site stats
बाह्रखरी :: Baahrakhari
देश
थारु समुदायद्वारा ‘जितिया’ पर्वमा बिदा दिन माग
फाइल तस्बिर

भरतपुर । चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरेका छन् । 

थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा (पितृऔँशी), फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थारु समुदायका महिलाको मुख्य चाड जितिया हो । यस वर्ष यही असोज २० गते जितिया पर्व मनाइँदै छ । यसपटक जितिया शनिबार परेकाले स्वतः बिदा हुनेछ । तर अरु बेला यो चाड मनाउन स्थानीय सरकारले समेत बिदा दिने गरेका छैन । अझ विद्यालयमा सोही बेला परीक्षासमेत हुने गरेको छ । यसले गर्दा युवापुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन नपाएको थारु समुदायको गुनासो छ । 

यही अवस्थालाई मध्यनजर गर्दै थारु कल्याणकारिणी सभाले घोषणापत्रमार्फत नै बिदा दिन माग गरेको सभा चितवनका सभापति ललित चौधरीले जानकारी दिए । यस्तै सभाले घोषणपत्रमार्फत आगामी प्रदेशको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि रैथाने थारुलाई मेयर, उपमेयर, वडाध्यक्षलगायत महत्वपूर्ण पदमा उम्मेदवार बनाउन चितवनका राजनीतिक दलसमक्ष मागसमेत गरेको छ । 

घोषणापत्रमा स्थानीय तहहरुमा थारु विकास कार्यक्रम लागु गरी थारु समुदायको आर्थिक, शैक्षिक, भाषिक, सांस्कृतिक, सामाजिक उत्थानका लागि सम्मानजनक बजेटको व्यवस्था मिलाउन, संघीय र प्रदेशको कामकाजी भाषाअन्तर्गत वाग्मती प्रदेशको हकमा चितवनमा बोलिने थारु भाषाको उपस्थिति १ प्रतिशतभन्दा धेरै भएकाले प्रदेश र स्थानीय निकायमा कामकाजीको भाषाका लागि बहुभाषिक व्यवस्थाअनुरुप चितवनको थारु भाषा कामकाजको भाषाको रुपमा कायम गर्न आग्रह समेत गरिइएको छ । रासस

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्