अभिनेता नीर शाहले गएको भदौ २५ गते पुस्तक ‘पानीफोटो’माथि टिप्पणी गर्दै भने– यो किताब सिनेमा कलेजहरूले आफ्नो पाठ्यक्रममा समावेश गर्नुपर्छ । सिनेमा मेकिङमा आउने विद्यार्थीका लागि पुस्तक उपयोगी छ ।
उनले यो पुस्तक चलचित्र विकास बोर्डमा सिनेमा दर्ता गर्नुअघि हरेक निर्माता तथा निर्देशकले पढ्नैपर्ने बताए । उनले रमाइलो शैलीमा भने– बरु, यसका लागि यो किताब किन्न चलचित्र विकास बोर्डले एउटा फन्ड विकास गर्नुपर्यो !
पुस्तकका लेखक खगेन्द्र लामिछानेको नीरले खुलेरै तारिफ गरे । चलचित्रको बाह्रखरी बुझ्दै नबुझी निर्माण र निर्देशनमा आउनेका लागि पुस्तक सहयोगी बन्न सक्ने उनको केन्द्रीय भाव थियो ।
२५२ पृष्ठको पुस्तक हार्ड कभरमा उपलब्ध छ । फाइन प्रिन्टले मूल्य एक हजार ४०० रुपैयाँ राखेको छ । पुस्तकका केही पानामा रंगीन तस्बिर पनि छन् ।
यो किताब खगेन्द्रले पहिलो चलचित्र ‘पानीफोटो’ निर्देशन गर्दाको अनुभव हो । सिनेमा निर्माणयात्रामा गरेका तयारीको दस्ताबेजीकरण हो । सिनेमा बनाउँदाको संघर्ष हो । चलचित्र निर्माण अवधिभर निर्देशकले गरेका तितामिठा अनुभवको सँगालो हो ।
खगेन्द्र पुस्तकको सुरुतिर नै भन्छन्– म पनि वास्तवमा सिनेमा कसरी बनाउने रहेछ भनेर पढ्न चाहन्थेँ, तर कुनै त्यस्तो पुस्तक पाइनँ, जुन म खोजिरहेको थिएँ । त्यसैले अनुज पुस्ताका लागि यो किताब लेखेँ ।
उनले ‘पानीफोटो’ नाटकको कथामा सिनेमा बनाएका हुन् । नाटकको कथामा सिनेमा बनाउन सकिन्छ ? सकिन्छ भने कसरी ? यसको प्रक्रिया के–के हुनसक्छ ? उनले के गरे ? खगेन्द्रले आफ्नो अनुभव लेखेका छन् ।
पुस्तकमा उनले ‘पानीफोटो’ नाटक पनि छापेका छन् । त्यसलाई कसरी सिनेमाको स्क्रिप्ट बनाए, त्यो लेखेका छन् । सिनेमाको स्क्रिप्ट पनि छापेका छन् । यसले स्क्रिप्ट लेख्न चाहने नयाँ लेखेकलाई ‘आइडिया’ प्रदान गर्छ ।
लोकेसन कसरी खोज्ने, लोकेसनले कथा प्रभावित हुनसक्छ ? उनले लेखेका छन् । लोकेसन हेरेपछि सिनेमाको कथा नै परिवर्तन भएको कुरा उनले उदाहरणसहित उतारेका छन् ।
लोकेसन खोज्दाका दुःख, त्यो फिक्स्ड गर्न कति सहज छ, लेखेका छन् । जनप्रतिनिधिले नै दिएको धमासबाट उनले व्यहोर्नुपरेको समस्याले नयाँ मेकरलाई सजग गराउँछ ।
कलाकार चयन गर्दा कति झमेला हुन्छ भन्ने खगेन्द्रले स्पष्ट लेखेका छन् । अन्तिम समयमा कलाकार परिवर्तन हुँदा मेकरले झेल्नुपर्ने समस्यालाई उनले प्रस्ट पारेका छन् ।
ठूलठूला सैद्धान्तिक कुरा गर्ने गुरुहरू नै स्वयं अभिनयको मैदानमा उत्रँदा कस्तो मनोदशाबाट गुज्रिन्छन्, उनले लेखेका छन् । उनले समाधानको उपाय कसरी अपनाए, त्यो पनि लेखेका छन् । अनुप बरालले ३७ टेक लिएपछि अर्कै सिन सुरु गरेको प्रसंग उनले बिनाहिचकिचाहट पस्किएका छन् । यसले निर्देशकले कलाकारबाट कसरी काम लिने मेकरका लागि ‘लेसन लर्न’ दिन सक्छ ।
‘पानीफोटो’मा उनले स्टोरी बोर्ड बनाए । स्टोरी बोर्ड बनाएर नेपालमा कमै मेकरले सिनेमा बनाउँछन् । स्टोरी बोर्ड बनाएर काम गर्दाका फाइदासँगै त्यसले शतप्रतिशत काम नगर्ने अवस्था पनि उनले खुलेर लेखेका छन् । यसले पनि मेकरलाई स्टोरी बोर्डको महत्त्व र यसमा कसरी काम गर्ने जानकारी दिनेछ ।
सिनको ब्लकिङ, क्यामेरा एंगल, सट साइजको ब्रेक डाउन समेत उनले अगाडि नै गरेका छन् । यसले सुटमा जाँदा के फाइदा हुन्छ र भयो, उल्लेख गरेका छन् । स्टोरी बोर्डको लगसिट नै पुस्तकमा छापेका छन् । सट खिच्न प्रयोग गरिने लेन्स कुन प्रभावकारी हुन्छ भनेर लोकेसनमै पुगेर सुरुमै खिचे । यसलाई नयाँ मेकरलाई सजग गराउँछ । प्रशस्त तयारी कसरी गर्ने जानकारी मात्र दिँदैन प्रेरित नै गर्छ ।
मेकअप र कस्टुयममा सँगालेको अनुभव लेखे/लेखाएका छन् । सुटिङमा स–सानो कुराले कसरी पूरै छायांकन नै प्रभावित पार्छ, लेखेका छन् ।
यो पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष निर्माता/अभिनेता (अनुप बराल), अभिनेत्रीद्वय (मेनुका प्रधान र मलिका महत), छायाकर (दीपक बज्राचार्य), सम्पादक (निमेष श्रेष्ठ), पार्श्व ध्वनि (पुष्पा संगम), कला निर्देशक (घनश्याम श्रेष्ठ), ध्वनि संयोजक (किशोर आचार्य), रङ संयोजक (जुनिम गहतराज)ले ‘पानीफोटो’मा काम गर्दाको अनुभव लेखेका छन् ।
माथि उल्लेखित व्यक्तिबाट आफ्नो अनुभव आउँदा पाठकलाई प्राविधिक पक्षको अपेक्षा हुनु स्वाभाविक हो । अभिनेता (अनुप बराल), अभिनेत्री (मेनुका प्रधान), सम्पादक (निमेष श्रेष्ठ) र छायांकार (दीपक बज्राचार्य)बाहेक अरूबाट अपेक्षित प्राविधिक कुरा उनीहरूको लेखमा आएको छैन । उनीहरूले पुस्तकमा आफूलाई लेख्न दिइएकामा खगेन्द्रप्रति आभार प्रकट गर्ने र तारिफ गर्नमै शब्द खर्चिएका छन् । यो कुनै आख्यान होइन, रुमानी कल्पना र प्रेमजोडीको उन्मत्त प्रेमको कहानी लेखिएको किताब होइन । यो सिनेमा निर्माणको प्राविधिक पक्ष समेट्न लेखिएको हो । त्यसैले यसमा जति धेरै प्राविधिक ज्ञान समेटिन्छ, त्यति धेरै यसका पाठकले लाभ लिन सक्छन् । तर, उनीहरूले यसमा ध्यान दिन सकेका छैनन् । यो पुस्तकमा देखिएको कमजोरी हो । अगाडि खगेन्द्रले जसरी आफ्नो अनुभव सुनाउँदा प्राविधिक ज्ञानबारे जानकारी लिन सकिन्छ, ‘कोर’ व्यक्ति भने विषयवस्तुभित्र प्रवेश नै गर्दैनन् ।
० ० ०
पुस्तक हो, लामो समय सुरक्षित रहन्छ/राखिन्छ । पत्रिका होइन, पढेपछि चटपट पसलमा दिन । त्यसैले पुस्तकको भाषा खँदिलो हुनुपर्छ । ‘पानीफोटो’को भाषा कमजोर नै त होइन, तर खँदिलो सम्पादन छैन ।
जस्तै, ...त्यसपछि मैले फोन गरें, नरेन्द्र मैनालीलाई । गैरीधाराको रेडमड कफी सपमा हाम्रो पहिलो भेट भयो । मैले पानीफोटोबारे उनलाई बताएँ । र सिनेमा निर्माणका बेलामा आफूले अपनाउने तरिकाबारे पनि भनें । मेरा कुरा सुनेपछि उनी पनि कामका लागि उत्साहित सुनिए । त्यही दिन बेलुका मैले उनलाई इमेल गरेर स्क्रिप्ट पठाएँ । केही दिनपछि हाम्रो भेट फेरि त्यही कफी सपमा भयो ।
यसलाई यतिमा छोट्ट्याउन सकिन्थ्यो कि– ...त्यसपछि नरेन्द्र मैनालीलाई फोन गरें । गैरीधाराको रेडमड कफी सपमा भेट भयो । पानीफोटोबारे बताएँ । सिनेमा निर्माणमा आफूले अपनाउने तरिका सुनाएँ । उनी उत्साहित सुनिए । बेलुका मैले उनलाई स्क्रिप्ट इमेल गरें । केही दिनपछि फेरि त्यही कफी सपमा हाम्रो भेट भयो ।
० ० ०
समास, पनि, र जस्ता संयोजक र निपातले वाक्यलाई कसिलो, रसिलो र आकर्षक बनाउँछन् । तर, यसको प्रयोग बढी भए वाक्य भद्दा हुन्छ । ‘पानीफोटो’मा ‘तर’, ‘पनि’, ‘र’ जस्ता शब्द अस्वाभाविक रूपमा धेरै प्रयोग गरिएको छ ।
किताबको सुरुमा केही नाम आउँछन्, जसले उनलाई चलचित्र निर्माणमा सहयोग गरेका थिए । नाम आउँछ, थर आउँदैन । पुस्तक पढ्दै जाँदा थर पनि आउँछ । सामान्यतः सुरुमा पूरै नामथर लेखेर पछि नाम वा थर मात्र आफ्नो सहजताअनुसार एउटा उल्लेख गर्ने प्रचलन छ ।
सिनेमाको लोकेसन हन्ट गर्न रोल्पामा कवि तथा नेपाल सरकारका पूर्वकर्मचारी दीप दर्पणले सहयोग गरेको खगेन्द्रले उल्लेख गरेका छन् । धन्यवाद दिएका छन् । पटक–पटक उनको नाम पुस्तकमा ‘मेन्सन’ गरेका छन् । तर, उनको नाम ‘दीप दर्शन’ उल्लेख छ । दीप दर्शन होइन, उनले दीप दर्पण लेख्छन् । पुस्तकमा कतै दीप दर्शन त कतै दीपदर्शन लेखिएको छ । यो प्रुफ रिडरको लापरबाहीको एउटा नमुना हो ।
० ० ०
खगेन्द्र हकी स्वभावका छन्, मनमा लागेको कुला खुलस्त भन्छन् । सिनेसर्कलभित्रको यो उनको पहिचान पनि हो । पुस्तकमा पनि देखेभोगेको कुरा भन्न उनमा हिचकिचाहट देखिएको छैन ।
‘... । दुई मिनेटमा गाउँपालिकाका अध्यक्षको नम्बर पत्ता लगाए । त्यसपछि उनले गाउँपालिकाका अध्यक्षलाई फोन लगाए ।
“हेलो,” गाउँपालिकाका अध्यक्षले फोन उठाए ।
“हेलो, हजुर हामी डकुमेन्ट्री निर्माणका लागि सञ्चार मन्त्रालयबाट आएको । यहाँ त पहिरो गएको रैछ । हामी त अलपत्र परियो ।”
“ओहो हजुर नमस्कार नमस्कार । घर्तीगाउँमाथिको डाँडाको पहिरोको कुरा गर्नुभको ?”
“हो नि हजुर ।”
“डोजर आइहाल्यो हजुर ।” यति भनेर अध्यक्षज्यूले फोन राखे ।
... । १५ मिनेटमा डोजर आइपुग्यो । अलपत्र परेका मान्छेहरूको ओठमा मुस्कान देखियो । हाम्रो ओठमा नदेखिने त कुरै भएन ।
... । बाटोछेउ भीरको डिलमा टुक्रुक्क बसेको मैले गाउँपालिकाका अध्यक्षको चाला देखेर जिल खाएँ । १० वर्षसम्म शोषक सामन्तीको विरूद्धमा बन्दुक उठाएर गरिब र निमुखा जनताको सेवा गर्छु भनेर प्रतिज्ञा गरेका ती होनाहार क्रान्तिकारीको क्रान्तिकारिता जाबो दुई हजार रूपैयाँको मोबाइल सेटबाट बोलेका आठदश शब्दको पाउमा विर्सजन भयो !
दशवर्षे जनयुद्धको त्रासमय समय सम्झिएँ । क्रान्तिकारीहरूले लगाएका युग परिवर्तनका नारा सम्झिएँ । जुन वर्गका लागि त्यत्रो लडाइँ लडिएको थियो, पहिरोले अड्किएका त्यही वर्गका मान्छेहरूका कलेटी परेका र मुस्कान हराएका ओठ छेवैमा देखें । मलाई औडाहा भयो ।
सिनेमामा यो कुरा छैन । उनले यात्राका क्रममा भोगेको समस्या लेखेका हुन् । त्योभन्दा पनि धेरै त उनले गैरजिम्मेवार जनप्रतिनिधिको वास्तविकता उजागर गरेका हुन् । जनताको सेवा गर्ने वाचा गरेर पदमा पुगेका व्यक्ति जिम्मेवारीबाट कतिसम्म च्युत हुन्छन् भन्ने उनले प्रस्ट्याइदिएका छन् ।
० ० ०
समानताको सपना देखाएर संघर्ष गरेको माओवादी कति चाँडै भ्रष्ट भयो, कति चाँडै वाचा भुलेर तानासाही प्रवृत्ति देखाउन थाल्यो, जगजाहेर छ । माओवादी जनयुद्धको उद्गम विन्दु रोल्पाका माओवादी पनि त्यस्तै छन् ? जान्नका लागि ‘पानीफोटो’ किताबको १४३ पेजको यति अंश पढ्दा हुन्छ–
... बिहान होटलको खाना खाने ठाउँमा गाउँपालिकाका अध्यक्ष विराजमान थिए । म र शङ्कर पाण्डे उनलाई भेट्न पुग्यौं । गाउँपालिकाका अध्यक्षको वरपर चारपाँच जना मान्छे पनि थिए । कसैका नाडीमा मोटामोटा पहेँला चेन थिए त औंलामा पिँडालुको गानो जत्रा पहेला औंठी ।
... । अध्यक्षले आफ्नो कुरा यसरी राखे, “अब तपाईंको फिलिममा माओवादी जनयुद्ध गलत थियो, यसले देशलाई बर्बाद बनायो भन्ने खालको म्यासेज छ भने हामीले कुनै पनि हालतमा यो ठाउँमा फिलिम सुटिङ गर्न दिन्नौं । माओवादी जनयुद्धबारे राम्रो कुरा छ भने स्वागत गर्छौं ।”
अध्यक्षका कुरा सुनेर म एकछिन ट्वाँ परें । मलाई भन्न मन लागेको थियो, झन्डै दुई करोड खर्च गरेर तिम्रो भजन गाउन म काठमाडौंदेखि यहाँ आएको होइन । तर मैले भनिनँ । युद्धको धङधङीबाट अझै निस्किन नसकेका यस्ता मान्छेले कलाको मर्म कसरी बुझ्लान् भन्ने लाग्यो मलाई ! म उनीसँग मुस्कुराइरहें ।
वडाध्यक्षको यो दादागिरी देखेर उनलाई त्यो ठाउँमा सिनेमा खिच्न त के एकछिन बस्न पनि मन लागेन । त्यहाँ सिनेमा नखिच्ने निधो गरेर हिँडे ।
राम्रो लाग्दालाग्दै पनि सिनेमा नखिच्ने निर्णय नै वास्तवमा ती वडाध्यक्षका लागि सबक हो । त्योभन्दा पनि उनले पुस्तकमार्फत आफूले भोगेको कुरा लेखेर स्थानीय तहमा माओवादीको दादागिरी अझै रहेको यथार्थ आमपाठकमा पुर्याउने प्रयास गरे । यति खुलेर लेख्न सक्नु पनि सराहनीय पक्ष हो ।