काठमाडौं । तीन वर्ष अगाडिको एक बिहान गीतकार डा. अच्युत शर्मा पशुपतिनाथ पुगे । मन्दिर पुग्दैगर्दा उनलाई लाग्यो, देवताभन्दा पनि अशक्त तथा असहायलाई दिनुपर्छ । त्यसपछि उनका पाइला मोडिए वृद्धाश्रमतर्फ ।
वृद्धाश्रममा के देखिन्छ ? कसैका घाउ चहर्याइरहेका त कसैका हातखुट्टामा दर्द । कोही हिँड्न नसक्ने कोही ऐयाऽ ऐयाऽऽ कराइरहेका । उनले एक/एक गरेर सोधे– तपाईंहरूका सन्तान छैनन् ?
“कहाँ नहुनु, कोही मेरो छोरो अष्ट्रेलिया, कोही अमेरिका छन् भन्थे,” उनी भन्छन्, “तर, सबैको एउटै गुनासो हुन्थ्यो– छोराछोरी अमेरिका, अष्ट्रेलिया भए पनि हामीलाई यहाँ यस्तो कष्ट छ ।”
नेपाली संस्कारले भन्छ– सन्तान (छोराछोरी) भनेको बुढेसकालका सहारा हुन् । तर, वृद्धाश्रम जाँदा कहाँ देखिन्छ र त्यस्तो ? देखिँदैन । हिउँ पग्लिए उँधाे बग्छ, मन पग्लिए उँभो । मन भक्कानियो । आँखा रसाए । उनी चुप लागेर बस्नै सकेनन् । ‘छोराछोरी सानो हुँदा बाउआमा कति खुसी हुन्छन् ?, पहिलोपटक सन्तान बोल्दा, पहिलोपटक हिँड्दा कति खुसी हुन्छन् बाउआमा ?’ उनको मनभरी कुरा खेलिरह्यो । मन बेचैन भयो ।
वृद्धाश्रमबाट घर फर्किए र लेख्न बसे कविता–
नौ महिना कोखमा त्यसपछि काखमा
कति दुःख भा’होला सन्तानको निम्ती झेलेको पीडा
ईश्वरलाई थाहा होला...।
आधा घण्टामा कवितालाई पूर्णविराम दिए । भावना जसरी बग्छ उसैउसै उनको कलमको निप दौडिन्छ । सुक्ष्म जीवविज्ञानका प्राध्यापकसमेत रहेका डा. अच्युत ‘इमोसन’लाई अक्सर सच्याउँदैनन् । ‘इमोसन’ सच्याउँदा त्यसको मर्ममाथि प्रहार हुन्छ र त्यस्तो साहित्यले हृदयलाई झंकृत गर्न सक्तैन भन्ने उनको बुझाइ छ ।
०७६ को दसैंमा गायक तथा सञ्चारकर्मी रवीन शर्मा उनको घरमा पुगे । उनले भने– मैले तपाईंको गीत गाउँन पाउँदिन ?
सञ्चारकर्ममा जस्तै गायनमा पनि लोभलाग्दो छवि बनाएका रवीनले गीत माग्दा किन नदिनु ? हुन्छ भने । उनले आफूसँग भएका कविता र गीत देखाए । त्यसबाट रवीनले छाने ‘आमा...।’
त्यसपछि तय भयो डा. अच्युत र रवीन शर्माको सांगीतिक सहकार्य । जोडिए संगीतकार राजु सिंह । गीतमा फणिन्द्र राईले संगीत संयोजन गरे ।
गीतको भिडियो पनि तयार भएको छ । आफूले गाएका गीतमध्ये ‘कुन मन्दिरमा जान्छौ यात्री...’ मा मात्रै लिप्सिङ गरेका रवीन्द्र शर्मा पहिलोपटक भिडियोमा फिचर्ड भएका छन् । बिहीबार सार्वजनिक भएको भिडयो प्रवेश पोखरेलले खिचेका छन् । अमृतकुमारी अधिकारी फिचर्ड भएको भिडियो निर्देशन राजन भुजेलले गरेका छन् ।
“आमाबुवाप्रति सन्ताको कर्तव्य के हो भन्ने दायित्वबोध गराउनु यो गीतको उद्देश्य हो । पछिल्लो समय बाउआमालाई वृद्धाश्रममा अलपत्र पारेर विदेशिने सन्तानको संख्या बढ्दै छ,” गीतकार डा. अच्युत शर्मा भन्छन्, “यो प्रवृत्ति बढ्दै जाँदा हामीले हाम्रो संस्कार र दायित्व भुल्न थाल्यौं कि भन्ने लाग्छ । कोही पनि आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन भन्ने यो गीतको ध्येय हो ।”