site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले गरे नेपाललाई नयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)का प्रशासक सामन्था पावरले नेपाललाई नयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको साइडलाइनमा बुधबार यूएसएआईडीले न्यूयोर्कमा आयोजना गरेको ‘डेमोक्रेसी डेलिभर्स’ कार्यक्रममा बोल्दै विदेशमन्त्री ब्लिन्केन र यूएसएआईडीका प्रशासक पावरले उक्त प्रतिबद्धता जनाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फोर्ड फाउन्डेसन तथा रकफेलर फाउन्डेसनसँगको साझेदारीमा नेपाललगायत लोकतान्त्रिक रूपान्तरणको अनुभव गरिरहेका अन्य मुलुकमा लगानी गर्ने सम्बन्धमा परोपकारी तथा निजी क्षेत्रका साझेदारहरूसँग बैठक गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएको उक्त कार्यक्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र यूएसएआईडी प्रशासक पावरद्वारा नेपालको लोकतान्त्रिक प्रगति र सुधारलाई महत्त्व दिएका थिए । 

कार्यक्रममा यूएसएआईडीले अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रबर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि नेपालले २० लाख अमेरिकी डलर प्राप्त गर्ने घोषणा गरेको थियो । 

लोकतान्त्रिक विकासका लागि यूएसएआईडीको साझेदारी कार्यक्रममार्फत यूएसएआईडी/नेपालले नेपालका लोकतान्त्रिक सुधारकर्ताहरूसँगको आफ्नो साझेदारीलाई प्रगाढ बनाउने जनाइएको छ । 

“स्थानीय सुशासनलाई बलियो बनाउन र आफ्ना नागरिकका लागि सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नेपालको जारी प्रयाससँग मेल खाने गरी अतिरिक्त स्रोत लगानी गरिने छ,” यूएसएआईडी/नेपालका कार्यवाहक निर्देशक केरेन वेल्चले भने ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्