
काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न ब्रान्डका विद्युतीय गाडी (ईभी) भित्रिने रफ्तार बढेको छ । केही प्रख्यात ब्रान्डका सवारीबाहेक नयाँ ब्रान्डलेसमेत विभिन्न देशमा चलिरहेको भन्दै नेपालमा पनि आफ्ना गाडी ल्याउन थालेका छन् ।
तर, सरकारी अधिकारी र सरोकारवालाहरुले भने यस किसिमले जुन पायो त्यही गाडी आयात गर्न दिँदा समस्या हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का पदाधिकारी समेत जथाभावीरुपमा ईभी भित्रिन दिँदा नेपाल ‘डम्पिङ साइट’ बन्ने खतरा बढेको बताउँछन् ।
त्यसैले कस्ता, कति क्षमताका ईभी आयात गर्न पाउने, सुरक्षा सुविधा के–के हुनुपर्ने, ब्याट्री कस्तो हुनुपर्ने, ग्यारेन्टी र ईभी भित्र्याएसँगै नेपालमा त्यसको सर्भिस एवं मर्मतसम्भारका लागि आवश्यक के र कस्ता पूर्वाधार तयार गर्नुपर्नेछ भनेर सरकारले मापदण्ड वा नीति बनाउनु पर्ने सरोकारवालाहरुको भनाइ छ ।
तर, कुनै पनि ब्रान्डले ईभी भित्र्याएसँगै चार्जिङ स्टेशन, ईभी डेडिकेटेड सर्भिस सेन्टर, ब्याट्री मर्मत एवं त्यसको समस्या निक्र्याैल गर्ने र समाधान गर्ने जस्ता आधारभूत पूर्वाधारसमेत तयार गरेका छन् कि छैनन् भन्ने चासोको विषय बनेको छ ।
नेपालमा ईभीका क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको टाटा मोटर्स नेपालले भने ईभीका लागि आवश्यक सबै किसिमका पूर्वाधारमा निरन्तर काम गरिरहेको बताएको छ ।
टाटा मोटर्स नेपालको आधिकारी वितरक सिप्रदी ट्रेडिङले ईभीकै लागि लक्षित पूर्वाधारहरु विकास गरेको बताएको हो ।
ईभी डेडिकेटेड वर्कसप
सिप्रदीले ईभी डेडिकेटेड १५ वटा वर्कसप देशभर सञ्चालनमा रहेको बताएको छ । यस्तै अन्य २३ वर्कसपलाई ईभीको सर्भिसिङका लागि अपग्रेड गर्दै एन्टि–स्ट्याटिक अथवा करेन्ट रोक्ने भुइँ निर्माण गरिएको बताएको छ ।
यस्तै ईभी वर्कसपमा हाई भोल्टेज रोक्ने इन्सुलेटेड मोड्युलर, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), ब्याट्री ह्यान्डलिङ तथा टेस्टिङ उपकरण, लिक भएको नभएको परीक्षण गर्नेदेखि सफ्टवयर अपग्रेड गर्ने जस्ता उपकरणहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले काठमाडौंको कपनमा सबैभन्दा ठूलो ईभी डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताएको छ ।
ब्याट्री रिपेयर तथा डायग्नोस्टिक सेन्टर
टाटाले काठमाडौंकै बागडोलमा हाइ भोल्टेजका ब्याट्रीलाई मोड्युल लेभलमा रिपेयर गर्नसक्ने क्षमताको ब्याट्री रिपेयर तथा गायग्नोस्टिक सेन्टर रहेको बताएको छ । आफ्ना गाडीहरुको ब्याट्रीमा कुनै समस्या आएमा सेवाग्राहीले त्यहाँ गएर समाधान गर्नसक्ने कम्पनीको भनाइ छ ।
ब्याट्रीमा हाइ भोल्टेज समस्या आएमा सेवाग्राहीले यहाँबाट खर्च जोगाएर समाधान गर्नसक्नेछन् । टाटाले यसबाहेक निरन्तर रुपमा आफ्ना विद्युतीय गाडीहरुमा सुधार गर्दै जाने र पूर्वाधारको विकास पनि सोही अनुसार अघि बढाउने बताएको छ ।
कम्पनीले नेपालमा हाल नेक्सन ईभी, नेक्सन म्याक्स र टिगोर ईभी विभिन्न भेरियन्टमा बिक्री गरिरहेको छ ।
नेपालको बढी रुचाइएको ईभी भएकै कारण पनि सोही अनुसार देशभर चार्जिङ स्टेसनको नेटवर्क पनि विस्तार गरिरहेको र आवश्यक पूर्वाधारहरुको समेत विकास गरिरहेको टाटा मोटर्स नेपालले बताएको छ ।