site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तनावपूर्ण खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा  

काठमाडौं । तनावपूर्ण खेलमा माल्दिभ्सलाई ४–१ ले हराउँदै घरेलु टिम नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

तीन खेलाडीलाई रातो कार्ड देखाइएको खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । यो समूहबाट यसअघि नै पाकिस्तानले विजेताको रूपमा अन्तिम चारको यात्रा तय गरिसकेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालको जितमा समिर तामाङले दुई गोल गरे । यस्तै, प्रशान्त लक्षम र निराजन धामीले गोल गरे । 

जितको दबाबसहित मैदान उत्रिएको नेपालले सुरुआतदेखि नै आक्रामण बुनेको थियो । १७औँ मिनेटमा प्रशान्त लक्षमले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । लक्षमले करिब ३५ यार्ड परबाट गरेको लामो भलीलाई माल्दिभ्सका गोलरक्षकले नियन्त्रण गर्न नसक्दा नेपालले अग्रता बनाएको थियो । 

समिरले ३०औँ मिनेटमा गरेको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो । मैदानको मध्य भागबाट निराजन धामीले निकालेको थ्रु बललाई एक्लै अघि बढाउँदै समिरले माल्दिभ्सका गोलकिपरलाई बिट गर्दै नेपालको अग्रता दोब्बर पारेका हन् । 

३४औँ मिनेटमा नेपाल र माल्दिभ्सका समान एक खेलाडी रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि दुवैै टिम १० खेलाडीमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्डको दर्शन गर्दै मैदान छोडेका थिए ।

५८औँ मिनेटमा अदाम लयाम राशिदले गोल गर्दै माल्दिभ्सलाई २–१ को अवस्थामा ल्याएका थिए ।

यस्तै, ८८औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अग्रतामा राखेका थिए । नेपालले पाएको कर्नरमा कुशल देउवा प्रहारका लागि आएका थिए । देउवाले कर्नर एरियामै रहेका प्रशान्त लक्षमलाई बल दिएका थिए । 

सोही बल अघि बढाउँदै लक्षमले गरेको क्रसमा एक यार्ड बक्सभित्र अनमार्क रहेका निराजनले बललाई ट्याप इनमात्रै गरेपछि नेपालले अग्रता बढाएको थियो । 

यस्तै, इन्जुरी समयमा समिरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रतालाई ४–१ मा पुर्‍याएका थिए । यसपछि थप गोल हुन नसक्दा नेपाल जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।

खेल समाप्त भइसकेपछि रेफ्रीसँग विवादमा उत्रिँदा माल्दिभ्सका अफजल मोहम्मदले रातो कार्डको दर्शन गरेका थिए ।

नेपालले यसअघि पाकिस्तानसँग १–० को हार व्यहोरेको थियो । माल्दिभ्सले भने पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग खेल्नेछ । आजै हुने भारत र भुटानबीचको खेलबाट समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro