मुलुकको राजनीतिक आर्थिक, सामाजिक सांस्कृतिक धार्मिक समाजका कुनै पनि आयाम ठिक अवस्थामा छैनन् । मुलुक अराजकताउन्मुख छ, सँगै कूटनीतिमा पनि अराजकताको संकेत देखा परेका छन् ।
चुच्चे नक्साको इस्यू आएपछि कूटनीतिक अराजकता थपिएको स्पष्ट छ । चुच्चे नक्साको विषयमा पूर्व परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रीबाट फरक–फरक कुरा आएका छन् ।
यसमा राज्यले गम्भीर हुँदै सोच्नुपर्ने विषय हो भन्ने मलाई लाग्छ । चुच्चे नक्सा भनेको देशको अखण्डता र सार्वभौमसत्तासँग सम्बन्धित कुरा हो । चुच्चे नक्सा भारतले अस्वीकृत नै गरिदियो भने चीनले बेवास्ता । प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ, अस्ती भारत जाँदा ठ्याक्कै यही इस्यू आएको थियो, ग्रेटर भारतको । अब उहाँ चीन जाँदै हुनुहुन्छ कसरी ‘डिल’ गर्नुहुन्छ भनी सोचिरहेको छु ।
हामी त बोल्छौँ नै, विदेशी राजदूतहरू पनि ‘लोकरिझ्याइँ’का कुरा गर्न थालेका छन् । अर्काको देशमा आएर पाहुनाले बोल्दा सबैलाई समस्या पर्छ ।
कोसी प्रदेशको विषयमा
कोसी प्रदेश नामांकरणदेखि विवाद भइरहेको हो । एकथरि जातीय आधारमा अधिकांश चाहिँ कोसी प्रदेशको पक्षमा उभिए, त्यही अनुरुप नामाकरण भयो । कोसी पनि सभ्यताको परिचय हो भन्ने नर्कान सकिन्न । तर, त्यहाँ भइरहेका लडाईं सामान्य देखिँदैन, जति देखिएको छ त्यतिमा सीमित छ भन्ने मलाई लाग्दैन ।
धरानका मेयरले मन्दिर बगलमै चर्च बनाइदिनुभयो । त्यो विषय केही समय उठ्यो, सामसुम भयो । त्यसपछि सामाजिक सञ्जालमा गोरू काटेर खाएको विषय आए । देख्दा धार्मिक लडाईँजस्तो लागेको थियो तर, त्यतिमा सीमित देखिँदैन ।
जब म धरान गएँ क्रिश्चियनसँग भेटघाट र कुराकानी गरेँ, विराटनगरमा धार्मिक गुरुसँग संवाद गरेँ अनि थाहा भयो प्रधानमन्त्री प्रचण्डजीको अभिव्यक्ति पनि एउटा झिल्को हो भन्ने ‘फिल’ भयो ।
आदिवासी जनजाती दिवसको दिन उहाँले बोल्नुभयो, ‘मलाई भोट देऊ जातीय राज्य दिन्छु ।’
यो फ्याक्टरले काम गरेको छ । उहाँ एउटा पार्टीको अध्यक्षमात्र भएको भए ‘नोटिस’ हुने थिएन होला, तर देशको प्रधानमन्त्रीले बोल्ने कुरा थिएन, त्यसको अर्कै ‘म्यासेज’ गयो । मैले प्रहरी प्रशासनसँग कुरा गरेर अरु पक्षसँग संवाद गर्दा कुनै बेला त्यहाँको परिस्थिति भड्किन सक्छ भन्ने कुरा मलाई लाग्छ ।
मैले जातीय द्वन्द्ध हुन्छ भन्ने आभास पाए । त्यहाँ पैसाको कुनै कमी छैन र फोर्स नै छ भन्ने त लाग्दैन तर, त्यतातिर पनि जान सक्छ । त्यसलगत्तै म गण्डकी प्रदेश पनि गएको थिएँ ।
मैले त्यहाँ पनि कुरा राखेँ । हाम्रा साथीहरूले त्यहाँ पनि जातीय राज्यको झिल्को आइसकेको बताउनुभयो । त्यहाँ लखन थापावाला इस्यू रहेछ । उहाँहरू एकदमै दबाबको अवस्था रहेको मैले पाएँ ।
‘पपुलिजम’ अभिशाप
यो किन भयो त ? सरकारमा भएकालाई राम्रै गरेको छु भन्ने लाग्छ । अर्थमन्त्री र प्रधानमन्त्रीले अर्थतन्त्र उकालो लागेको दाबी गरिरहनुभएको छ तर, अवस्था त अर्थतन्त्र ओरालो लागेको छ । बजारमा सटर लागेका छन् र साना दोकान बन्द भएकै छन् । अन्न उत्पादन पनि आधा र खान पाउने जनसंख्या पनि आधामात्र छन् भन्ने मिडियामा आजमात्रै पढे ।
यसमा पपुलिजमले गर्दा झन् धेरै खतरा पैदा गरेको छ । पपुलिजमा के हुँदो रहेछ कसैले फ्याट्ट बोल्ने अनि निराश मानिस भयानक रुपले पछि लाग्छन् ।
अब त सामाजिक सञ्जालको गलत प्रभाव बढ्दो छ । सामाजिक अभियान्ता हुँ भन्नेका र क्रियाकलाप मनन् गर्नुहोस् त ? मिडियासँग म्याच गर्छ भन्ने म चाहिँ देख्दिन ।
उनीहरू त लोकरिझ्याइँमा रमाएका छन् । कसैले जिम्मेवार भएर लेख्दैन । अधिकांश मानिस मिडिया हेर्नुभन्दा पनि फेसबुकमा आएको कुरा वा यस्तै कुरा खोजेर हेर्ने धारणा बनाउने र अघि बढिरहेका छन् । यसले हाम्रो देशलाई अराजकतातिर धकेलेको छ । कहाँसम्म जाने परिस्थिति नाजुक परेको छ ।
हाम्रा सहमहामन्त्री महेन्द्र यादवसँग जुन घटना घट्यो त्यो घटनाले भोलिका दिन अझ जटिल बनाउँदैछ । जनतालाई केही दिन सकिएन, आशा जगाउन सकिएन भने तिहारपछि धेरै अराजकता बढेर जान्छ भन्ने मलाई लाग्छ ।
कांग्रेसको नेतृत्त्वमा सरकार हुनुपर्छ भन्ने मलाई लाग्छ किनभने मानिसका लागि डेमोक्रेसी त बाँच्छ । मैले हालैका घटनाका विषयमा केही दिनअघि प्रचण्डजीलाई भेटे ।
उहाँले हामी एउटा काम गर्न खोज्छौँ सबै अदालतले बिगारीसक्यो भन्नुभयो । मैले भने, ‘सरकार कमजोर हुँदै गएको र खराब काम गरेको हुँदा अदालत सक्रिय भएको र नियमसँगत सबै काम गर्नुहोस् ।’
हुन पनि सरकारले गलत गरेपछि अदालत अघि आउने हो । उहाँले भन्नुभयो, ‘ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको विषयमा मैले कुरा उठाउँदा बयान त लिए नि ।’ म हाँसे, भने ‘लिनुभयो र बयान’ ।
मैले सीआईबीका कोही जानुभयो होला चिया खानुभयो होला फर्किएर आउनुभयो होला । बयान भनेको त सीआईबीले बोलाउनुपर्यो सरकारी वकिल राख्नुपर्यो । त्यसै त बयान हुँदैन । मैले भन्न खोजेको दण्डहीनता बढेको बढ्यै छ कुनै पनि कुरा ठिक ठाउँमा छैन ।
कांग्रेस आउँदैमा कसरी जोगिन्छ लोकतन्त्र ?
हामी सरकारमा छौँ, हामीसँग १० मन्त्रालय छन् । तर, कांग्रेसको नेतृत्त्व हुँदा त्यति अराजकता थिएन । कोसी प्रदेशको विषयमा मलाई सभापतिज्यूले बोलाउनुभयो । मैले कुरा राखे अनि उहाँले तपाईं नबोल्नुस् भन्नुभयो मैले म बोल्छु भने । गलत काम गरेपछि ट्वीट गरिहाल्छु भनेर निस्केँ र मैले त्यो गरे पनि । मसँग साथीहरू रिसाए पनि मलाई आपत्ति छैन ।
किनभने सत्ता र सरकार एउटा कुरा हो । तर, लोकतन्त्र फरक कुरा हो । लोकतन्त्र बाँचेमात्र सत्ता आउने हो । अदालत सही ठाउँमा नभएको भए शेरबहादुरजी कसरी प्रधानमन्त्री बन्नु हुन्थ्यो र ? ओलीजीले दुईपटक गलत काम गरेपछि शेरबहादुरजीलाई अदालतले प्रधानमन्त्री बनाइदिएको होइन र ?
त्यसकारण हामीले संविधानमा भएका प्रावधान अंगालेर जानुबाहेक अर्को बाटो छैन । हो, कांग्रेस आउँदैमा हुन्छ र ? यसमा सत्यता छ ८० प्रतिशत गलत भएको थियो भने कांग्रेस हुँदा ५० मात्र थियो ।
संसदीय दलको नेता फेर्ने प्रयास
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्छ । हाम्रो संसदीय दलको नेता शेरबहादुरजी नै हुनुहुन्छ । उहाँको बहुमत छ, पार्टीमा । उहाँ प्रधानमन्त्रीको ‘न्याचुरल’ उमेदवार हुन् । अर्कोले आश गरेर कसरी सम्भव हुन्छ र ? संसदीय दलको नेता फेर्ने परिस्थिति आएकै छैन त कसरी कुरा गर्ने र ? यो ‘हाइपोथेटिकल’ कुरा हो संसदीय दलको नेता फेर्ने ।
पपुलिजम चिर्ने एजेन्डा
म मध्यमार्गी व्यक्ति हुँ, म ‘पपुलिस्ट’ कुरै गर्दिन । चिया पसलमा गएर म बसेँ भने मलाई पाँच जना भए पुग्छ । उनीहरूसँग गफ गर्न पाए पुग्छ । गगनजीलाई पचास जना चाहिएला । स्वर्णिम वाग्लेलाई हजार जना चाहिएला र रवि लामिछानेलाई दुई हजार मान्छे चाहिएला ।
नैराश्यताले पपुलिजमलाई बढाएको हो कि पपुलिजमले नैराश्यता बढाएको हो त्यो चाहिँ हेर्नुपर्छ । निराशा बेच्ने काम भयानक छ । यसका लागि एजेन्डा बनाउनुपर्छ सुशासनको ।
बालेनका इस्युमा हेर्नु नि । हामीलाई पनि विरोधमा बोल्न डर लाग्छ, केही बोले यसरी आक्रमण गर्छन् । एकछिन कल्पना गर्नुहोस् शेखर कोइरालाको ड्राइभर माथि छतबाट खसेर मरेको भए चुनावको बेला के भन्नुहुन्थ्यो ? तपाईंहरूले के भन्नुहुन्थ्यो ? के लेख्नुहुन्थ्यो ? मलाई जवाफ दिनुहोस् त । हो यही हो ‘पपुलिजम ।’
नरुचाइएको संघीयता
संघीयता जसरी सुरुमा आयो, त्यतिबेला कोही पनि मानसिक रुपले तयार थिएनन् । गगन, पुरञ्जन र नरहरिजीहरू संघीयताको इस्यु लिएर देशभर घुमेका हुन् । हाम्रो मानसिकतामा संघीयता चल्दैन भन्ने छ । विदेशी शक्ति, हामी, जातीय संघीयता हुनुपर्छ भनेर लागेको होला । तर म चाहिँ छैन ।
संघीयता छरितो रूपमा अघि बढाउनुपर्ने हुन्छ । हिक्मत कार्कीले मसँग भन्नुहुन्थ्यो, ‘दाई म त ओलीजीसँग नजिक छु र सीडीओले सुन्छ नभए प्रदेशको मन्त्रीलाई सीडीओले सुन्दैन ।’ यस्तो अवस्था छ । यहीँबाट सबै भर्ना हुन्छ भने किन सुन्ने पुलिसले ?
सरकारमा बस्ने मानिसहरूको मानसिकता संघीयता विरोधी नै छ । कांग्रेसका साथीहरूको पनि सोचाइ उस्तै छ । सरकारले तलसम्म पावर दिँदैन अनि देश कसरी बन्छ, कसरी प्रदेश बलियो हुन्छ ?
कानुन पारित गर्दै जालान् । प्रचण्डजीलाई चाँडोभन्दा चाँडो ‘टिआरसी बिल’ पास गर्नु छ । अमेरिका जाँदा फेस देखाउन सकूँ भन्ने छ । हाम्रा सभापतिलाई पनि प्रचण्डजीलाई जस्तै छ । म चाहिँ पीडितको पक्षबाट, अदालत र अन्तर्राष्ट्रिय समुदायबाट के भन्छ हेर्नुहोस्, भनिरहेको छु ।
फेरिनुपर्ने निर्वाचन प्रणाली
निर्वाचन प्राणालीमा सुधार आवश्यक छ । संविधान सभामा जस्तै २४० क्षेत्र बनाउनुपर्छ । ७५ सिट बढाएर समावेशी बनाउनुपर्छ । पहाडमा जनजातीहरूले अवसर पाएका हुन्छन् । दलित र महिलालाई ७५ सिट रोटेसन वाइज दिनुपर्छ । जस्तो मोरङको कुनै क्षेत्र पर्यो भने महिलै महिला लड्ने व्यवस्था गर्नुपर्छ । दुई भन्दा बढी निर्वाचन क्षेत्रमा यस्तो गर्न सकिन्छ ।
बाँकी ३५ सिटमा अरू मधेशी, जनजाती थारु लगायत संविधानले दिएको कोटामा राष्ट्रिय सभामा लगिनुपर्छ । मेरो धारणा हो ।
महाधिवेशनको तयारी हतारो
हाम्रो समूहको मत ४० प्रतिशत हो । त्यसलाई ६० प्रतिशत बनाउन नसके पुनः ४० प्रतिशतमै सीमित हुन्छौँ हामी । दुई अढाई वर्षअघि नै महाधिवेशनको कुरा गर्दैन थिए । तर, कुरा हुन थालिसक्यो । एकदम विचित्र भएको छ पार्टीभित्र । मिडियाले पनि बढाचढाई गरेको छ र हामी पनि त्यही लाइनमा छौैं । यो राम्रो होइन । यतिबेला ध्यान पुरै सरकारको डेलिभरीमा हुनुपर्ने थियो । को के हुन्छ भनेर सोच्नु भनेको यो हतारो हो । पार्टीको लागि राम्रो साइन होइन । यो खराव हो ।
शेरबहादुरजी जाँदै हुनुहुन्छ भनेर भनिएको हो कि । अघिल्लो पटक म लड्छु भनेर धेरै ढिला आएको हो नि म । पहिलो पटक शेरबहादुरजी लड्दा महामन्त्रीमा आइदेउ भन्नुभएको थियो । भैरहवामा भएको भेटमा महामन्त्री बन भन्दा म कुनैदिन तपाईंसँग लड्नु छ म महामन्त्री बन्दिनँ भनेकै हुँ । अढाइ वर्षअघि सभापति भनेर किन दौडिएको होला ? दौडिनु जरुरी छैन ।
(डा. शेखर कोइरालाले शुक्रबार काठमाडौँमा संवाददाताहरूसँग गरेको छलफलको सम्पादित अंश)