site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नौ किलो सुन तस्करी प्रकरण : राहुललाई मतियारमा मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याइएको छ । भेप प्रकरणमा जोडिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई गएको भदौ १३ गते पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको थियो ।

सो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको सीआईबीका प्रवक्ता एवं एसएसपी दिनेश आचार्यले जानकारी दिए । सीआईबी स्रोतका अनुसार सो प्रकरणमा राहुललाई मतियारका रूपमा मुद्दा चलाउनुपर्ने देखिएको छ ।

सोही प्रकृतिको अनुसन्धान प्रतिवेदन तयार पारिएको सीआईबी स्रोतको भनाइ छ । “तस्करीमा प्रत्यक्ष संलग्न देखिँदैन, तर तस्करी गर्ने समूहलाई सहयोग गरेको देखिन्छ । त्यसकारण राहुललाई मतियारको रूपमा मुद्दा चलाउनुपर्ने निष्कर्ष हाम्रो छ,” स्रोतले बाह्रखरीसित भन्यो ।

सीआईबीले पूर्वसभामुख समेत रहेका महरासँग सोमबार कागजी बयान लिएको थियो । महराको हकमा सरकारी वकिल कार्यालयसँगको परामर्शमा मात्र अघि बढ्ने सीआईबीको तयारी छ ।

भेपमार्फत नौ किलो सुन तस्करी गर्ने समूहका मुख्य व्यक्ति चिनियाँ नागरिक दाओजिन वाङ भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो । उनी फरार छन् । सीआईबी टोलीले उनका गाडी चालक लोकन्द्र पौडेललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यसअघि, उक्त सुन चोरी प्रकरणमा समेत सीआईबीले अनुसन्धान गरेको थियो । भेपमा भएको सुन चोरी प्रकरणमा जोडिएका विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

सो सुन चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro