site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय आपत्‌कालीन उद्धारमा नेपालको अनुभव–पहिले तथ्यांक जुटाउनै हम्मेहम्मे, ढिलै भए पनि फत्ते 
SkywellSkywell

काठमाडौं ।  नेपाल सरकारको सम्पूर्ण ध्यान इजरायलमा रहेका नेपाली विद्यार्थी र कामदारमाथि केन्द्रित छ । 

प्यालेस्टिन चरमपन्थी समूह हमासले शनिबार अचानक इजरायलको दक्षिण भू–भागमा आक्रमण गरेपछि यस्तो अवस्था सिर्जना भएको हो ।  हमासको आक्रमणमा परी १० जना नेपाली मारिएका छन् । 

चारजना घाइते भएका छन्, जसको उपचार इजरायलका अस्पतालमा भइरहेको छ । एक जना बेपत्ता छन् । प्यालेस्टिनको गाजासँग सीमा जोडिएको इजरायली क्षेत्रमा हमासले आक्रमण गरेको थियो । 

KFC Island Ad
NIC Asia

उक्त क्षेत्रमा कृषि विषयमा ११ महिने इन्टर्न गरिरहेका ४९ जना नेपाली विद्यार्थी थिए । तीनै विद्यार्थीमध्ये १० जना मारिएका हुन् । उक्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न र त्यसपछि उनीहरुलाई नेपाल ल्याउन परराष्ट्र मन्त्रालय लागिरहेको छ । 

सोमबारसम्म आफूहरुलाई उद्धार गरी स्वदेश फर्काउन अनुरोध गर्ने इजरायलमा रहेका नेपालीको संख्या २०० नाघेको छ । उद्धारका लागि अनुरोध गर्ने नेपालीको संख्या बढ्दै जानेछ । इजरायलमा ‘केयर गिभर’का रुपमा काम गर्न जाने र अध्ययन गर्न जाने नेपालीको संख्या करिब ५ हजार छ ।

Royal Enfield Island Ad

यीमध्ये कति नेपाली स्वदेश फर्कन चाहन्छन् केही दिनमै स्पष्ट हुनेछ । नेपालीको उद्धारका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग पनि अनुरोध र समन्वय गरिरहेको छ ।  अचानक आइपरेको यो आपत्बाट पार पाउन सरकारलाई केही दिन लाग्ने देखिन्छ ।  

नेपाल सरकारले यस्ता खालका आपत् भोग्नुपरेको यो पहिलो घटना भने होइन ।  यसअघि थुप्रैपटक विभिन्न देशमा अकस्मात् संकट आइपर्दा त्यहाँ रहेका ठूलो संख्यामा नेपालीलाई आपत्‌कालीन उद्धार गर्नु परेको थियो । 

पछिल्ला १३ वर्षमा यस्ता आपत् नेपालले धेरै पटक खेपेको छ र आफ्ना नागरिकलाई सुरक्षित रुपमा फर्काएको पनि छ । 

लिबिया संकट
सन् २०११ मा लिवियाका तत्कालीन शासक कर्णेल मुअम्मर गद्दाफीविरुद्ध आन्दोलन चर्किएपछि त्यहाँ कार्यरत १५ सय बढी नेपालीलाई सरकारले उद्धार गरी ल्याएको थियो ।  गद्दाफीविरुद्धको आन्दोलन हिंसात्मक बनेपछि त्यहाँ रहेका नेपालीलाई फेब्रुअरीको अन्तबाट उद्धार गर्न सुरु गरिएको थियो ।  

सुरुमा त लिबियामा कति नेपाली कार्यरत छन् भन्ने तथ्याङ्क जुटाउन सरकारलाई हम्मेहम्मे परेको थियो । परराष्ट्र मन्त्रालयको प्रयासपछि १ हजार ५ सयभन्दा बढी नेपाली रहेको खुलेको थियो । इजिप्टस्थित नेपाली दूतावासले लिबियाको त्रिपोली, बेङ्गाजीलगायतका सहरबाट सुरुमा नेपालीलाई नजिकको सुरक्षित स्थान इजिप्ट र सुडानमा लगेको थियो । त्यसपछि नेपाल पठाएको थियो ।  

त्यतिबेला चिनियाँ कम्पनी ‘सिनो हाइड्रो’मा कार्यरत ७ सय ४६ जनालाई सुडान लगी त्यहाँबाट उद्धार गरिएको थियो । 

लिवियाको घाटबाट उद्धार गरी उनीहरुलाई सुडान लगिएको थियो । उनीहरुलाई तीनवटा जहाज चार्टर्ड गरी काठमाडौं ल्याइएको थियो । यसमा सिनो हाइड्रोले सघाएको थियो । लिबियाको डोर्ना सहरस्थित कोरियाली निर्माण कम्पनीमा काम गर्ने ५ सय ६२ जनालाई उद्धार गरी सीमा नजिकको इजिप्टको नवौं ठूलो सहर सलुममा लगिएको थियो ।

त्यहाँबाट त्यही कम्पनीको सहयोगमा उनीहरुलाई काठमाडौं ल्याइएको थियो । केही दिनको अन्तरालमा परराष्ट्र मन्त्रलाय, इजिप्टस्थित नेपाली दूतावास र वैदेशिक रोजगार व्यवसायी संघको पहलमा १ हजार ५ सय नेपालीलाई लिबियाबाट उद्धार गरी काठमाडौं ल्याइएको थियो । 

इजिप्टस्थित नेपाली दूतावासका तत्कालीन प्रथम सचिव तीर्थ अर्याल लिविया गई नेपालीहरुको उद्धारमा खटिएका थिए । उद्धार गरिएका नेपालीको खानापानका लागि सरकारले तत्कालै ३० हजार अमेरिकी डलर दूतावासलाई पठाएको थियो । 

जापान भूकम्प 
सन् २०११ को मार्चमा जापानमा ९ म्याग्निच्युडको विनाशकारी भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो । भूकम्पपछि सुनामी आएको थियो । एउटा आणविक ऊर्जा केन्द्र विस्फोट भएको थियो । महाभूकम्प, सुनामी र आणविक ऊर्जा केन्द्र विस्फोटले धेरैलाई प्रभावित गरेपछि नेपालले तत्कालै त्यहाँ रहेका नेपालीको उद्धार गर्नु परेको थियो । 

भूकम्पग्रस्त क्षेत्र सेन्दाई र आणविक विस्फोट भएको क्षेत्र फुकुसिमाबाट ९२ जना नेपालीलाई उद्धार गरी राजधानी टोकियो लगिएको थियो । यो काम टोकियोस्थित नेपाली दूतावासले गरेको थियो । सेन्दाईबाट ५२ र फुकुसिमाबाट ४० जनाको उद्धार गरिएको थियो । 

फुकुसिमा र सेन्दाई क्षेत्रबाट नेपालीको उद्धार गर्न जापान सरकारले यातायातका साधन, आर्थिक सहयोग वा आश्रयस्थल उपलब्ध गराउन नसक्ने बताएपछि दूतावासले आफ्नै पहलमा उनीहरुलाई टोकियोतर्फ लगेको थियो । 

फुकुसिमामा रहेका चारवटा आणविक ऊर्जा केन्द्रमा भएको विस्फोटपछि फैलिएको विकीरणले टोकियोसम्म हानि गर्ने सूचना त्यहाँको सरकारले दिएलगत्तै नेपाली दूतावास ओसाका सरेको थियो । 

फुकुसिमामा रहेका आणविक ऊर्जा केन्द्रमा विस्फोट हुँदा प्रतिघन्टा ४ सय मिलिसिभेर्ट्स विकीरण उत्पन्न भइरहेको जनाइएको थियो । हानिकारक विकीरण तीव्र गतिमा निस्किएपछि जापान सरकारले विस्फोटन स्थलदेखि ४० किलोमिटर वरपरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको थियो ।

बहराइनको आन्दोलन 

सन् २०११ को मार्चमा खाडी राष्ट्र बहराइनमा आन्दोलन चर्किएको थियो ।  बहराइनमा ७० प्रतिशत सिया र ३० प्रतिशत सुन्नी मुसलमान छन् । सुन्नीले बहुसंख्यक सियामाथि शासन चलाउँदै आएपछि सियाहरूले सामाजिक तथा राजनीतिक सुधारको माग राख्दै एक महिनादेखि आन्दोलन गर्दै आएका थिए ।

सिया र सुन्नीबीच झडप बढेपछि बहराइन सरकारले छिमेकी राष्ट्रसँग सैनिक सहयोग मागेको थियो । साउदी अरबबाट १ हजार, युनाइटेड अरब इमिरेट्सबाट ५ सय सेना बहराइन पुगेका थिए । आन्दोलन दबाउन छिमेकी राष्ट्रबाट सैनिक आएपछि विदेशीले त्यहाँ रहेका आफ्ना नागरिकलाई उद्धार गरी लैजान सुरु गरेका थिए । 

सिया र सुन्नी मुस्लिम समुदायबीच भिडन्त बढ्दो क्रममा थियो ।  त्यतिबेला बहराइनमा ३० देखि ४० हजार नेपाली कार्यरत थिए । साउदी अरबस्थित नेपाली दूतावासले बहराइन हेर्ने गर्थ्यो ।  भिडन्तका कारण नेपालीहरु बाहिर निस्कन सकेका थिएनन् । 

हवाई उद्धार गर्न विमानस्थलसम्म ल्याउन पनि कठिन थियो ।  सामान्य पसल, ठूला सपिङ कम्प्लेक्स र बैंक बन्द रहेकाले किनमेल सहज थिएन ।  यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीलाई खानेकुराको जोहो गरी सुरक्षित राख्न नेपाल सफल भएको थियो । 

इराक– सुन्नी आक्रमण

सन् २०१४ मा इराकमा विद्रोही सुन्नी समूह र सरकारी सेनाबीच द्वन्द्व चर्किएको थियो ।  विद्रोहीले धेरै भू–भाग कब्जा गरेपछि त्यहाँ रहेका नेपाली कामदारको आपत्कालीन उद्धार गर्नु परेको थियो ।  सरकारले परराष्ट्र मन्त्रालयका अर्जुनकान्त मैनालीलाई इराकका लागि नेपाली विशेष प्रतिनिधि बनाउँदै पठाएको थियो । 

नेपालीको उद्धार र अवस्था बुझ्न उनलाई इराक पठाइएको थियो । त्यतिबेला इराकका विभिन्न सहरमा १० हजार जति नेपाली रहेका थिए ।  नेपालीको उद्धारमा दुई सदस्यीय नेपाली विशेष टोली इराक पुगेपछि त्यहाँका बिभिन्न सहरमा नेपाली महिलाहरु घरेलु कामदारको रुपमा बेचिने गरेको खुलेको थियो । 

घरेलु कामदारका रुपमा त्यहाँ रहेका कयौं नेपाली महिलाले नेपाली टोलीलाई टेलिफोन सम्पर्क गरी आफूहरु तीन पटकसम्म बेचिएको जानकारी गराउँदै तत्काल नेपाल फर्काउन पहल गरिदिन भनेका थिए । 

नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट दुबई हुँदै इराकको अर्बिल सहर पुर्‍याई त्यहाँका विभिन्न सहरमा ७ देखि ८ हजार अमेरिकी डलरमा बेचविखन गरेको पाइएको थियो ।  दलालले साहुलाई, साहुले फेरि अर्को साहुलाई, नेपाली महिलालाई घरेलु कामदारका रुपमा बेच्ने गरेका थिए । 

त्यसपछि सुरुमा विशेष प्रतिनिधि मैनालीको पहलमा यस्ता महिलाहरुलाई उद्धार गरी अर्विल ल्याइएको थियो, त्यहाँबाट नेपाल । 

मैनालीको अध्ययनले कुर्दिस्तानमा ५ हजार, बग्दादको ग्रिन जोनमा एक हजार, ग्रिन जोन बाहिर एक हजार दुई सय, दक्षिणी सहर बास्रामा पाँच सय गरी इराकमा बढीमा ८ हजारदेखि १० हजार नेपाली रहेको देखाएको थियो । 

यसअघि इराकमा रहेका नेपाली कामदारको संख्या यकिन हुन सकेको थिएन ।  वैदेशिक रोजगारमा जान रोक लगाइएको इराकमा नेपाली कामदार अवैध तरिकाले पुगेकाले सरकारसँग उनीहरुको वास्तविक तथ्याङ्क थिएन । 

त्यतिबेला इराकको जोखिम क्षेत्रमा रहेका नेपालीलाई उद्धार गरी ल्याइएको थियो । जोखिम नभएका स्थानमा काम गरेकालाई त्यहीँ छाडिएको थियो ।

अफगानिस्तान– आत्मघाती आक्रमण 

सन् २०१६ जुनमा तालिवान समूहको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा १३ जना नेपालीले ज्यान गुमाएका थिए ।  त्यसपछि त्यहाँ कार्यरत नेपालीले आफ्नो तत्काल उद्धार गर्न सरकार गुहारेका थिए ।  पाकिस्तानस्थित नेपाली दूतावासको समन्वयमामा अफगानिस्तानबाट ७८ जना नेपालीलाई स्वदेश फर्काइएको थियो । 

नेपाली सुरक्षा गार्ड चढेको बसमा तालिवानले आक्रमण गर्दा १३ नेपाली मारिएका थिए ।  त्यसपछि पहिलो लटमा २४ जना र दोस्रो लटमा ५४ जना नेपालीलाई स्वदेश फिर्ता गरिएको थियो ।

इरान–अमेरिका तनाव 

अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सन् २०२० जनवरीमा इरानका सैन्य जनरल कासेम सोलेमानी मारिएका थिए ।  इराकमा रहेको बेला अमेरिकाले ड्रोन आक्रमण गरी सोलेमानीको हत्या गरेको थियो । 

त्यसको बदलामा इरानले इराकमा रहेका दुईवटा अमेरिकी सेनाको वेशमा २२ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । 

इरान र अमेरिकाबीच युद्धको खतरा बढ्दै जाँदा खाडीमा सन्त्रास फैलिएको थियो ।  त्यहाँ जुनसुकै बेला युद्ध सुरु हुन सक्ने अनुमान धेरैले लगाएका थिए ।  अमेरिकाले इराकमा रहेका अमेरिकीलाई तत्काल इराक छाड्न सूचना जारी गरेको थियो, जसले झन् युद्ध हुने शंका बढाइदिएको थियो । 

इरान हेर्ने जिम्मेवारी पाएको पाकिस्तानस्थित नेपाली दूतावासले इरान र अमेरिकाबीच तनाव बढ्न थालेपछि इरानमा रहेका नेपालीसँग सम्पर्क गर्न सुरु गरेको थियो ।  सरकारले तत्कालै पश्चिम एसियामा रहेका नेपाली कामदारको आपत्कालीन उद्धार गर्न समितिसमेत गठन गरेको थियो । 

परराष्ट्र मन्त्रालय र दूतावास इरानमा रहेका २५ जना नेपालीको खोजी गरी आवश्यक परे तत्काल उद्धार गर्ने तयारी रहेका थिए ।  इराकमा १५ हजार जति नेपाली रहेको हिसाब निकालिएको थियो । तर इरान र अमेरिकाबीचको तनाव विस्तारै घटेपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्नुपरेन ।

चीन– कोरोना महामारी

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।  त्यसपछि यसले विश्व महामारीको रुप लिएको थियो ।  ठूलो संख्यामा संक्रमित देखिएपछि चीनले वुहानमा लकडाउन गरेको थियो । 

त्यहाँ मानिसहरुलाई घर बाहिर निस्कन दिइएको थिएन ।  धेरै समय घर भित्र बस्नु परेपछि त्यहाँ रहेका नेपालीहरु अत्तालिएका थिए र उद्धारका लागि सरकारलाई आग्रह गरेका थिए ।  त्यसपछि कोरोनाको इपिसेन्टर चीनको वुहानबाट सरकारले सन् २०२० को फेव्रुअरीमा १७५ जना नेपालीलाई उद्धार गरी स्वेश फर्काएको थियो । 

सरकारले नेपालीको उद्धारमा नेपाल वायुसेवा निगमको वाइडबडी चीन पठाएको थियो । वुहानबाट उद्धार गरी ल्याइएकालाई राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारिएको थियो । 

उनीहरुलाई १५ दिन खरिपाटीमा राखिएको थियो । कोरोना भाइरसको संक्रमण नभए पाइएपछि उनीहरूलाई आ–आफ्नो घर पठाइएको थियो । 

अफगानिस्तान – तालिवान आक्रमण   

तालिबानले सन् २०२१ को अगस्टमा राजधानी काबुलमाथि आक्रमण गरी कब्जामा लिएको थियो ।  तालिबानले काबुल कब्जा गरी अफगानिस्तानको सत्ता हातमा लिएपछि त्यहाँ रहेका विदेशी नागरिकहरुको भागदौड मच्चिएको थियो ।

शक्ति राष्ट्रहरुलाईसमेत आफ्ना नागरिकको उद्धार गर्न कठिन परिरहेका बेला नेपालले कूटनीतिक कौशल प्रयोग गरी आफ्ना नागरिकको उद्धार गरेको थियो ।  त्यतिबेला अफगानिस्तानसमेत हेर्ने भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले राजधानी काबुलमा एक हजारदेखि १२ सयसम्म नेपाली रहेको तथ्याङ्क निकालेको थियो । 

यसैलाई आधार मानेर उद्धार प्रक्रिया अघि बढाइएको थियो ।  परराष्ट्र मन्त्रालयले विभिन्न देशसँग समन्वय गरी करिब एक हजार जनालाई अफगानिस्तानबाट उद्धार गरी नेपाल ल्याएको थियो । 

रुस–युक्रेन युद्ध

रुसले सन् २०२२ फेव्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गर्‍यो । त्यसपछि सुरु भएको रुस–युक्रेन युद्ध हालसम्म जारी छ ।  रुसले युक्रेनमाथि आक्रमण गरेपछि सबै देशले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धार गरेका थिए । 

यसैक्रममा नेपालले पनि युक्रेनबाट ५३३ जनाभन्दा बढी नेपालीलाई उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो ।  युक्रेनबाट ४२७ जनालाई पोल्यान्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको थियो । यसमा परराष्ट्र मन्त्रालयलाई गैर–आवासीय नेपाली संघले समेत सघाएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro