site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजसंस्थाको एजेन्डा बोक्ने ‘अतिवादी’कै कारण जनता परिवर्तन भएनन्
फाइल तस्बिर

कमल थापा नेपाली राजनीतिका ‘चतुर’ खेलाडी हुन् । करिब पाँच दशक नेपाली राजनीतिमा बिताएका थापा राजसंस्थावादी नेता हुन् ।

आफ्नो पार्टीको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको सचिवालयका सदस्यले अनावश्यक हस्तक्षेप गरेर आफूलाई पाखा लगाउने प्रयास गरेको भन्दै आफ्नो कार्यनीतिमै राजसंस्थाको एजेन्डा समावेश गरेनन् ।

कार्यकर्ताको दबाब, नेपालको बदलिँदो राजनीतिक परिस्थिति, गणतन्त्रवादीको उपेक्षाका कारण थापा फेरि पुरानै ‘लिगेसी’लाई कायम राख्दै अघि बढेका छन् ।

उनी नेपालको राजनीतिक अवस्था हेर्दा फेरि पनि आफ्नो एजेन्डा पूरा हुनेमा विश्वस्त देखिन्छन् । उनी राजासहितको प्रजातन्त्रको पक्षमा आफू दृढताका साथ लागेको बताउँछन् । प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर बाह्रखरीले थापासँग गरेको कुराकानीको सम्पादित अंश–


– पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ? राजनीतिक घटनाक्रमले केही संकेत गर्दैछन् ?

देशको अवस्था हेर्दा ठूलो र महत्त्वपूर्ण राजनीतिक परिवर्तन २०६३ लाई ध्यानमा राख्नुपर्छ । त्यसबेला जुन राजनीतिक परिवर्तन भयो । त्यो मुलुकको बृहत्तर हितलाई ध्यानमा राखेर भएको थिएन ।

माओवादीले जनयुद्ध सुरु गर्दा पनि जुन माग प्रस्तुत गरेको थियो, ती धेरै भारतसँग जोडिएका थिए । पछि भारतसँगै एक प्रकारले सहयोग लिएर माओवादी शान्ति प्रक्रियामा आयो ।

२०६३ सालमा जुन राजनीतिक परिवर्तन भयो, त्यसको निम्ति जुन ‘भाष्य’ तयार गरिएको थियो, त्यो सही थिएन ।  मुलुकको रोग, भोक, अशिक्षाका कारक भनेकै राजा, राजसंस्था, हिन्दू धर्म र एकात्मक राज्य प्रणाली भन्ने न्यारेटिभ नै गलत थियो ।

त्यही गलत ‘न्यारेटिभ’का कारण अहिलेको राजनीतिमा समस्या देखिएका हुन् ।

– पूर्वराजाको पक्षमा केही माहोल देखिएको छ, यो क्षणिक हो कि, यसले आन्दोलनको रुप पनि लिन सक्ने देख्नुहुन्छ ?

जुन किसिमको वातावरण देखापरेको छ, यसले आमजनतामा यतिखेरका अस्तव्यस्तताका कारण व्यवस्था र नेतृत्त्वप्रति तीव्र वितृष्णा छ ।

व्यवस्थाले जस्तो परिणाम दिन्छ भनेर जनतालाई आश्वासन दिइएको थियो, त्यसमा राजनीतिक दलहरु असफल भए ।

अर्कोतिर नेताहरु भ्रष्ट हुँदै गए । वितृष्णाको कारणले जनताले विकल्प खोजिरहेका छन् । विकल्प भनेको राजासहितको प्रजातन्त्र नै हो भन्ने देखापरेको छ । 

–अब पनि राजतन्त्रसहित प्रजातन्त्रको सम्भावना छ ? आन्दोलनको पनि सम्भावना पनि छ र ?

मैले जनु किसिमको गणतन्त्रप्रति अन्त्यन्तै भावनात्मक लगाव र राजतन्त्रप्रतिको वितृष्णा थियो । त्यो चाहिँ यतिखेर धेरै ‘सफ्ट’ हुँदै गएको मैले पाएको छु ।

परिवर्तनकारी शक्तिको सोचाइमा केही सुधारोन्मुख प्रवृत्ति देखिनु, आमजनतामा यो १७ वर्षको बीचमा परिवर्तनको अनुभूति नहुनु, पूर्वराजाबाट पनि पुनःस्थापनाको चाहना व्यक्त भएको छ । ढिलो चाँडो पुनःस्थापना होला जस्तो लाग्छ ।

– नेपालमा राजनीतिक परिवर्तनका लागि अन्तर्राष्ट्रिय दबाब आवश्यक पर्छ पर्दैन, जोडिन्छन् कि जोडिँदैनन् ?

अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल बढेर गएको छ । त्यसकारणले आगामी परिवर्तनमा पनि चिन्ता र चासो हुन्छ नै ।

–तपाईं आफैँले राजतन्त्र त्यागिदिनुभएको थियो, फेरि अंगाल्न लाग्नुभयो, किन ?

राजसंस्था पुनःस्थापनाको एजेन्डालाई कार्यनीति नबनाउने मैले एउटा निर्णय गरेको थिएँ, त्यसको मुख्यकारण भनेको साझा अविभावकीय भूमिकामा आघात पुगेपछि कार्यनीति नबनाएकै हो । राजसंस्थाप्रतिको आस्था कायमै थियो ।

मेरो व्यक्तिगत चिन्ता, चासो र चित्त दुखाइभन्दा पनि मुलुकको आवश्यकता हो जस्तो लाग्यो । फेरि मेरो राजनीतिक लिगेसी राजासहितको हिन्दू राष्ट्र नै हो ।

राजनीतिक उत्तरार्धतिर परिवर्तन गर्नुपर्ने राजनीतिक धरातलीय अवस्था देखिन । यो डेढ वर्षको बीचमा पार्टीका कार्यकर्तामा राजसंस्थाको एजेन्डा बोकौं भन्ने चाहना देखियो ।

चौथो कुरा पनि जोड्न सकिन्छ– म वास्तवमा राजाको एजेन्डा बोकेर हिँड्ने प्रतिकूल अवस्थामा पनि पहिलो व्यक्ति हुँ ।

मजस्तो व्यक्तिले राजसंस्थाको एजेन्डालाई स्थगित गरेर कार्यनीतिक एजेन्डा नबनाएको बेलामा पनि गणतन्त्र पक्षधरबाट सकारात्मक प्रोत्साहनको कुरा त परै जाओस् सामान्य ‘नोटिस’मा लिने कामसम्म पनि भएन ।

त्यसकारणले यो गलत बाटो रहेछ भन्ने लाग्यो । एकातिर शुभचिन्तक दुःखी छन् । अर्कोतर्फ मूल सम्वाहक नै परिवर्तन हुन खोज्दा पनि कतैबाट सहयोग भएन ।

– राजासहितको प्रजातन्त्रको बाटो तपाईंले कस्तो देख्नुभएको छ ? कि लामो समय राजसंस्था भनेर हिँडियो अब किन छोड्नु भन्ने लागेर हो ?

त्यो चाहिँ होइन । मूल कारण देशको अवस्था नै हो । मलाई चाहिँ के लाग्छ भने जुन किसिमको वितृष्णा जनतामा देखिएको छ । जनताले विकल्प खोजिरहेको छ । 

जनताको माझमा राम्रोसँग अवधारणा पु¥याउन सक्यौँ भने यो पुनःस्थापना हुन सक्छ । राजसंस्थाको विपक्षमा हुनेहरुको आक्रोश र असन्तुष्टि भनेको निरंकुशताको विरुद्धमा नै हो । 

विगतमा जुन घटना भए, राजाबाट जुन कदम चालियो । त्यसको यस्तो सन्देश गयो कि राजसंस्था प्रजातन्त्रको पक्षमा हुनै सक्दैन । 

फेरि मौका दिइयो भने प्रजातन्त्र मास्ने काम हुन्छ भन्ने किसिमको मानसिकताले जरो गाडेको छ ।

त्यसमा केही सत्यता पनि होला । बहस गर्न पनि सकिन्छ । तर हामीले यदि त्यस्तो विचार राख्नेहरुलाई चित्त बुझाउन सक्यौँ भने अर्थात् राजाले भविष्यमा प्रजातन्त्र मास्ने काम गर्न सक्दैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।

राजालाई संसद्को नियन्त्रणमा, संविधानको परिधिभित्र र एउटा प्रजातन्त्रको बृहत् मान्यताभित्र रहने संस्थाको रुपमा कायम गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सकिए । 

नकारात्मक धारणा राख्नेलाई पनि ठीक बाटोमा ल्याउन सक्छौँ । 

राजा चाहिन्छ भन्नेभित्रै अतिवादी प्रवृत्ति देखिएको छ । त्यो अतिवादी प्रवृत्तिले गणतन्त्र पक्षधर समूहलाई ‘कन्भिन्स’ गर्न सकिरहेको छैन ।

पहिलो च्यालेन्ज त्यो हो । पूर्वराजाले पनि विश्वसनीय वातावरण तयार पार्न सक्नुपर्छ । 

अर्को कुरा पूर्वराजालाई पाखा लगाएर राजनीतिक अभ्यास गरेको पनि डेढ दशक भयो । राष्ट्रपति प्रणालीको अभ्यासमा पनि सन्तुष्ट हुन सक्ने आधार छैन । हालसम्मका तीनैजना राष्ट्रपतिले पार्टीको छायामा काम गर्नुभएको छ ।
दलको प्रभावबाट मुक्त हुन सक्नुभएन । त्यो अवस्थामा देशलाई राष्ट्र प्रमुख चाहिन्छ नै । 

अहिलेको देशको अवस्था हेर्दा पनि मनपरीतन्त्र देखियो । 

यस पछाडिको कारण ‘मोरल अथोरिटी’ भएन । मर्यादा र अनुशासन नै भएन । 

–तपाईंले चिनेका ‘राजा’बाट आफैं वातावरण बनाउने काम होला ?

अलि अगाडिसम्म धेरै आश्वस्त थिइनँ । तर पछिल्ला वर्षमा केही परिवर्तन हुँदै आएको छ । राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने, प्रजातन्त्र आदर्शको रुपमा रहने भन्ने कुरा व्यक्त भइरहेको छ ।

त्यो ‘रियलाइजेसन’ पूर्वराजा ज्ञानेन्द्रमा भएको हो कि भन्ने अनुमान गर्न सक्छु ।

– राष्ट्रपतिले नसकेको होला, पूर्व राजाले पनि नसकेको त हो नि ! तपाईंको सानो पार्टीभित्रै खेलिदिने पूर्व राजाले भोलि व्यवस्थामाथि फेरि खेल्न सक्दैनन् र ?

मैले त्यही कारणले नै कार्यनीतिक एजेन्डा नबनाएको हो ।

तर, पूर्वराजा र राजसंस्थामा पनि त्यो ‘रियलाइजेसन’ भएको महसुस गरेको छ । पूर्वराजाबाट जुन कदम चालियो, त्यो ‘रियलाइजेसन’ भएको पाएको छु । २०६१ सालमा चालेको कदम असल नियतले नै हो, मुलुकमा पञ्चायती व्यवस्था फर्काउँ भन्ने उद्देश्य थिएन । 

पटक पटक चुनाव हुन नसकेको अवस्थामा केही वर्षमा शान्ति स्थापना गरेर, चुनाव गरेर जनताको नासो जनतालाई नै सुम्पिने मनसाय थियो । त्यो सफल हुन सकेन । असल नियतले गरेको कदमका बारेमा, जनता र नागरिक समाजलाई बुझाउन सकिएन । 

अन्तर्राष्ट्रिय समुदायको पनि सकारात्मक विश्वास जित्न सकिएन । त्यो घटनाबाट पनि राजाले पाठ सिकेको जस्तो लाग्छ । सबै पक्षबाट केही न केही कमी कमजोरी र गल्ती भए । 

दलबाट पनि भए त्यसबाट पाठ सिकेर नयाँ साझेदारीको विकास गर्नु देशको लागि उपयुक्त हुन्छ । वातावरण मैले देखिरहेको छु । काठमाडौंमै पनि जुलुस गरेर हेरिसकेको छु । विस्तारै जनता सडकमा आउन लागेका छन् ।

काठमाडौंमा निरन्तर ५० हजार जनता उतार्न सक्यौँ भने सडकको दबाबले राजसंस्था र हिन्दूधर्म पुनस्थापित गर्न सकिन्छ । तर त्यो शान्तिपूर्ण हुनेछ । हिंसात्मक बाटो रोज्नुहुँदैन ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro