site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालबालिकाको अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए ।

विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र सम्वर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।

पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत सबै प्रकारका बालअधिकारको संरक्षण र सम्वर्द्धन गर्न/गराउन संघीय सरकार, प्रदेश र स्थानीय तहमा आउँदो वर्षदेखि थप योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न उनले अपिल गरेका छन् ।

बाल यौनदुर्व्यवहार, बालबालिकाविरुद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्य नहुने गरी घरपरिवार, समुदाय, समाज र सिंगो नेपाल राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।

“यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बालअधिकार परिषद्, प्रदेश बालअधिकार समिति र स्थानीय बालअधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

बालबालिकाको सर्वांगीण विकासका लागि संघ, प्रदेश र स्थानीय तहमा रहेका निकाय, सो क्षेत्रमा कार्यरत दातृनिकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई अनुरोध गर्दै उनले बालअधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro