site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारोत्तोलनमा विशालको कीर्तिमान, क्यानोइङमा गणेश गुरुङ सेमिफाइनल चरणमा

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान स्थापित गरेका छन् ।

चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलो पटक ३०१ केजी वजन उठाएको अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे ।

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहको जम्मामा तीन सय केजीसम्मको भार वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले जनाएका छन् ।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो । उनले उक्त कीर्तिमान केहि साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।

स्न्याचमा भने विशालले दोश्रो लिफ्टमा नै १२७ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचालेका थिए ।

त्यस्तै, क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाएका थिए । दोश्रो लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेश्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ केजी तौल लोड गर्न लगाएका थिए । त्यसमा उनी सफल भएनन् ।

नेपालबाट पाँच खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।

एथलेटिक्स
एथलेटिक्सको म्याराथनमा नेपालबाट समान एक पुरुष/महिला खेलाडीले बिहीबार प्रतिस्पर्धा गरेका थिए । पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारी दौडेका थिए ।

पुरुषमा राजन समग्रमा १४औँ स्थानमा रहे । उनले निर्धारित दूरी पूरा गर्न २ घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चे । १८ खेलाडी सहभागी भएकोमा साउदी अरबीया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जि हेले २ घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते ।

महिलामा पुष्पाले निर्धारित दूरी तीन घण्टा दुई मिनेट ३७ सेकेन्डमा सकाइन् । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६औँ स्थानमा दौड टुंगाइन् । बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् ।

बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हातपार्ने क्रममा दुई घण्टा २६ मिनेट १४ सेकेन्डको समय निकालिन् । म्याराथनको समापनसँगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ ।

कराते
करातेको पहिलो दिन बिहीबार नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरे । तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसँग पराजित भए । काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइपाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिमनुर्लानोभसँग २–० ले चुके ।

एकलकाताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मगर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।

कुस्ती
कुस्तीमा नेपालकी सुवांगी दुवे पराजित भएकी छन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्यान्डकी श्रृपाराले सुवांगीलाई ८–० ले पराजित गरिन् । पहिलो राउन्डमा श्रृपाराले ८–० अंक जोडिन् भने दोश्रोमा दुवैले अंक बटुल्न सकेनन् ।

क्यानोइङ
क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार सेमिफाइनल चरणका लागि छनोट भएका छन् ।

दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छन् ।

गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४औँ भए । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।

दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौँ भए पनि छनोट हुन सफल भए । दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भए ।

सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । १६ जनामध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । बाँकी ६ खेलाडी बाहिरिनेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro