काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई पारित गरेको छ । समितिले बुधबार व्यक्तिगत बचतको सीमालाई हटाएर विधेयक पारित गरेको हो ।
“सर्वदलीय सहमतिमा बचत सीमा हटाएर विधेयक पूर्ण सहमतिमा पारित गरेका छौँ,” समितिका सदस्य जीवन परियारले भने ।
उपसमितिले प्रतिवेदनमा ‘विधेयकमा सहकारी ऐन, २०७४ को दफा ५२ मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुने गरी प्रस्ताव भएको विषय’मा सहमति जुटाउन नसकिएको बताएको थियो । सहमति जुटाउन कानुनमन्त्रीसहित समिति सभापति, कांग्रेस, एमाले, रास्वपाका सचेतकहरू बसेर सहमति जुटाउने प्रयास गरेका थिए ।
तर, सहमति जुट्न नसकेपछि बचत सीमालाई हटाएर विधेयक पारित गरिएको हो ।
यस्तै, क्यासिनो खोल्ने विषयमा पनि सहमति जुटेको छ । क्यासिनो अन्तर्राष्ट्रिय सीमाभन्दा करिब पाँच किलोमिटर दुरीमा खोल्न अनुमति दिने सहमति भएको छ ।
आउने प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरिने परियारले जानकारी दिए ।