site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘नतिजा आशाअनुरूपकै आयो’

काठमाडौं । माल्दिभ्सलाई ४–१ ले हराउँदै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएपछि नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नतिजा आशाअनुरूपको भएको बताएका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा माल्दिभ्सविरुद्ध जित दिलाउन नेपालका समिर तामाङले दुई गोल गरेका थिए । 

यस्तै, प्रशान्त लक्षम र निराजन धामीले समान एक गोल गरे । माल्दिभ्सका अदाम लयाम राशिदले एक गोल फर्काएका थिए ।

तनावपूर्ण खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा  

खेलपछि प्रतिक्रिया दिँदै नेपाली टिमका प्रशिक्षक श्रेष्ठले जित्नै पर्ने दबाब रहेको खेलमा खेलाडीले मेहनतसाथ खेलेको बताए ।

“हामी सबैलाई बधाइ छ । आजको खेलमा हामीलाई जित्नैपर्ने दबाब थियो । यस्तो खेलमा खेलाडीहररूले गरेको मेहनतका कारण हामीले जित्यौँ,” प्रशिक्षक श्रेष्ठले भने, “अस्तिभन्दा हामीले खेल सुधार्यौ । तर, अबको खेलमा अझ सुधार आवश्यक छ । आशाअनुसारको नतिजा आयो । १–० ले भएपनि जित्नैपर्ने दबाब थियो । पाकिस्तानसँगको खेलबाट माल्दिभ्सको खेल एनालाइसिस गर्न पायौँ । त्यसले आज सहज बनायो ।”

सेमिफाइनल प्रवेशका लागि नेपाल जितको दबाबमा हुँदा माल्दिभ्सलाई भने बराबरीको नतिजा पर्याप्त थियो । यसैकारण ३० मिनेटभित्र नेपालले २–० को अग्रता बनाउँदा माल्दिभ्सका खेलाडी निकै आक्रामक बनेका थिए ।

३४औँ मिनेटमा भुटानी रेफ्री छेवाङ पेमाले विवादमा उत्रिएका माल्दिभ्सका कप्तान मोहम्मद इयान हसन र नेपालका सुजन डंगोललाई एकसाथ रातो कार्ड देखाएका थिए ।

यसपछि १० खेलाडीमा समेटिए पनि दुवै टिमको आक्रामकतामा भने कुनै कमी आएको थिएन । खेलको अन्तिम ह्विसिल बजाएपछि रेफ्रीसँग विवादमा उत्रिँदा माल्दिभ्सका अजफल मोहम्मले रातो कार्डको दर्शन गरेका थिए । 

नेपाली टिमका मुख्य प्रशिक्षक श्रेष्ठले नेपाली खेलाडीमाथि माल्दिभ्सका खेलाडी आक्रामक बनेको बताए ।

“अनुशासनमा हामीले सुरुदेखि फोकस गरेका थियौँ । अनुशासन नभएको खेलाडीलाई टिमलाई राखेका नै छैनौँ । माल्दिभ्सका खेलाडीले सुरुदेखि नै एग्रेसन देखाइरहेका थिए । माल्दिभ्सका कारण हामीले पनि रेड कार्ड खायौँ । हामीले खेलाडीको अनुशासनमा निकै नियन्त्रण गरेर राखेको हो । तर, आज मैदानभित्र माल्दिभ्सका खेलाडीले नेपाल आयोजक भएर पनि होला हामी र रेफ्रीसँग अनावश्यक बहस गरिरहेका थिए,” श्रेष्ठले भने ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro