site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा भएका चलखेल

(मैले मेरो अघिल्लो लेख (निजामती सेवाको अनुभव–३) ‘स्वदेशी पुँजीमा माथिल्लो तामाकोसी आयोजना बनाउँदाका उतारचढाव र सकस’मा कसरी माथिल्लो तामाकोसी आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने परिस्थिति बन्यो भन्ने उल्लेख गरेको थिएँ ।

माथिल्लो तामाकोसी (४५६ मेगावाट) स्वदेशी लगानीमा बन्नु नेपालको जलविद्युत् क्षेत्रका लागि मात्र नभएर समग्र पूर्वाधार विकासमै ऐतिहासिक उपलब्धि हो । माथिल्लो तामाकोसीलाई इतिहास रच्दै देशको भौतिक पूर्वाधार विकासमा ‘प्याराडाइम सिफ्ट’ का रुपमा हेर्नुपर्छ ।

माथिल्लो तामाकोसी स्वदेशी लगानीमा बनाउने निर्णय गर्ने र लगानीको सुनिश्चिततामा महत्त्वपूर्ण भूमिका खेल्नेहरू सबैले पदीय जिम्मेवारी निर्वाह गरेका हुन् । तिनले भूमिका निर्वाह गर्ने मौका किन पाए  भने त्यो समयमा ती पदमा तिनै थिए । तर, पदमा हुँदैमा सबैले सधैं जिम्मेवारी पूरा गर्छन् भन्ने हुँदैन । त्यो समयमा त्यहाँ हुनेहरूको खासखास नाम लिनुपर्दा जलस्रोत मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जलस्रोत सचिव शंकर कोइराला, अर्थसचिव रामेश्वर खनाल, सचिव माधव घिमिरे (सञ्चय कोषको अध्यक्षका हैसियतमा) र कार्यकारी निर्देशक र अपर–तामाकोसी कम्पनीको अध्यक्षका हैसियतमा म प्रमुख पात्र थियौँ । हामी ५ जनाले माथिल्लो तामाकोसीको निर्माणको श्रेय लिन ‘मार्केटिङ’ भने कहिल्यै गरेनौ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आफ्नो लिकमा हिँडिसकेको तामाकोसी नामको रेलमा बीचबीचमा चढ्नेहरू भने निर्माणको श्रेय लिन थाकेनन् । माथिल्लो तामाकोसीको निर्माणमा योगदान पुर्‍याउने या नपुर्‍यउने, यसको पक्षमा बोल्ने या नबोल्ने, यसको गीत गाउने वा रमितेहरू जति पनि श्रेय लिन चाहनेहरू छन् सबैलाई अंकमाल गर्न सक्ने विशालता माथिल्लो तामाकोसीमा छ । वास्तवमा माथिल्लो तामाकोसीले अंग्रेजीको ‘सक्सेस ह्याज मेनी फादर्स’ भन्ने भनाइलाई चरितार्थ गरेको छ ।

ठूला आयोजनाको निर्माणका दौरानमा कस्तोकस्तो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख गर्न लायकको अर्को आयोजना ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना हो । माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना क्यु ७० मा अध्ययन तथा डिजाइन भएको आयोजना हो । प्राविधिक भाषामा क्यु ७० भनेको आयोजनाले वर्षको ७० प्रतिशत समय (८.५ महिना) जडित क्षमता (६० मेगावाट) बराबरको विद्युत् उत्पादन गर्छ भनिएको हो ।

Royal Enfield Island Ad

नेपालको माथिल्लो तामाकोसी लगायत प्राय सबै आयोजना क्यु २५–३० को हाराहारीमा डिजाइन भएका छन् । यिनले वर्षमा ३ देखि ४ महिनामात्र जडित क्षमता बराबरको विद्युत् उत्पादन गर्छन् । त्यसैले माथिल्लो त्रिशूली–३ ‘ए’ विशेष प्रकारको आयोजना हो । नेपालको विद्युत् प्रणालीमा जलाशययुक्त (कुलेखानीबाहेक) आयोजना नभएको अवस्थामा माथिल्लो त्रिशूली–३ ‘ए’ जस्तो आयोजनाले विद्युत् प्रणालीलाई सुदृढ बनाउँछ ।

त्रिशूली–३ ‘ए’ ६० बाट ९० मेगावाटमा चाइनिज एक्जिम वैंकको ७ अर्बको ऋण लगानीमा माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड क्न्स्ट्रकसन’ (इपिसि) मोडेलमा निर्माण गर्ने तय भइसकेको थियो । त्यसमा ‘ईपीसी’ मोडेलमा बन्न लागेको नेपालको पहिलो आयोजना थियो ।

उक्त मोडेलमा एउटा मूल ठेकेदार नियुक्त हुन्छ । उसले डिजाइनको काम, आयोजनामा चाहिने मेसिन उपकरण आदिको खरिद र जडानको काम र सम्पूर्ण निर्माणको कामको जिम्मेवारी लिन्छ । आवश्यक परे अन्य ठेकेदार उसैले नियुक्त गर्न सक्छ । यस मोडालिटीमा ‘आइटम’ र ‘क्वान्टिटीमा भेरिएसन’ हुँदैन । अध्ययनमा उल्लेख गरेको र निर्माणको चरणमा भेटिएको भूगर्भमा तात्विक भिन्नता देखिएमा भने ‘भेरिएसन’ हुनसक्छ । यस प्रकारका ठेक्कामा ठेक्का सम्झौताको मूल्यमा काम सम्पन्न हुन्छ ।

ऋण सम्झौताका काम बाँकी हुँदै चाइनिज एक्जिम बैंकले ६० मेगावाटको जडित क्षमता हुने गरी ईपीसी मोडेलमा बोलपत्र तयार पार्ने सहमति प्राधिकरणलाई दिइसकेको थियो । सँगै बोलपत्रअनुरूप काम भइरहेको अवस्थामा प्राधिकरणबाट मेरो सरुवा भयो । यो २०६५ असोजको कुरा हो ।

त्यसपछि २०६६ मा ऊर्जामन्त्री प्रकाशशरण महतले नियुक्त गरेका डा. जीवेन्द्र झा कार्यकारी निर्देशक भएको बेलामा त्रिशूली–३ ‘ए’ को ईपीसी मोडेलमा बोलपत्र आह्वान भयो । त्यसमा ६० मेगावाटका अतिरिक्त ९० मेगावाटका लागि समेत आर्थिक प्रस्ताव पेश गर्न सक्नेगरी बोलपत्रमा उल्लेख गरियो । यसो गर्नुका पछाडि स्वार्थ प्रेरित ‘ग्य्रान्ड डिजाइन’ थियो ।

उक्त आयोजना ६० मेगावाटकै अध्ययन भएको थियो । सरकारले ६० मेगावाटको आयोजना स्वीकृत गरेको थियो । नेपाल सरकार र चाइनिज एक्जिम बैंकबीच ६० मेगावाटकै सहमति भएको थियो । त्यसअतिरिक्त ६० मेगावाटका लागि पुग्ने गरी ऋणको रकम तय भएकोमा सरकार तथा प्राधिकरणको औपचारिक निर्णय र चाइनिज एक्जिम बैंकको सहमतिबिना ९० मेगावाटको लागि समेत मूल्य कोट गर्न सक्ने भनी सूचनामा उल्लेख गरियो । चाइनिज सरकारको ऋण सहयोगमा निर्माण हुने भएकाले चिनियाँ ठेकेदारहरूले मात्र बोलपत्रमा भाग लिन पाउने नै भए । साधारणतया चीन सरकारको ऋण सहयोगमा बन्ने आयोजनामा काम लिने ठेकेदारहरुबीच ‘कार्टेलिङ’ हुन्छ । यसमा पनि भएको थियो ।

बोलपत्रको मूल्यांकन हुँदा चाइना गेजुवा भन्ने ठेकेदारले न्यूनतम अंक कबोल गरेर काम पायो । प्रतिस्पर्धामा भाग लिएका अन्य ठेकेदारहरू कसैले ९० मेगावाटको लागि आर्थिक प्रस्ताव पेस गरेनन् । चाइना गेजुवाले मात्र ६० मेगावाट र ९० मेगावाटका लागि मूल्य कोट गरेको थियो । प्राधिकरण र चाइना गेजुवाबीच ४ वर्षमा आयोजना सम्पन्न गर्ने गरी ६० मेगावाटका लागि सम्झौता भयो । यो २०६७ सालको कुरा हो ।

ठेक्का सम्झौताबमोजिम ठेकेदारको पहिलो काम ६० मेगावाटका लागि आयोजनाको समग्र डिजाइन र नक्सा तयार पारेर स्वीकृतिका लागि पेस गर्नुपर्ने थियो । तर, ठेकेदारले यसो गर्नुको साटो ९० मेगावाटका लागि अर्को ठेक्का सम्झौता (स्कोप भेरिएसन) गर्न निवेदन पेस गर्‍यो । स्कोप भेरिएसन ‘आइटमवाइज’ ठेख्कामा पनि नियम र करार सम्झौताले गर्न दिँदैन । ईपीसी ठेक्कामा त आइटम र क्वान्टिटीमा समेत भेरिएसन हुँदैन । स्कोप भेरिएसन निम्ति नियम र करार सम्झौताबमोजिम गर्नसक्ने कुरा भएन ।

यसरी नियमले नमिल्ने निवेदन पेस भएपछि आयोजनाले त्यहीँको त्यहीँ उक्त निवेदन खारेज गर्नुपर्ने थियो । त्यसपछि सम्झौताबमोजिम ६० मेगावाटको डिजाइन र नक्सा तोकिएको समय सीमाभित्र पेस गर्न निर्देशन दिनुपर्नेमा केही नगरी बसेको देखिन्छ । बोलपत्र आह्वान गर्ने मन्त्री र कार्यकारी निर्देशकले ९० मेगावाटमा भेरिएसन गर्न प्रयास गर्ने नै भए । किनभने यी दुवैको स्किममा नै ६० मेगावटको आयोजनाको बोलपत्रमा ९० मेगावाटको पनि आर्थिक प्रस्ताव पेस गर्न सूचना जो निकालिएको थियो ।

साठीका लागि भएको ठेक्कालाई ९० मेगावटको ठेक्कामा संशोधन गर्ने खेल चली नै रह्यो । यसमा ऊर्जामन्त्री डा. प्रकाशशरण महतपछिका मन्त्रीहरूको पालामा पनि ९० मेगावाटको खेल जारी नै रह्यो । पोष्टबहादुर बोगटी मन्त्री हुँदा म ऊर्जा मन्त्रालयमा सहसचिवको जिम्मेवारीमा छोटो समय रहेँ । उनलाई पनि ९० मेगावाटको निर्णय गर्न दबाब आएको थियो । यो गर्न नियम र करारले मिल्दैन भन्ने सल्लाह मैले दिएको थिएँ र मन्त्री बोगटीले यो विषयमा कुरा गर्न आउनेहरूको कुरा सुनेनन् ।

केही समयअघि म विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको सहसचिव हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गणेशराज जोशी सचिव हुनुहुन्थ्यो जसलाई समग्र आयोगको अधिकार प्राप्त थियो । अख्तियारमा माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनालाई ६० मेगावाटको ठेक्का सम्झौता गरेर ९० मेगावाटमा भेरिएसन गरेर अनियमितता हुनलागेको छ भन्ने उजुरी परेको रहेछ ।

त्यसको छानबिन गरेर ६० मेगावाटको ठेक्का सम्झौतालाई ९० मेगावाटमा भेरिएसन गर्न उपयुक्त भएको निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गराउन सचिव जोशीलाई दबाब आएको रहेछ । वास्तवमा उजुर गर्नेहरू ६० मेगावाटको ठेक्का सम्झौतालाई ९० मेगावाटमा भेरिएसन गराउन खोज्नेहरू थिए । आयोगबाट ६० मेगावाटको ठेक्का सम्झौतालाई ९० मेगावाटमा भेरिएसन गराउने निर्णय गराएर प्राधिकरणलाई सजिलो बनाइदिने अनि सदाका लागि अनियमिततालाई थन्क्याउने मनसुवा थियो ।

म कुनै कामले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गएको बेला सचिव जोशीसँग भेट भयो । उहाँले मसँग त्यो विषयमा मेरो राय लिने मनसुवा राख्नु भएको रहेछ । मैले सचिव जोशीलाई ईपीसी कन्ट्र्याक्टको अर्थ सविस्तार वर्णन गरे । साठी मेगावाटको ठेक्का सम्झौतालाई ९० मेगावाटमा भेरिएसन गर्न उपयुक्त नहुनेमात्र होइन यसो गरेमा कानुनको समेत उल्लघंन हुने जानकारी गराए । सचिव जोशीजी आफैँ पनि निर्णय नगरी विषयलाई यथास्थितिमा राख्ने सोचमा हुनुहुँदो रहेछ । सायद, मेरो रायले उहाँको सोचलाई थप बल दियो ।

निजामती सेवामा दबाब झेल्न सक्ने आँट र निर्णय गर्न सक्ने संस्कृति भएको भए सचिव जोशीले ६० मेगावाटको ठेक्का सम्झौतालाई ९० मेगावाटमा भेरिएसन गर्न या गराउन नहुने भनी निर्णय गरेर आयोजनाको काम समयमै अघि बढाउन निर्देशन दिन सक्नुहुन्थ्यो । निजामती सेवाको विशेषता भनेकै कि आदेशको पालना गर्ने कि निर्णयलाई टार्ने भएकाले सचिव जोशीले आदेश पालनाको विकल्पमा निर्णय टार्ने बाटो रोज्न पुग्नुभयो ।

आयोगबाट निर्णय गराउने काम पनि हुन सकेन । तथापि ६० मेगावटको ठेक्का ९० मेगावाटमा भेरिएसन गराउने खेल जारी रह्यो ।  नब्बे मेगावाटमा ठेक्का संशोधन हुने आशामा ठेकेदारले सुस्त गतिमा बिनाडिजाइन र नक्साको काम गरी नै रह्यो ।

सम्झौताबमोजिम ठेकेदारलाई ६० मेगावाटको डिजाइन र नक्सा पेस गर्न लगाएर स्वीकृत गर्ने जिम्मेवारी आयोजना प्रमुखको हो तर उसले गरेन । कार्यकारी निर्देशकले हस्तक्षेप गर्न सक्थ्यो तर उसले पनि गरेन । डिजाइन नक्सा स्वीकृत नभइरहेको र साइटमा ९० मेगावाटका लागि संरचना निर्माण भइरहेको विषयमा सञ्चालक समितिमा (जहाँ ऊर्जामन्त्री अध्यक्ष र ऊर्जा तथा अर्थ सचिव सदस्य हुन्छन्) छलफल त अवश्य भयो होला ।

मन्त्रालयमा पनि छलफल भयो होला । सञ्चालक समिति र मन्त्रालयले पनि हस्तक्षेप गरेन । यसरी मन्त्रालय, सञ्चालक समिति, प्राधिकरण र आयोजना सबका सब अनिर्णयको बन्दी बनेर बसी नै रहे ।

विसं २०६९ सालमा खिलराज रेग्मीको सरकारमा पूर्वसचिव उमाकान्त झा ऊर्जामन्त्री भए । ऊर्जा सचिव हरिराम कोइराला थिए । रामेश्वर यादव कार्यकारी निर्देशक थिए । विसं २०७० मा उमाकान्त झाले अध्यक्षता गरेको सञ्चालक समितिले ६० मेगावाटको ठेक्कालाई ९० मेगावाटमा भेरिएसन गर्ने निर्णय गर्‍यो । त्यस दिनको सञ्चालक समितिको बैठकमा अर्थसचिव अनुपस्थित रहे । यो निर्णयको चौतर्फी विरोध भयो । यो निर्णयले कानुन, प्रचलन, अन्तर्राष्ट्रिय मान्यता उल्लघंन भएको मेरो धारणा पनि पत्रपत्रिकामा आयो ।

प्राधिकरण व्यवस्थापनले गैरकानुनी निर्णयको औचित्य पुष्टि गर्न नेपालका सबै दैनिक तथा साप्ताहिक पत्रिका विज्ञापन निकाल्यो । त्यसको बिल ३५ लाखभन्दा बढी नै थियो होला भुक्तानी भने भएको थिएन । प्राधिकरणका कर्मचारीले सञ्चालक समितिको निर्णय फिर्ता लिन दबाब दिए ।

प्राधिकरणका कर्मचारीले प्राधिकरणमा ताला लगाइदिए । मन्त्री झाले दबाब थेग्न सकेनन् । सञ्चालक समितिले निर्णय फिर्ता गर्‍यो । संचालक समितिले निर्णय त फिर्ता लियो तर आयोजनालाई ठेक्का सम्झौताबमोजिम ६० मेगावाटको काम अगाडि बढाउन निर्देशन भने दिएन । 

यही समयमा चीनबाट आपूर्ति गरिएको ट्रान्सफरमर बिग्रेर मर्मत गर्ने दौरानमा तामाको क्वाइल (तार) हुनुपर्नेमा एल्मुनियमको क्वाइल भएको पाइएपछि हंगामा भयो । अख्तियारले अनुसन्धानको प्रक्रिया आरम्भ गर्‍यो । डा. प्रकाशशरण महतले नियुक्ति गरेको पूर्व कार्यकारी निर्देशक र पोष्टबहादुर बोगटीको पालामा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भई कार्यरत कार्यकारी निर्देशकलगायत ठूलो संख्याका कर्मचारीलाई थुनामा राखेर कारबाही चलायो । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्‍यो । विशेष अदालतबाट केहीले सफाइ पाए, केहीलाई सजाय भयो ।

यस समयमा म जल तथा ऊर्जा आयोगको सचिवालयमा सहसचिवमा कार्यरत थिए । अख्तियारद्वारा भ्रष्टाचार मुद्दा लगाएसँगै प्राधिकरणको कार्यकारी निर्देशकको पद रिक्त हुन गयो । सरकारले मलाई प्राधिकरण अभूतपूर्व कठिनाइमा रहेको समयमा कार्यकारी निर्देशकको जिम्मेवारीमा पठायो ।

ट्रान्सफर्मर काण्ड

प्राधिकरणले विभिन्न देशबाट ट्रान्फर्मर खरिद गर्ने करार गरेको थियो । करार सम्झौतामा उल्लेख भएको स्पेसिफिकेसन बमोजिमको ट्रान्सफर्मर आपूर्ति गर्ने जिम्मेवारी म्यानुफ्याक्चररको हुन्छ । म्यानुफ्याक्चररले ट्रान्सफर्मर उत्पादन गर्न सुरु गरेपछि प्राधिकरणबाट इन्स्पेक्सन गर्न प्राविधिक खटाइन्छ ।

इन्स्पेक्सनमा गएका प्राविधिकले उत्पादन हुँदै गरेको ट्रान्सफर्मर स्पेसिफिकेसनबमोजिम भएको प्रतिवेदन कार्यालयमा बुझाउँछन् । म्यानुफ्याक्चररले सामान आपूर्ति गरेर तोकिएको स्थानमा डेलिभरी गरेपछि भण्डारण गरिन्छ । अनि अन्तिममा भुक्तानीको प्रक्रिया आरम्भ हुन्छ । अधिकांश भुक्तानी एलसीको माध्यमबाट सामान आपूर्ति हुने प्रक्रियामा नै भइसकेको हुन्छ ।

ट्रान्फर्मरको लोडलस (सामान्य भाषामा ट्रान्सफरमरमा आएको विद्युत्को परिमाण ट्रान्सफरमरबाट वितरण गर्दा घटेको परिमाण) जाँच गरेर ट्रान्सफरमरको जाँच हुन्छ । मेरो जानकारीमा भएसम्म त्यस समयमा प्राधिकरणसँग ट्रान्फरमर जाँच गर्ने प्रविधि थिएन । एकएक ट्रान्सफरमरलाई खोलेरभित्रको सामानको क्वालिटी जाँच हुनसक्ने कुरा भएन । प्राधिकरणसँग आपूर्तिकर्ताले डेलिभरी गरेको ट्रान्फरमर विश्वासको आधारमा जस्ताको तस्तै स्वीकार्नुको विकल्प थिएन ।

ट्रान्सफरमर खरिद गर्ने भनेको कुनै पनि मेसीनरी सामान खरिद गरिएकोजस्तै हो । जसरी एउटा कार, कम्प्युटर, हवाइजहाज खरिद गर्छौँ ट्रान्सफर्मर खरिद पनि त्यस्तै हो । आपूर्ति गरिएको सामानको भित्री भाग खोलेर चेकजाँच गर्ने कुरा हुँदैन ।

जब आपूर्ति गरिएको सामानमा कैफियत देखिन्छ तब करार सम्झौतामा त्यसलाई आपूर्तिकर्ताले सट्टभर्ना गरी दिनुपर्ने प्रावधान हुन्छ । करारमा उल्लेख भएबमोजिम कैफियत देखिएको सामान तुरुन्त सट्टभर्ना गर्न आपूर्तिकर्तालाई पत्र लेख्नुपर्छ । आपूर्तिकर्ताले सट्टाभर्ना गर्न आनाकानी गरेमा करारमा रहेको प्रावधानबमोजिम इन्टरनेसनल आर्विट्रेसन (अन्तर्राष्ट्रिय मध्यस्थता) मा जाने सूचना दिनुपर्ने हुन्छ । आर्विट्रेसनमा जाने सूचनालाई आपूर्तिकर्ताले कानुनतः इन्कार गर्न सक्दैन ।

इन्टरनेसनल आर्विट्रेसनमा गएको विषयवस्तु आर्विट्रेसनको फैसला नआएसम्म कुनै निकायले अनुसन्धान गर्न, कारबाही गर्न सक्दैन । कुनै अदालतमा उजुरी लाग्दैन । आर्विट्रेसनको फैसला उपर करारमा उल्लेख भएको कानुन प्रतिकूल हुने गरी फैसला भएको विषयमा बाहेक कुनै अदालतमा पुनरावेदन पनि लाग्दैन ।

तामाको क्वाइल हुनुपर्नेमा एल्मुनियमको क्वाइल भेट्टाएपछि आर्विट्रेसनमा प्राधिकरणको जित निश्चित थियो । म्यानुफ्याक्चररसँग कैफियत प्रमाणित भएको ट्रान्सफर्मरको सट्टभर्ना गर्नुको विकल्प थिएन । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक (रामेश्वर यादव) ले आर्विट्रेसनमा जाने बुद्धि निकाल्न सकेनन् ।  जसकाकारण उनीलगायत धेरै अधिकारी कारबाहीको भागिदार बन्नुपर्‍यो । सम्झौता व्यवस्थापन नेपालका अधिकारीहरूको कमजोर पक्ष हो । जब अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो सुनुवाइका क्रममा मुद्दा परेको आपूर्तिकर्ताबाट कैफियत देखिएको ट्रान्सफर्मर सट्टाभर्ना गराउन कारबाही अघि बढाउन आदेश दिएको थियो । यो आदेशले अदालतले विशेष अदालतमा मुद्दा परेका र अख्तियारमा अनुसन्धान चलिरहेको सबै ट्रान्सफर्मर खरिदलाई लैजाने बाटो खोलिदिएको थियो ।

(माथिल्लो त्रिशूली–३ ‘ए’ को बाँकी अर्को लेखमा )

(लेखक कार्की नेपाल सरकारका पूर्वसचिव)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro