराजित गरे । रिपेचेजमा इरानका महदी बोरक्लौले मनोजलाई हराए । दुवै प्रतिद्वन्द्वीसँग मनोज इप्पोनका आधारमा पराजित भए ।

ब्याडमिन्टन
ब्याडमिन्टनमा नेपाल पुरुष डबल्स एसयू–५ समूह ‘बी’मा पराजित भएको छ । मलेसियाका हाउ लिक चेह र फरिज मोहम्मद विन अनुरको जोडीले नेपालका प्रकाश अधिकारी र हेमबहादुर गुरुङको जोडीलाई २१–६ र २१–८ को सोझो सेटमा हरायो ।

टेबलटेनिस
टेबलटेनिसमा नेपालकी लाली तामाङ र विवेक राई मंगलबार पराजित भए । दुवै ३–० को सोझो सेटमा पराजित भएका हुन् ।

जिएसपी जिम्न्याजियममा भएको महिला सिंगल्स क्लास ४ को समूह ‘डी’ मा लालीविरुद्धको प्रतिस्पर्धामा थाइल्यान्डकी वासाना श्रृगमले तीनै सेट समान ११–१ ले आफ्नो पक्षमा पारिन् ।

पुरुष सिंगल्स क्लास ७ को समूह ‘डी’मा हङकङका लाम हिङ चोइले विवेकलाई ११–६, ११–७ र ११–७ ले हराए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय