
काठमाडौं । प्रहरीले नक्कली सुनका गहना धितोमा राखेर ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरको टोलीले रामेछापकी दिलमाया मगरलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीका अनुसार, दिलमायाले एक सुनचाँदी पसलमा सक्कली बिल देखाएर नक्कली सुनका गहना धितोमा राखेर ११ लाख रुपैयाँ लिएकी थिइन् । मंगलबार प्रहरीले नक्कली सुन बोकेर थप रकम लिन आएका बेला उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नक्कली सुनबाट बनाएका २८ थान तिलहरी, विभिन्न पसलका सुनका १६ थान बिल र दुई थान मोबाइल बरामद गरेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा दिलमायाले प्रहरीको पोसाक लगाएर विभिन्न व्यक्तिलाई डर देखाउने गरेको पनि खुलेको छ । सुनचाँदी पसलेलाई समेत प्रहरी पोसाकमा रहेको फोटो देखाएर नक्कली सुन धितोमा राखेर रकम लगेको खुलेको छ ।