site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शृङ्खलाबद्ध रूपमा बाल सुधारगृह ब्रेक, बालिगबन्दीका कारण सुरक्षा जोखिम बढ्दै

काठमाडौं । ५ भदौमा भक्तपुरस्थित बाल सुधारगृहबाट सुरु भएको सुधारगृह ‘ब्रेक’को घटनाको असर अन्य बाल सुधारगृहमा देखिन थालेको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित बाल सुधारगृहमा राखिएका रामेछाप मन्थली नगरपालिका–३ का कमल बस्नेतको सुधारगृह प्रशासनको कमजोरीका कारण मृत्यु भएको भन्दै बालबन्दी आन्दोलित बनेका थिए ।

सोही विषयको विवाद उत्कर्षमा पुगेपछि सुधारगृहमा रहेका २५३ किशोर 'फिल्मी शैली'मा सुधारगृह तोडफोड गरेर भागेका थिए । जसमध्ये एकजना अझै फेला परेका छैनन् । त्यो बेला प्रहरीले नियन्त्रणमा लिएकामध्ये १४ जना बालकलाई वीरगञ्ज, १४ जनालाई हेटौँडा, १३ जनालाई भैरहवा र ६ जनालाई डोटीको बाल सुधारगृहमा सारिएको थियो ।

Dabur Nepal
NIC Asia

भक्तपुरको बाल सुधारगृहबाट त्यसरी सुरु भएको सुधारगृह ब्रेकको घटना अब त्यतिमै सीमित रहेन । पछिल्लो समय अन्य बाल सुधारगृहमा समेत भक्तपुरकै शैलीका घटना देखिन थालेका छन् ।

बिहीबार रातिमात्रै बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधारगृहमा रहेका बालबन्दीको दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान नै गएको छ ।

सुधारगृहभित्रका बालबन्दीका दुई समूहबीच झडप हुँदा रूपन्देही कञ्चन गाउँपालिका–४ का १८ वर्षीय सुलभ केसीको ज्यान गएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जानकारी दिए ।

उनी जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा दोषी ठहर भएर बाल सुधारगृह पुगेका थिए । झडपपछि बाल सुधारगृह तोडफोड गरी ३० जना सुधारगृहबाटै भागेका थिए ।

भागेकाहरूमध्ये केही अझै प्रहरीको सम्पर्कमा आएका छैनन् । झडपमा परी १० जना घाइते भएका छन् ।

एक साता अघिमात्रै २६ भदौमा वीरगञ्जको बिर्तास्थित सुधारगृहमा समेत यही प्रकृतिको घटना घटेको थियो । मानवीय क्षति नभए पनि दुई पक्षबीच झडपमा ११ जना बालबालिका घाइते भएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे नै परेको थियो ।

बालबन्दीहरूले सुधारगृहभित्रबाट प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरी लामो समयसम्म सुधारगृहभित्र पस्न नै सकेन । अवस्था सामान्य पार्न प्रहरीलाई करिब १२ घण्टा लागेको थियो ।

बालिगका कारण जोखिममा बालसुधारगृह

भक्तपुरबाट सुरु भएको सुधारगृह ब्रेकको घटना अन्य बाल सुधारगृहसम्म पुग्न लागेपछि सुधारगृहको सुरक्षा चुनौती हुन थालेको छ । बाल सुधारगृह तोडफोडमा बालिगहरू संलग्न हुने गरेका छन् ।

भक्तपुर सुधारगृह तोडफोड हुँदा सुधारगृहभित्र रहेका कुल २५३ मध्ये १३१ जना भने बालिग रहेको सुधारगृहका प्रशासन प्रमुख केशव सुवालको भनाइ छ ।

त्यस्तै, बाँकेको बालसुधारगृहभित्रसमेत बाल सुधारगृहमा रहेका २५४ जना बालबन्दीमध्ये १६५ जना १८ वर्ष नाघेका बालिग रहेको खुलेको छ ।

बाँकेका एसपी राठौरका अनुसार उनीहरूकै कारण झडपको अवस्था आएको हो । त्यस्तै, विरगञ्जको सुधारगृहमा भक्तपुरबाट सरुवा गरिएका १४ जना बालबन्दीकै कारण विवाद सुरु भएको थियो । उनीहरू सबै बालिग थिए ।

विरगञ्ज सुधारगृहमा १३४ जना बालकैदी छन् । जसमध्ये अधिकांश १८ वर्ष नाघेका बालबालिका छन् ।

कारागार व्यवस्था विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार कानुनी व्यवस्थाका कारण १८ वर्ष उमेर नाघेकालाई बाल सुधारगृहबाट कारागार सार्न नसकिएको हो ।

१८ वर्ष नपुग्दै जघन्य अपराधमा दोषी ठहर भएका बालबालिकाहरू लामो समय जेल बस्नुपर्ने र १८ वर्ष पूरा हुँदा पनि अन्य जेलमा सरुवा गर्न नहुने कानुनी व्यवस्था छ ।

निर्देशक पाण्डे भन्छन्, "पछिल्लो घटनाले १८ वर्ष पूरा भएकालाई कारागारमै राख्नुपर्ने सन्देश दिएको छ । सुरक्षाको कोणले पनि १८ वर्ष पूरा भएकाहरूसँगै उमेर कम भएका राख्दा अझ जोखिम देखिन्छ । हामी कानुनी परामर्शमा छौँ ।’

बाल सुधारगृहको सुरक्षाका लागि खटिएका प्रहरीलेसमेत बिना हतियार सुरक्षा गर्नुपर्ने व्यवस्थाका कारण थप सुरक्षा चुनौती देखिएको छ ।

हाल देशभरका आठ जिल्लामामात्रै बाल सुधारगृह सञ्चालनमा छन् । भक्तपुर मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रूपन्देहीमा सुधारगृह सञ्चालनमा छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro