नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एउटै कालखण्डमा अस्तित्वमा आएका थिए । विसं २००७ सालको जनक्रान्तिबाट राणा शाासनको अन्त्य त भयो तर राजाको हातमा शासन पुग्यो ।
जननिर्वाचित पहिलो सरकार र संसद्मात्र होइन राजाले संविधानसमेत सेनाका बलमा हरण गरे । उनले लागु गरेको पञ्चायती व्यवस्थाविरुद्ध लामो सङ्घर्ष गरी २०४६/४७ को जनआन्दोलनबाट प्रजातन्त्रको पुनर्स्थापना गर्न, माओवादी हिंसाको शान्तिपूर्ण अवतरण, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना र जनताको संविधान तर्जुमा गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)ले खेलेको भूमिका महत्त्वपूर्ण छन् ।
यसरी गौरवपूर्ण इतिहास बोकेका राजनीतिक पार्टीले पछिल्लो समय भने आफ्नो गौरव नै धुलोमा मिलाउने काम गरिरहेका छन् । यो आश्चर्यजनक त छ नै नेपाल र नेपालीका लागि घातक सिद्ध हुँदैगएको छ । यहाँ नेपाली कांग्रेस र नेकपा (एमाले)ले गरेका दुईवटा गल्ती विशेष उल्लेख्य छन् । पहिलो गल्ती कांग्रेस र एमालेले एकअर्कालाई शत्रु ठान्नु हो भने दोस्रो उग्रवादी चरित्र बोकेको माओवादीलाई मित्र ठान्नु हो ।
विसं २०७४ को निर्वाचनलाई लक्षित गरेर एमालेको नेतृत्वले माओवादीसँग गठबन्धन गरेपछि यो गल्तीको पछिल्लो शृङ्खला सुरु भएको हो । शक्तिशाली सरकारको आशामा एमाले नेतृत्वले सर्पलाई विष पिलाउने कार्य गरेको परिणाम एमालेले त ३ वर्षमै भोग्यो ।
एकातिर करिब दुई तिहाईको बहुमत पाएको सरकार अन्ततः अदालतको परमादेशबाट सत्ताच्युत हुनपुग्यो भने सांगठानिक दृष्टिमा बलियो ठानिएको पार्टी नै विभाजित भयो । यति हुँदाहुँदै पनि एमाले नेतृत्वको चेत खुलेको रहेनछ ।
विसं २०७९ को चुनावी परिणामपछि संसद्को तेस्रो तर निकै कम (आफ्नो भन्दा करिब एकतिहाई मात्र सांसद संख्या) भएको माओवादीलाई काँथ हाली पुनः सत्तामा बसायो । एमालेले यसरी माओवादीलाई काँध हाल्नुको पछाडि सत्ता स्वार्थभन्दा अरू केही थिएन र देशको हित गौण थियो भन्ने त पुष्टि भइसकेको छ । सत्ता स्वार्थ केन्द्रित यो गठबन्धनको परिणाम घातक सिद्ध भएको महसुस एमालेले पनि गरेको नै हुनुपर्छ ।
त्यसैगरी नेपाली कांग्रेसले पनि सत्ता स्वार्थ र एमालेलाई ठेगान लगाउने रणनीति लिएर माओवादीलाई काँध हाली नै रहेको छ । सिद्धान्त र वैचारिक दृटिकोणबाट पनि यो गठबन्धन अप्राकृतिक हो र यसले देशमा शान्ति, स्थिरता र समृद्धि हासिल हुन सक्दैन ।
पछिल्लो समयमा पुष्पकमल दाहालले सुरु गरेको कांग्रेसको माओवादीकरणले त झन् कांग्रेसको आजसम्मको ऐतिहासिक छविलाई नै धुमिल बनाउन लागेछ । दाहालले पछिल्लो समयमा सार्वजनिक मञ्चबाट “युद्ध कालमा गिरिजाप्रसाद कोइरालाले पनि ब्यारेक आक्रमणको लागि अनुरोध गर्ने गरेको” भनी अब पुष्टि हुननसक्ने तर्क गर्दै कथित सफायामा नेपाली कांग्रेसको पनि संलग्नता रहेको थियो भन्ने भ्रम सिर्जना गर्न खोजेका छन् ।
उनले मृत्यु भइसकेको नेताको नाम लिएर आफूले गरेको युद्ध अपराधको भारी कांग्रेसलाई पनि बोकाउन खोजेका छन् । तर दाहालको यो कुटिल चाललाई स्वयं कांग्रेसले नै समर्थन गरेकोजस्तो गरी कसैले खण्डन गरेको देखिँदैन ।
माओवादीले गरेको अपराधको भारी बोक्न कांग्रेसलाई केले बाध्य बनाएको हो ? सत्ता स्वार्थ र एमालेलाई ठेगान लगाउनमात्र यो भारी बोकिएको हो भने यो ठूलो गल्ती हो र यसलाई कांग्रेसले बेलैमा सच्च्याउनु आवश्यक देखिन्छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)ले एक अर्कालाई परम शत्रु ठान्ने गल्ती सच्याएर नयाँ ढङगबाट संवाद गरी सहकार्यको थालनी गर्नु आजको आवश्यकता हो । यसबाट तत्काल कम्तीमा पनि दुईवटा लाभ देशले प्राप्त गर्छ । एउटा आगामी चार वर्षका लागि स्थिर र मजबुत सरकार प्राप्त हुन्छ भने अर्को राजनीतिक अस्थिरताको जगमा च्याउजस्तै उम्रिएका र उम्रिन लागेका 'पपुलिस्ट'को चुरीफुरी घट्छ ।
के दाहाल सच्चिन सक्दैनन् ?
कांग्रेस र एमालेमात्र किन दाहाल सच्चिए हुँदैन र भन्ने लाग्न सक्छ । तर, हिंसात्मक विगत र प्रवृत्तिका कारण दाहाल त सच्चिनेभन्दा अरूलाई पनि आफूजस्तै बनाउन उद्यत देखिन्छन् । आजसम्म अभ्यास गरेको रणनीतिका कारण बनेको उनको मानसिकतामा परिवर्तन गर्न लाग्ने समय अब उनीसँग छैन । दाहालको शेषपछि उनले नेतृत्व गरेको माओवादी समूहको पनि अस्तित्व नरहने वातावरण बनाइएका कारण प्रचण्ड र उनको समूह सच्चिने ठान्नु मूर्खता हो ।
नेपाली कांग्रेस र नेकपा (एमाले) सच्चिने कसरी ?
कांग्रेस र एमालेका नेताले आजसम्मका राजनीतिक परिवर्तनमा एकअर्काको भूमिकाको इमानदार समीक्षा गरेमात्र पनि आधा काम सकिन्छ । त्यसपछिको एउटा मुख्य काम कांग्रेस र एमालेको राजनीतिक सहकार्य हो । तत्काल देशलाई स्थिर र बलियो सरकार दिनु हो । कतिलाई कांग्रेस र एमालेको साझा सरकार बन्नु अनौठो लाग्छ । तर अहिले चलिरहेको कमजोर र बेकामे सरकारभन्दा धेरै हदसम्म कांग्रेस र एमालेको साझा सरकार ठीक हुन्छ ।
संयुक्त सरकार बनाउने सन्दर्भमा एउटा साझा धारणा निर्माण गरी देशमा शान्ति, स्थिरता र समृद्धिलाई पहिलो प्राथमिकतामा राखी अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई गौण बनाउनुपर्छ ।
कांग्रेस र एमालेको राजनीतिक सहकार्यले केन्द्रमा मात्र नभई प्रदेशहरूमा पनि बाँकी चार वर्षका लागि बलियो र स्थायी सरकार दिन्छ । यसरी कांग्रेस र एमालेको सहकार्य गर्दा निम्न कुरालाई प्राथमिकतामा राख्नु जरुरी हुन्छ ।
१. संविधान कार्यान्वयनको लागि आवश्यक कानुन तर्जुमा गर्न प्रतिपक्ष, नागरिक समाज र जनसाधारणलाई समेत विश्वासमा लिएर आवश्यक कदम चाल्ने ।
२. स्थानीय र प्रदेश सरकारलाई मजबुत र अधिकार सम्पन्न बनाउँदै संघको हस्तक्षेपलाई हटाउने ।
३. अर्थतन्त्रको संरचनात्मक सुधारका लागि विज्ञ समूह तयारी गरी नेपालको सर्वाङ्गीण विकासको मौलिक ढाँचा तयार गर्ने र कार्यान्वयनको लागि इमानदार प्रयास गर्ने ।
यसरी देशको हितलाई प्राथमिकतामा राखी कांग्रेस र एमाले सच्चिएर राजनीतिक सहकार्य गर्न तयार हँदा कसैले पनि विस्मात मान्नुपर्दैन । किनभने यस सहकार्यले नेपालको अस्तित्व रक्षा गर्दै विकासको लक्ष्य हासिल गर्न भूमिका खेल्दा नेपाललाई फाइदा पुग्छ । यस प्रक्रियामा कांग्रेस र एमालेभित्रै पनि र बाहिरका केही राजनीतिक व्यक्तिलाई अपेक्षित लाभ नहुन सक्छ तर देशले दीर्घकालीन लाभ प्राप्त गर्नेछ ।
हुनत, केही नयाँ दल देखिएका छन् तर तिनीहरू अझै कच्चै छन् र धेरै सिक्न बाँकी नै देखिन्छ । यसका लागि समय लाग्छ । परन्तु, आजको युगमा समय नै सम्पत्ति हो । यसैले कांग्रेस र एमाले सच्चिँदा मात्र नेपालले छिटै ठोस परिवर्तनको महसुस गर्नसक्छ । त्यसैले पनि कांग्रेस र एमाले नै सच्चिन पर्छ । यस तथ्यलाई सम्बद्ध नेताले आफ्नो अहङ्कार, स्वार्थ तथा कुण्ठाको परिधिभन्दा बाहिर निस्केर जति छिटोबुझ्छन् त्यति नै छिटो नेपालमा परिवर्तनको युग सुरु हुनेछ ।