site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षक सडकमा, पढाइ के हुन्छ ?

काठमाडौं । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा यतिखेर शिक्षकहरू सडक आन्दोलनमा छन् । ७७ वटै जिल्लाका सामुदायिक विद्यालयबाट हजारौँ शिक्षक काठमाडौं आइपुगेका छन् ।

नेपाल शिक्षक महासंघले आन्दोलनको नेतृत्व गरेको छ । बुधबार काठमाडौंको माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वर पुगेर फर्किएको शिक्षकको र्‍याली माइतीघरमा नै फर्किएर कोण सभामा परिणत भएको छ ।

आन्दोलनमा सहभागी हुन एउटै पालिकाबाट दुईदेखि सात वटासम्म बस रिजर्भ गरेर आएको उनीहरूले बताए । 

जुलुसमा सहभागी शिक्षकले नालायक शिक्षामन्त्री राजीनामा दे, शिक्षा ऐन मूर्दावाद, शिक्षकलाई निजामती सरह सुविधा दे जस्ता नराबाजी गरेका छन् । 

काठमाडौं आउन स्थानीय तहहरूसँगको सहमतिमा अधिकांश सामुदायिक विद्यालय बन्द गरिएको छ । महासंघले आन्दोेलन स्थगित नगरेसम्मका लागि विद्यालय बन्द गरेर काठमाडौं आएको नुवाकोटका शिक्षक रमेश गिरी बताउँछन् ।

सबै सामुदायिक विद्यालय बन्द गरेर बाराबाट पाँच हजार शिक्षक आन्दोलनका लागि काठमाडौं आएको शिक्षक इन्द्रदेव यादवले बताए । 

केही जिल्लामा भने एक विद्यालयबाट तीनदेखि चारजनाका दरले शिक्षक काठमाडौं आएका छन् । ती जिल्लामा विद्यालय बन्द नगरिएको शिक्षकहरूले बताएका छन् । 

आफूहरूले राखेका माग पुरा गर्न शिक्षा, कानुन र अर्थमन्त्रीस्तरीय वार्ता हुनुपर्ने माग छ । विद्यालय बन्द नै गरेर आन्दोलनमा आउन महासंघको आह्वान गरेको थियो । 

आन्दोलनका कारण छुटेका कक्षाहरू बिदाका दिनमा समेत पढाएर कोर्स पुरा गरिने कञ्चनपुरबाट आन्दोलनमा सहभागी हुन भएकी शिक्षिका ज्योति बोहोरा बताउँछिन् । 

शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा सरकारले वार्ता आह्वान गरेपनि शिक्षा मन्त्रालयसँग मात्रै बस्नुको औचित्य नरहेको भन्दै महासंघ वार्तामा बस्न मानेको छैन ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro