site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमा टिकेनन् सचिव, शक्तिकेन्द्र रिझाउन 'खप्पिस' कृष्णहरि आठ महिनामै फर्किए

काठमाडौं । ‘अर्थ मन्त्रलायमा फेरि कृष्णहरि पुस्कर किन भित्रिए ?’ सिंहदरबारभित्रको कर्मचारीतन्त्रमा जिज्ञासा र गफको विषय बनेको छ । किनभने अर्थमन्त्रायमा यसरी बाहिरिँदै सचिव भित्रिएको उदाहरण छैन । कर्मचारीतन्त्रमा कृष्णहरि पुस्कर ‘अपवाद’का रूपमा पुनः अर्थ सचिव बनेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको चाहना नहुँदानहुँदै पुस्कर अर्थसचिवमा भित्रिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवा र उनको परिवारको जोडबलमा पुस्करलाई फेरि अर्थमन्त्रालयमा दोहोर्‍याइएको हो । 

दौडधुप र शक्तिकेन्द्र रिझाउन 'खप्पिस' पुस्कर अर्थ मन्त्रालयबाट बाहिरिएको आठ महिनापछि फर्किएका हुन् । "उनी अर्थ बुझाउन जान्ने भएकाले अर्थ मन्त्रालयमा दोहोरिएका हुन सक्छन्," एक सचिव भन्छन्, "आर्थिक संकटका बेला मन्त्रिपरिषद्ले पत्याउनुको पनि कारण हुन सक्छ । तर, अर्थशास्त्र र अर्थमन्त्रालयका ‘क्याडर’ होइनन् ।"

Dabur Nepal
NIC Asia

पुस्कर अर्थ मन्त्रालयबाट गत वर्ष पुसमा बाहिरिएका थिए । उनी बाहिरिएछि तोयम राय र अर्जुनप्रसाद पोखरेल अर्थसचिव भएका थिए । महत स्वयंले गत वैशाखमा तोयम हटाएर पोखरेललाई भित्र्याएका थिए ।

विगत हेर्ने हो भने अर्थमन्त्रालयमा यसरी बेथितिपूर्ण सरुवा हुँदैनथ्यो । २०६८ पछि जथाभाबी सरुवा र त्यसमा पनि अर्थ मन्त्रालयका ‘क्याडर’भन्दा बाहिरका सचिव ल्याउने प्रवृत्ति झांगिएको हो । नत्र त्यसभन्दा अघि ‘अपवाद’मा बाहेक सचिवले पाँच वर्षे कार्यकाल बिताउने अवसर पाउँथे ।

कांग्रेसले अर्थ मन्त्रालय पाएपछि पुस्कर अर्थमा आउन जोडतोडले लागेका थिए । अन्ततः उनी अर्थ मन्त्रालयमा फर्कन सफल पनि भए । अर्थ मन्त्रालयमा राजस्व दरमा हेरफेरको घटना हुँदाका बखत पुस्कर राजस्व सचिव थिए । जुन सीसीटीभी फुटेज प्रकरणका नामले चर्चित बन्यो । 

भदौ २९ को मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयबाट पुस्करलाई अर्थ मन्त्रालय पठाउने निर्णय गरेको हो । अर्थसचिव पोखरेललाई भने प्रधानमन्त्री कार्यालयमा सारिएको छ । यद्यपि पुस्कर बिदामा बसेका कारण सोमबार अर्थ मन्त्रालयमा हाजिर भएका छैनन् ।

सचिव भएको एक महिनामै राजस्व सचिव 

सचिव भएपछि अधिकांशले प्रदेशको प्रमुख सचिव भएपछि सिंहदरबार प्रवेश गर्नुपर्छ । तर, पुस्कर यस्ता भाग्यमानी हुन् कि सचिव बनेको एक महिनामा नै राजस्व सचिवको जिम्मेवारी पाएका थिए । 

उनलाई राजस्व सचिवको जिम्मेवारी दिँदा माओवादीका अर्थमन्त्री जनार्दन शर्मा थिए । जतिखेर शेरबहादुर देउवा प्रधानमन्त्री भए । देउवा टिमकै चाहनामा सिनियर सचिवलाई पाखा लगाउँदै राजस्व सचिव बनाइएको थियो । त्यतिखेर मधुकुमार मरासिनी अर्थसचिव र राजस्व सचिवमा पुस्कर थिए ।

सीसीटिभी फुटेज प्रकरणसँगै मरासिनीले तत्कालीन प्रधानमन्त्री देउवासँगै अर्थ मन्त्रालय बाहिर पठाउन आग्रह गरेका थिए । त्यसपछि अर्थ सचिवको जिम्मेवारी पुस्करले पाएका हुन् ।

पुस्कर अर्थ मन्त्रालयका ‘क्याडर’ होइनन् । अर्थ मन्त्रालय बुझेकै व्यक्तिलाई अर्थ सचिव बनाइन्थ्यो ।

पुस्करको जागिरको प्रवेश गृह मन्त्रालयबाट भएको हो । उनी धादिङको प्रशासकीय अधिकृत भएर काम गरेको उनका एक सहकर्मीले जानकारी दिए । त्यसपछि गृह मन्त्रालयअन्तर्गत रहेर अन्य जिल्लामा काम गरेका थिए । त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भारतमा वाणिज्य दूतको रूपमा पनि उनी काम गर्न गएका थिए ।

उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रवक्ता हुँदा डा. गोविन्द केसीलाई ‘मानसिक स्थिति’ ठीक नभएको प्रेस विज्ञप्ति जारी गरेपछि चर्चामा आएका थिए । उनले आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई रिझाउने खालका शब्द प्रयोग गरी विज्ञप्ति जारी गरेका थिए ।

नजिकबाट चिन्ने सचिवहरूका अनुसार, पुस्कर जोसुकैसँग कुरा मिलाउन काबिल छन् । उनले अहिलेसम्म अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् ।

आठ महिनामै तीन अर्थ सचिव 

आठ महिनाअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भए । उनले त्यसबेला अर्थसचिव रहेका पुस्करलाई प्रधानमन्त्री कार्यालय पठाए । त्यो ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायलाई अर्थसचिव र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव डा. रामप्रसाद घिमिरेलाई राजस्व सचिवमा ल्याए ।

दाहाल पुनः कांग्रेससँग मिल्न गएपछि एमालेले साथ छाडेको थियो । त्यसपछि अर्थसचिव रायालाई हटाउँदै अर्थमन्त्री डा. महतले पोखरेललाई अर्थमा भित्र्याएका थिए । पोखरेल गत वैशाखमा मात्र अर्थमा प्रवेश गरेका थिए । पाँच महिना नै पार गर्न नपाउँदै उनलाई अर्थबाट प्रधानमन्त्री कार्यालय पठाइएको छ । पाखरेललाई हटाएर पुस्करलाई ल्याउन दबाब देउवा टिमबाट नै आएको स्रोतको भनाइ छ ।

तर, अर्थमन्त्री डा. महतको चाहना भने अर्थमा लामो समय काम गरेका केवलप्रसाद भण्डारीलाई ल्याउने थियो । भण्डारी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा कार्यरत छन् । उनी त्यसअघि राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।

आफैँले ल्याएको सचिवलाई पाँच महिना नपुग्दै फाल्नुपर्ने बाध्यता आउनुले मन्त्रालय बाहिरबाट चलेको प्रस्ट देखिएको एक सचिव बताउँछन् । “आफूले ल्याएको सचिव चार महिनामै फाल्नुपर्ने बाध्यता रहस्यमय छ । यसरी सचिव परिवर्तन गर्दा काम गर्ने वातावरण हुँदैन,” उनले भने, “सचिवलाई ब्रिफिङ गरेर बुझाउन एक महिना लाग्छ । नयाँ वातावरणमा घुलमिल हुँन दुई महिना लाग्छ । अनि काम के गर्नु त्यो सचिवले ?”

काम गर्ने भन्दा पनि राजनीतिज्ञले आफूले भनेको मान्ने सचिव खोज्ने गरेको उनी बताउँछन् । ती सचिव भन्छन्, "विषय वस्तु बुझेको भन्दा पनि जे भन्यो त्यही मान्ने मानिस खोज्ने क्रममा अर्थमा पुस्कर दोहोरिएका हुन सक्छन् ।"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro