काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँटमा सहमति कायम हुन नसकेपछि मधेसवादी दल र कांग्रेसले आ–आफ्नै उमेदवारलाई अघि सारेका छन् ।
प्रदेश नम्बर २ का विभिन्न जिल्लाहरुमा मधेशवादी दल र कांग्रेसबीच सिट बाँडफाँटमा कुरा नमिलेपछि लोकतान्त्रिक गठबन्धन अब बिघटनको अवस्थामा पुगेको हो ।
कांग्रेससँग सिट बाँडफाँटमा कुरा नमिलेपछि चुनावी तालमेल नभएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव केशव झाले बताए । ‘‘कांग्रेसका नेताहरुको क्षेत्रमा हामीले उमेदवारी नदिने अनि उनीहरुले हाम्रा नेताको क्षेत्रमा उमेदवारी दिने भएपछि कसरी तालमेल हुन्छ ?,’’ उनले प्रतिप्रश्न गरे ।
कांग्रेस प्रचार–प्रसार समिति संयोजक बालकृष्ण खाँणले पनि राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलको सम्भावना समाप्त भएको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘‘हामीहरुबीच मित्रवत् चुनावी प्रतिष्पर्धा गर्ने सहमति भएको छ ।’’
समाजवादी फोरम र राजपाले धनुषा–३ र सर्लाही–४ छोड्न नमानेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन धरापमा परेको हो । धनुषा–३ विमलेन्द्र निधिलाई र सर्लाही–४ अमरेशकुमार सिँहलाई छोड्न कांग्रेसले गरेको आग्रहलाई फोरम र राजपाले अस्वीकार गरेका छन् । राजपा महासचिव झाले फोरम–राजपा गठबन्धनले धनुषा–३ बाट राजेन्द्र महतो र सर्लाही–४ बाट राकेश मिश्रलाई उठाउने बताएका छन् ।
प्रतिपक्षी नेकपा एमाले र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले कम्युनिष्ट गठबन्धन बनाएपछि लोकतान्त्रिक गठबन्धन निर्माण गर्न कांग्रेस सहितका छ दलले कार्यदल बनाएका थिए ।
कार्यदलमा कांग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक) बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका थिए ।
फाइल तस्बिर