site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
अखण्ड एनआरएनएका लागि मेरो उमेदवारी : आरके शर्मा
Sarbottam CementSarbottam Cement

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन अन्तरगत नेतृत्वका लागि ४ जना उमेदवार मैदानमा छन् । वर्तमान कार्यकारी अध्यक्ष बद्री केसी र रविना थापाका साथै उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठ चुनावी दौडमा छन् । 

आकांक्षीहरुले चुनावी अभियान तीव्र बनाइरहेका बेला हामीले अध्यक्षका उमेदवार आरके शर्मासँग चुनावी वार्ता गरेका छौँ । 

एनआरएनएलाई एकताबद्ध बनाउनेसहित २४ बाचा अघि सारेर चुनावमा होमिएका शर्मा सशक्त उमेदवारका रूपमा हेरिएका छन् । मध्यपूर्वको कतारका व्यवसायी शर्मा एनआरएनएभित्र इमानदार र बेदागी व्यक्तित्वका रूपमा चिनिन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसदेखि कम्युनिस्ट निकट विचारधारा राख्नेहरूलाई समेटेर टिम निर्माण गर्दै चुनावी अभियानमा होमिएका शर्मा आफूले चुनाव जित्नेमा ढुक्क देखिन्छन् । प्रस्तुत छ शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश–

–तपाईँ वर्तमान उपाध्यक्ष हुनुहुन्छ, अर्को कार्यकाल २०२३/२५ का लागि अध्यक्ष पदमा किन उम्मेदवारी दिनु भयो ?

Global Ime bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशनमा एउटा पक्ष संस्थाको लिगेसी धान्नुपर्छ भन्ने र अर्को राजनीतिक हस्तक्षेप गर्नुपर्छ भन्नेबीचको लडाईँका कारण संस्था नै फुटको संघारमा पुग्यो । त्यो अनुहार अहिले जताततै देख्न सकिन्छ । 

११औँ महाधिवेशनमा मेरो नेतृत्वमा दाबी किन भन्दा एउटा त म तपाईँले भनेजस्तै वर्तमान उपाध्यक्ष हुँ । त्यसकारणले पनि अब म अध्यक्षको स्वाभाविक प्रत्यासी हुँ ।  अर्को, अहिले पनि विगतको जस्तै खतरा देखिइरहेको छ । एउटा साथीहरू विल्कुलै राजनीतिको प्रयोग गरेर नेतृत्व हत्याउन खोजिरहनु भएको छ । 

एक किसिमको साथीहरूचाहिँ नीति नियमको डण्डाले ठोकेर मात्रै नेतृत्व हत्याऔँ भन्नेमा हुनुहुन्छ । 

मेरो सोचाइ के हो भने जसरी दसौँ महाधिवेशनमा एनआरएनए टुक्रियो त्यसलाई जोड्दै दुवै पक्षलाई सँगै डोहोर्याएर लैजानुपर्छ भन्ने हो । समृद्ध निर्माणको सवालमा, आर्थिक क्रान्तिका सवालमा एनआरएनएले अझै पनि धेरै गर्नु छ  । तसर्थ यो पवित्र संस्थालाई बचाउँदै भूईँमान्छेको एनआरएनए बनाउन मेरो अध्यक्ष पदमा उम्मेदवारी हो । श्रमिकको सवालका साथसाथै अखण्ड एनआरएनएका लागि पनि मेरो उम्मेदवारी हो । 

–अध्यक्षको रूपमा अघि बढ्दै गर्दा कस्तो एजेन्डा अघि सार्नुभएको छ ?
अध्यक्षका रूपमा मेरो कार्यकाल जम्मा २४ महिनाको हुन्छ । व्यवस्थितरुपले काम गर्न सकिएन भने समय त्यत्तिकै सकिन्छ भन्नेमा म सचेत छु ।  

त्यसैले, २४ महिनाका लागि २४ कार्यक्रमको खाका बनाएको छु । त्यतिमात्र होइन, प्रत्येक ३ महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि मैले राखेको छु। मेरो पहिलो एजेन्डा भनेकै एनआरएनएहरुबीचको एकता हो । 

मेरो नेतृत्वमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) गठन हुनेवित्तिकै गैरआवासीय नेपालीहरूलाई एकताबद्ध बनाउने अभियानमा लाग्नेछु ।  तसर्थ, मेरो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्नेछ । यो मेरो पहिलो प्रतिबद्धता हो । 

यसैगरी हाम्रो वैदेशिक रोजगारी सीपमा होइन, श्रममा आधारित छ । त्यसैले, त्रिभुवन विमानस्थलबाट नै वैदेशिक रोजगारीमा जानेलाई हेप्न थालिन्छ । 

तिनै श्रमिकले पठाएको विप्रेषणे अर्थतन्त्र धानेको छ भन्ने पनि भुलिन्छ । उनीहरूले जति श्रम बगाएका छन्, त्यसअनुसारको प्रतिफल पनि पाएका छैनन् । तसर्थ, श्रमिकको हितमा काम गरी पेसालाई सम्मानित बनाउने र तलब तथा सुविधा पनि थप बढाउने वातावरण बनाउने कार्यको पहलकदमी लिने प्रण गरेको छु ।

प्रवासी श्रमिकको आर्थिक स्थिति सुधार लाग्ने र रेमिट्यान्सको सही प्रयोगमा पहलकदमी पनि लिने मेरो बाचा छ । 

म आफैले १ हजार भन्दा बढी वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई समेटी एक अध्ययन गर्दा रेमिटेन्स रकमको ७५ प्रतिशत भन्दा बढी रकम उपभोगमा प्रयोग गरिएको देखियो । विप्रेषणले प्रवासी कामदारको भविष्य सुरक्षित गरेको छैन । 

घरमा पठाइएको १० प्रतिशत रकम बचत गर्न लगाइ उत्पादनमूलक उद्यममा लगानी गर्ने व्यवस्था मिलाइ कामदारको भविष्य सुरक्षित गर्ने र देश विकासमा योगदान व्यवस्था मिलाउन पहल गरिनेछ । 

गैर आवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन गर्ने, सांगठनिक पुनरसंरचन गर्ने, संस्थागत सुशासनमा शून्य सहनशीलताको नीति लागू गर्ने, खर्चिलो र भड्किलो हुने निर्वाचन प्रणालीलाई मितव्ययी बनाउने, आर्थिक कूटनीति र लगानी प्रवर्द्धनको कार्यक्रम सञ्चालन गर्ने, सम्बन्धित देशका एनसीसीले नेपालमा लगानी गर्न वातावरण सिर्जना गर्ने, विदेशमा बहुराष्ट्रिय कम्पनीको उच्च पदमा कार्यरत नेपालीहरु मर्फत नेपालमा लगानी भित्र्याउन पहल गर्ने मेरो बाचा छ । 

अधिकारसम्पन्न एनसीसी बनाउने, विदेशबाट फर्किएलाई स्वरोजगार कार्यक्रम सञ्चालन गर्नेजस्ता मेरा २४ बाचा छन् । यी बाचालाई पुरा गर्ने संकल्प मेरो छ । 

–२४ महिनामा २४ बाचा पूरा गर्ने प्रतिबद्धतका साथ चुनावी मैदानमा रहेको त भन्नुभयो, यो बाचापत्र कार्यान्वयन हुन्छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ ?

मैले कल्पना गरेका हरेक कार्यक्रम लागू गर्नका लागि सुरु मिति र कार्यक्रम सम्पन्न हुने अन्तिम मिति सहितको समय तालिका र कार्य सम्पादन सूच  उल्लेख गरिएको योजना बनाएर बनाएर कार्यान्वयनमा लैजान्छु । 

योजना कार्यान्वयन पश्चात् भएको प्रगति विवरण त्रैमासिकरुपमा आइसीसी पदाधिकारी तथा कार्यसमितिलाई उपलब्ध गराइनेछ । त्यसका अतिरिक्त उत्कृष्ट कार्य गर्ने कर्मचारी, पदाधिकारी, समन्वय परिषद् सदस्य, एनसीसी, कार्यदल आदिलाई पुरस्कृत/वा सम्मान गर्ने व्यवस्था मिलाइनेछ । म कम बोल्ने र बोलेको काम फत्ते गर्ने स्वभावका हुँ । मैले जति एजेन्डा उठाएको छु, पुरा गरेरै छाड्छु ।

–नेपालमा पुँजी भित्र्याउने, कोष खडा गर्ने भनेर चुनावी एजेन्डा आउन थालेको धेरै भयो । तर, निर्वाचनपछि परिणाम ननिस्किने समस्या पनि छ नि ?

एनआरएनएले केही गर्दै गरेर भनिनुचाहिँ सर्वथा गलत छ । गलत यस कारण कि एनआरएनएहरुकै एक अर्ब लगानी नेपालमा भित्रिएको छ ।  परोपकारी काममा संस्थागत च्यालनबाटै एक खर्ब खर्च गरिएको छ । देश विदेशका सुखदुःखमा एनआरएनए अग्र मोर्चामा रहेको छ । यो त कुनै चुनावको बेलामा मात्रै भएको होइन नि । 

तर, यति भन्दैमा सबै ठिकठाक भन्न खोजेको होइन । संस्थामा विभिन्न समस्या हुन सक्लान् ती समस्याको सम्बोधनको एजेन्डासहित म नेतृत्वको रूपमा अगाडि आएका हुन् । सबै समस्यालाई समाधान गर्दै देशमा लगानी भित्र्याउन, आर्थिक समृद्धिमा योगदान दिन पहलकदमी हुनेछ । 

–तपाईँमाथि मध्यपूर्वको मात्रै एजेन्डा बोकेको आरोप छ नि ? के तपाईँले विश्वभरका एनआरएनए नभएर क्षेत्रीय एजेन्डा बोकेकै हो त ?

यो सवालमा मैले धेरै पटक भनिसके । मेरो २४ महिनामा गर्ने २४ कामको बाचा पत्रमा पनि स्पष्ट संसारभरका एनआरएनएको मुद्दा समेटिएको छ ।  तर, मध्यपूर्वबाट उम्मेदवार भएको भन्दै सत्यलाई लुकाएर भ्रम फैलाउने कार्य पनि भएका छन् । 

नागरिकताका लागि, सामाजिक सुरक्षा कोषका लागि, गोर्खाजका ईश्युमा को बोलेको छ ? विद्यार्थीको इश्यु कसले बोलेको छ ? म्यानमार र थाइल्याण्ड जस्ता देशमा रहेका नेपाली मूलका नेपालीहरूको इश्यु कसले बोलेको छ ? रेमिटेन्स भन्दै सधैँ धक्कु लगाउँदै गर्दा ७० प्रतिशत रेमिट्यान्सको भार कसले ओगटेको छ ? मध्यपूर्व मलेसिया, कोरिया होइन र ? 

देश निर्माणमा त्यो क्षेत्रको महत्त्वपूर्ण योगदान छ । मेरो नेतृत्व भनेको समग्र विश्वमा रहेका विज्ञान, इन्जिनियर र अमेरिका तथा युरोमा रहेका दाजुभाइ तथा दिदीबहिनी, मलेसियामा रहेका र मध्यपूर्वमा रहेका समग्र नेपालीको हो । 

–एनआरएनएमा राजनीति हाबी भयो भनिन्छ, तपाईँले यसलाई कसरी लिनुभएको छ ?
संस्थामा राजनीति हुन हुँदैन । जोकोहीको आ–आफ्नो राजनीतिक आस्था हुनसक्छ । त्यसलाई ढोकैमा छाडेर संस्थाभित्र पस्नुपर्छ भन्नेमा म स्पष्ट छु ।  तर, एनआरएनएले राजनीतिक दलहरूसँग नै सहकार्य गर्ने भएकाले दूरी कायम गर्दै सकारात्मक नतिजाका लागि पहलकदमी लिनु भने स्वाभाविक हुन्छ । 

–तपाईँलाई माओवादीको उमेदवार पनि भनिन्छ नि ? 

यो आरोप शतप्रतिशत झुट हो । एनआरएनएको पवित्र अभियानमा १७ वर्ष लाग्दै गर्दा मैले पूर्वमन्त्री कमल थापादेखि अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँगसम्म सहकार्यको मौका पाएको छु । 

नागरिकता, सामाजिक सुरक्षा कोषलगायत सबै राजनीतिक दलसँग बराबर सहकार्य गरेको छु । म कुनै पनि राजनीतिक दलको सक्रिय कार्यकर्ता होइन । सबै राजनीतिक दलको साझा मान्छे हुँ । मलाई सबै दलको सद्भाव छ, उहाँहरूले तपाईँ अघि बढ्नुस् भने शुभेच्छा प्रकट गर्नुभएको छ । 

–एनआरएनएको चुनाव खर्चियो भएको भनिन्छ, कति खर्च गर्दै हुनुहुन्छ ?

स्वाभाविक रुपमा चुनाव खर्चिलो नै देखिन्छ । विश्वभरका एनआरएनएहरू नेपाल आउँदा सबैको खर्च हुन्छ नै । 

खर्चका साथसाथै आपसी भेटघाट र आत्मीयता पनि हुने भएकाले यो पनि सकारात्मक पाटो हो । खर्चिलो र भड्किलो हुने निर्वाचन प्रणालीलाई मितव्ययी बनाएर लैजानेबारे मैले आफ्नो बाचापत्रमै समेटेको छु । 

डेलिगेट्सको सट्टा पञ्जिकृत सदस्यले नेतृत्व चयन गर्ने, अनलाइनबाट भोट गर्ने र राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन एकै दिन गर्ने र कार्यसमितिलाई समावेशी बनाउने नीति बनाउने गरी लाग्नेछु । 

मेरो हकमा भन्नुहुन्छ भने अरूले भन्दा कम खर्च गरेको छु । विश्वभरका एनआरएनएहरूले मेरो उम्मेदवारीप्रति समर्थन गर्नुभएको छ, खर्च भन्दा पनि बढी उत्साह देखिएको छ । 

–पछिल्लो समय चुनावको बेलामात्रै एनआरएनएको चहलपहल हुन्छ, एनआरएनएको आन्दोलन गन्तव्यबाट विचलित भएको हो ?

मैले अघि पनि भनेँ । एनआरएनए आन्दोलनबाटै नागरिकताको मुद्दा सम्बोधन भएको छ । विदेशबाटै मताधिकारको व्यवस्था हुँदै छ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओको व्यवस्थादेखि सामाजिक सुरक्षा कोषलगायत विषय एनआरएनए आन्दोलनको पनि एक हिस्सा हो । 

देशमा र देशबाहिर नेपालीलाई समस्या पर्दा एनआरएनए अग्र मोर्चामा रहेको छ । संस्था विचलित होइन चलायमान र सशक्त बन्दै गएको छ । खाली भएका केही समस्याको समाधान गर्दै संस्थालाई थप चलायमान बनाउने एजेन्डाका साथ अघि बढेको हुँ । 

–पहिलोपटक मध्यपूर्वबाट तपाईँ अध्यक्षको उम्मेदवारको रूपमा अघि बढ्दै गर्दा जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

चुनाव जित्नेमा म विश्वस्त छु । तर, म अझ के चाहन्छु भने सहमतिमै नेतृत्व चयन गरौँ । अझै पनि सहमति हुने विश्वास छ ।  एनआरएनएको २० वर्षको इतिहासमा ३० लाख भन्दा धेरै नेपाली रहेको मध्यपूर्वले नेतृत्व पाएको छैन । 

यो पटक मध्यपूर्वलाई नेतृत्व दिन प्रतिस्पर्धी साथीहरू तयार हुनुपर्छ । उहाँ तयार हुनुहुन्न भने लोकतान्त्रिक प्रक्रियाबाट स्वाभाविक रूपमा नेतृत्व चयन हुन्छ । 

मध्यपूर्वमात्रै होइन अमेरिका युरोप र विश्वभरका एनआरएनए अभियन्ताहरूबाट प्राप्त प्रतिक्रिया र समर्थनले उत्साहित छु । सर्वसम्मत नभएमा पनि भारी मतका साथ विजयी हुन्छु भन्नेमा ढुक्क छु । 

–अन्तिममा के भन्न चाहनु हुन्छ ?

आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू । एकताबद्ध एनआरएनए र समृद्ध नेपाल निर्माणको एजेन्डासहित अध्यक्ष पदमा रहेको मेरो उम्मेदवारीलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।  २४ महिनाको कार्यकालमा व्यवस्थितरुपले काम गरेर संस्थालाई बलियो, पारदर्शी र सशक्त बनाउन लागिपर्नेछु । यहाँहरू सबैको अमूल्य मत प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement