site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । 

नेपालले आइतबार मलेसियामा भएको खेलमा बहराइनविरुद्ध सात विकेटको सहज जित निकालेको हो । मलेसियाको क्वालालम्पुरस्थित बयुमस ओभलमा सम्पन्न खेलमा बहराइनले प्रस्तुत गरेको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । 

नेपालको जितमा अर्जुन कुमाल र कप्तान देव खनालले समान ३२ रन जोडे । १०–३ को नाजुक अवस्थामा यी दुईले चौथो विकेटका लागि ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् । यसबाहेक अन्य तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बहराइनका अनास ओभाइद सयेदले तीन विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाएर ७७ रनको योगफल खडा गरेको थियो ।

बहराइनका मुहम्मेद बसिलले ३४ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बहराइनका पाँच ब्याटर शून्यमा पभेलियन फर्किएका थिए । 

नेपालबाट घातक बलिङ गरेका दीपेश कँडेलले ६ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले आठ मेडन राख्दै चार रनमात्र खर्चिए । यस्तै, दुर्गेश गुप्ताले चार विकेट लिए । 

नेपालले यसअघि पहिलो खेलमा इरानलाई २७४ रनको जित निकालेको थियो ।

प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् । 

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टिम पाकिस्तानमा हुने तालिका रहेको यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro